धादिङमा आचारसंहिता उल्लङ्घनका आठ घटनाको उजुरी

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 12 mins

धादिङ । धादिङमा निर्वाचन आचार संहिता उल्लङ्घनका आठ ओटा घटनाको उजुरी परेको सार्वजनिक भएको छ । जसमा नीलकण्ठ नगरपालिका, थाक्रे, ज्वालामूखी, त्रिपुरासुन्दरी गाउँपालिका प्रमुखहरूले निर्वाचनको प्रचारप्रसार गरिरहेको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको हो ।

निर्वाचनलाई लक्षित गदै धादिङका शिक्षकहरू चुनावी प्रचार प्रसारमा लागेको र जनतालाई सामाजिक सञ्जालबाट प्रभावित पार्नेगरी प्रचार प्रसार गरिरहेको भन्दै उजुरी परेको प्रमुख निर्वाचन अधिकृत स्वीकृति पराजुलीले बताउनु भयो । राजनीतिक पार्टीले जित्ने, जितेपछि आफूहरूले विकास योजना दिने, अमुुक राजनितिक पार्टीलाई जिताउन आग्रह गरिरहनु भएको छ । चुनावलाई प्रभाव पार्नेगरी जनप्रतिनिधिले पार्टी प्रवेश समेत गराएको बुझिएको छ । धादिङबेसीमा आयोजित उम्मेदवारहरू समेत सहभागी सर्वदलीय बैठकलाई सम्बोधन गर्दै पराजुलीले आठ ओटा आचारसंहिता उल्लङ्घनका उजुरी आएको बताउनु भयो । अधिकांश उजुरी शिक्षकहरूले निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार गरेको, जनप्रनिधिहरूले निर्वाचनमा प्रभावपार्ने गतिविधि गरेको उजुरी परेको हो । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गर्ने व्यक्ति तथा संस्थालाई स्पष्टीकरण सोधिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लागू गरिएको आचारसंहिता उल्लंघन गरेका राजनीतिक दलहरुलाई सकेत स्पष्टीकरण सोधिएको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, पचरौता नगरपालिकाका नगरप्रमुख जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल बस्ती, जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराम घिमिरे र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ नुवाकोटका उम्मेदवार बद्री मैनालीलाई स्पष्टीकरण सोधि सकेको छ । यसैगरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अर्थ मन्त्रालयलाई आयोगको सहमति बमोजिम मात्र कार्यसम्पादन गर्न तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको छ । यस्तै निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले उम्मेदवारहरुको पक्षमा प्रचार प्रसार गरेको भन्दै ध्यानाकर्षण गराएको छ । आयोगले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्दै ध्यानाकर्षण जनाएको हो ।

निर्वाचन आचारसंहिता अनुसार कुनै पनि स्थानीय तहमा निर्वाचित कार्यपालिका सदस्यले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न मिल्दैन । तर राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचन आचार संहिता उल्लघन गर्दै आई रहेका छन् । आयोगले स्थानीय तहको कार्यपालिकाका पदाधिकारी र सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम निजलाई कारबाही गर्ने व्यवस्था गरेको छ ।

 निर्वाचन आयोगको सातबुँदे निर्देशन :

लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचारप्रसार गर्दा सरकारी स्रोतसाधन उपयोग गरी निर्वाचन प्रचारप्रसार गर्ने, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरू सहित पच्चीस जनाभन्दा बढी संख्याको जुलूस लिई हिंड्ने, राजनीतिक दलहरूले जुलूस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचारप्रसारका लागि सवारी साधन प्रयोग गर्ने समेतका गतिविधि भएको भन्ने सूचना विभिन्न माध्यमबाट प्राप्त भएकाले निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढङ्गले सम्पादन गर्नका लागि सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न निम्न लिखित सातबुँदे निर्देशन दिएको छ ।

१) निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ मा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचारप्रसार गर्न बाहेक निर्वाचन आयोगको सहमति नलिई अन्यत्र कुनै दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने, प्रचारप्रसार गर्दा सरकारी स्रोतसाधनको प्रयोग गर्न नपाइने व्यवस्था रहेको सन्दर्भमा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री उम्मेदवार भएको भए आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रसम्म निर्वाचन आचारसंहिताको प्रतिकूल नहुने गरी प्रचारप्रसार गर्ने, प्रचारप्रसार गर्दा सरकारी साधनस्रोत तथा जनशक्तिको उपयोग नगर्ने, सरकारी कामको सिलसिलामा यात्रा गर्दा बाहेक निर्वाचन प्रचारप्रसारका लागि आफ्नो निर्वाचन क्षेत्रतर्फ जाँदा समेत सरकारी साधनस्रोतको उपयोग नगर्ने तथा आफू उम्मेदवार नभएको क्षेत्रमा आयोगको अनुमति लिई प्रचारप्रसार गर्न जाँदा समेत उल्लिखित व्यवस्थाको पालना गर्ने ।

२) निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ बमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा निर्वाचन प्रचारप्रसार नगर्ने र सो नियमको प्रतिबन्धात्मक वाक्यांशको खण्ड (४) बमोजिम अन्य स्थानीय तहमा निर्वाचन प्रचारप्रसार गर्दा तथा प्रचारप्रसारका लागि जाँदा वा आउँदा समेत सरकारी साधनस्रोत तथा जनशक्ति उपयोग नगर्ने ।

३) निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र जुलूस, आमसभा, कोणसभा गर्न वा सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था भएकाले सो अवधि (२०७९ साल कात्तिक १७) गतेभन्दा अघि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारले जुलूस, आमसभा, कोणसभा जस्ता कार्यक्रम तथा सञ्चार माध्यमबाट कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण नगर्ने ।

४) निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा निर्वाचन प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित २५ जनाभन्दा बढीको जुलूस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा तथा झाँकी सहित जान नहुने समेतको व्यवस्था भएकाले सबै राजनीतिक दलले सो व्यवस्थाको पालना गर्ने तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले त्यस्तो कार्यक्रममा सरकारी साधनस्रोत तथा जनशक्तिको उपयोग नगर्ने।

५) निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा निर्वाचन प्रसारप्रसारका लागि आयोगले अनुमति दिएको सवारी साधन मात्र प्रयोग गर्न पाउने व्यवस्था रहेकाले सबै राजनीतिक दल तथा उम्मेदवारले आयोगले तोके बमोजिम अनुमति लिएर मात्र निर्वाचन प्रसारप्रसारका लागि सवारी साधन प्रयोग गर्ने, निर्वाचन प्रचारप्रसारका लागि अनुमति लिएका सवारी साधन बाहेक अन्य सवारी साधनमा दलको वा निर्वाचन चिह्न अङ्कित झण्डा प्रयोग नगर्ने ।

६) निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (ज)मा कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकको पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने व्यवस्था रहेको तथा सोही दफाको उपदफा (२)मा त्यस्तो सामग्री राखेको वा टाँसेको भएमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही हुने व्यवस्था रहेकोले कुनै पनि उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ज) विपरीत हुने गरी आफ्नो वा आफ्नो दलसँग सम्बन्धित प्रचारप्रसार सामाग्री नराख्ने वा नटाँस्ने तथा अरूलाई समेत त्यस्तो प्रचारप्रसार सामग्री राख्न वा टाँस्न नदिने ।

७) माथि उल्लेख भएका विषय तथा निर्वाचन आचारसंहिता विपरीतका अन्य व्यवस्थाको उल्लंघन भएमा प्रचलित कानून बमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने भएकाले राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्ने र अरूलाई समेत पालना गर्न लगाउने ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?