‘युक्रेन युद्ध कूटनीतिले मात्र अन्त्य गर्न सक्छ’

Read Time = 4 mins

संयुक्त राष्ट्रसंघ । युक्रेन युद्ध वार्ता र कूटनीतिक माध्यमबाट मात्र अन्त्य गर्न सकिने विश्व नेताहरूले बताएका छन् । युद्धमैदानबाट कुनै पक्ष विजयी नहुने पनि उनीहरूले बताएका छन् । नेल्सन मण्डेलाद्वारा स्थापित ‘द एल्डर्स’ भनेर चिनिने समूहसँग आबद्ध विश्वका प्रबुद्ध पूर्वनेताहरूले संवाद र कूटनीतिले विनाशकारी युक्रेन युद्धको अन्त्य गर्न सक्ने बताएका हुन् ।

समूहले उक्त सन्देश युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई दिएको तथा द्वन्द्वबाट बाहिर निस्कने उपायबारे विचार गर्न सुझाएको समूहका अध्यक्ष आयरल्याण्डका पूर्वराष्ट्रपति मेरी रोबिन्सनले बताउनुभएको छ । मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको रूपमा सेवा गरिसक्नुभएकी उहाँले दुवै पक्षमा सैन्य हतियार बढाउने होडबाजीको अन्त्य गर्न अपरिहार्य भएको बताउँदै त्यसमा विचार गर्न अनुरोध गरिएको एपीका वरिष्ठ अधिकारीलाई बताउनुभयो ।

समूहले युक्रेनमाथि रूसले गरेको आक्रमणलाई संयुक्त राष्ट्रसंघको बडापत्रको स्पष्ट उल्लंघन, विश्व शान्ति र सुरक्षालाई अस्थिर बनाउने अनुचित कार्य भन्दै त्यसको निन्दा गरेको छ । रूसको युक्रेनका चार क्षेत्रलाई अवैधरूपमा आफूमा विलय गरेकामा त्यसको पनि समूहले निन्दा गरेको छ । युक्रेनले आफ्नो क्षेत्र र सार्वभौमिकताको रक्षा गर्ने अधिकारको रक्षा गरेको समूहको ठहर छ ।

संयुक्त राष्ट्रसंघका पूर्वमानवअधिकार आयुक्त जेइद राद अल हुसेनले युद्धबाट बाहिर निस्कने कूटनीति र वार्ता नै एकमात्र उपाय भएको बताउँदै उहाँले रूसी आक्रमणको शिकार बनेको युक्रेनलाई आफ्नो सार्वभौमसत्ता त्याग भन्न नसकिने परिस्थिति उत्पन्न भएको यथार्थ प्रस्तुत गर्नुभयो ।

वर्तमान द्वन्द्वको समाधान ‘अर्को दिशाबाट’ हुनसक्ने संकेत गर्दै उहाँले पश्चिमा शक्तिहरू रूसप्रति केही नरम भएमा निकास निस्कन सक्ने बताउनुभयो । उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) तर्फ संकेत गर्दै उहाँले त्यसो भन्नुभएको हो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि लामो समयदेखि पश्चिमी गठबन्धनले आफ्नो सिमाना नजिक युद्ध धकेलेको गुनासो गर्दै आएको सन्दर्भ जोड्दै उहाँले त्यसो भन्नुभएको हो ।

मेक्सिकोका पूर्वराष्ट्रपति अर्नेस्टो जेडिलोले युरोपेली संघ र संयुक्त राज्य अमेरिकाले रूसमाथि आर्थिक प्रतिबन्ध लगाए पनि युद्धका निम्ति वित्तीय सहायता जारी रहेको तथा उसले तेलबाट पनि राजस्वको ठूलो हिस्सा प्राप्त गरिरहेको बताउनुभयो । रूसले नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँदै उहाँले अन्तर्राष्ट्रिय फौजदारी अदालतबाट त्यसको छिनोफानो गर्नुपर्ने बताउनुभयो । रासस/एपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?