रोमाञ्चक बराबरीसँगै मधेश सेमिफाइनलमा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । बागमती प्रदेशविरुद्धको खेलमा रोमाञ्चक बराबरी भएसँगै मधेश प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार दुवै टोलीले १९० रन बनाएपछि खेल बराबरी भएको थियो । समूह ‘ए’ मा मधेश तीन खेलमा पाँच अंकसहित सेमिफाइनलमा प्रवेश गर्‍यो । बागमती भने बाहिरिएको छ । यस समूहबाट तीन खेलमा ६ अंक रहेको पुलिसले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको थियो ।

मधेश पहिलोपटक सेमिफाइनलमा पुगेको हो । दोस्रो संस्करणदेखि प्रधानमन्त्री कप प्रदेश संरचनामा गएको थियो । दोस्रो संस्करणमा लुम्बिनीसँग, तेस्रो र चौथो संस्करणमा बागमतीसँग सेमिफाइनल खेलेको थियो ।

बागमतीका पृथु बास्कोटाले ५२ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४० रन, इशान पाण्डेले ३१, रित गौतम ३२, ज्ञानेन्द्र मल्ल १२ तथा सूर्य तामाङ २८ रनमा आउट हुनुभयो । मधेश प्रदेशका राजेश यादवले ६.२ ओभरमा २२ रन खर्चेर तीन विकेट लिनुभयो । स्पिनर प्रदीप पासवानले नौ ओभरमा ३४ रन खर्चेर तीन विकेट लिनुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेश ४६.१ ओभरमा १९० रनमा अल आउट भयो । मधेशका रोहन विक ९४ बलमा ६ चौका र दुई छक्कासहित सर्वाधिक ६३ रनमा आउट हुनुभयो । हरिशंकर शाहले १३, सन्तोष कार्की २३, अनिल शाह १० रनमा आउट हुनुभयो । बागमतीका स्पिनर सूर्य तामाङले १० ओभरमा एक मेडनसहित २० रन खर्चेर तीन विकेट लिनुभयो । यस्तै, तीव्र गतिका बलर नन्दन यादवले नौ ओभरमा एक मेडनसहित २७ रन खर्चेर तीन विकेट लिनुभयो ।

समूह ‘ए’ बाट एपिएफ चार खेलमा सात अंकका साथ सेमिफाइनलमा पुगेको छ । मंगलबार आर्मीले कर्णालीलाई पराजित गरे सेमिफाइनलमा पुग्नेछ । आर्मी पराजित हुँदा गण्डकी सेमिफाइनलमा पुग्नेछ । आर्मी तीन खेलमा चार अंकका साथ तेस्रो स्थानमा छ । गण्डकी चार खेलमा पाँच अंकका साथ दोस्रो स्थानमा छ ।

सुदूरको सान्त्वना जित
यस्तै, यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको सुदूरपश्चिमले प्रतियोगितामा सान्त्वना जित हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार कर्णाली प्रदेशलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो ।

कर्णालीले दिएको १५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ ओभर चार बलमा पाँच विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमका लागि गजेन्द्र बोहराले ४१ रन जोड्नुभयो । यस्तै, शेर मल्लले अविजित ३४ रन जोड्दा राजु रिजालले अविजित २४ रन बनाउनुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर एक बलमा अलआउट हुँदै १५० रन बनाएको थियो । कर्णालीका लागि अर्जुन घर्तीले ७० रनको अर्धशतकीय इनिङ खेल्नुका साथै सुवास एयरले २४ रन बनाउनुभयो । सुदूरपश्चिमका नारायण जोशीले चार विकेट लिनुभयो ।

समूह ‘ए’ मा सुदूरपश्चिमले चार खेलमा दुई अंक जोडेको छ । कर्णालीको यो लगातार तेस्रो हार हो । कर्णाली तीन खेलमा अंकविहीन रहँदै पुछारमा रहेको छ ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रधानमन्त्री कपको विजेताले १० लाख र उपविजेता टोलीले पाँच लाख पाउनेछन् । सेमिफाइनलमा पुग्ने टोलीले ५०-५० हजार पाउनेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउनेछन् । प्रतियोगिताको उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । प्लेयर अफ द म्याचले पाँच हजार पाउनेछन् । प्रतियोगिताको अनुमानित कुल बजेट एक करोड ५० लाख रुपैयाँ छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख सहयोग गर्नेछ भने बाँकी रकम क्यानले जुटाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?