डडेलधुरामा कांग्रेस सभापति देउवालाई एमालेको मौन समर्थन छः नैनसिंह महर

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पछिल्लो समय विशेष जिम्मेवारीसहित गृह जिल्ला डडेलधुराको चुनावी प्रचारमा हुनुहुन्छ । सुदूरपश्चिमका विभिन्न जिल्लाका चुनावी सभालाई सम्बोधनका लागि खटिनु भएका महर एक साता यता डडेलधुरामै हुनुहुन्छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि डडेलधुरामा कांग्रेसबाट प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेकोमा नेता महर गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न गृह जिल्लामा खटिनु भएकाे हाे ।

मंगलबार बिहान डडेलधुरामा सञ्चारकर्मीसँगको कुराकानीमा महरले अहिले कांग्रेसको प्रतिस्पर्धी नै कोही नदेखेको प्रतिक्रिया दिनुभयाे । ‘हुन त प्रतिनिधिसभा निर्वाचनमा देउवाविरुद्ध धेरैले उम्मेदवारी दिएका होलान् । अहिलेको ठूलो दल नेकपा एमालेले उम्मेदवारी फिर्ता गरेर प्रधानमन्त्रीज्यूलाई मौन समर्थन जस्तै गरेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि देउवालाई समर्थन गरेर भोट मागिरहेका छन् । अन्यलाई न उहाँ (देउवा)ले प्रतिस्पर्धी ठान्नुभएको छ। न त नेपाली कांग्रेसले नै ठानेको छ,’ उहाँले भन्नुभयाे।

केन्द्रीय सदस्य महरले अहिले डडेलधुराको निर्वाचन गोलकिपर बीनाको फुटबल खेल जस्तै भएको बताउनुभयाे । ‘गोलकिपर नै छैन भने जाली च्यातिने सम्भावना बढी हुन्छ । डडेलधुराको निर्वाचन पनि नेपाली कांग्रेसका लागि प्रतिस्पर्धी बीनाको भइरहेको छ,’ उहाँले भन्नुभयाे । संविधानको कार्यान्वयन र संविधानको रक्षाका लागि देउवाकाे जित नै अहिलेको आवश्यकता भएको महरले बताउनुभयाे ।

‘कांग्रेसले मुलुक र जनताप्रति कहिले घात गर्दैन । २०७४ सालमा कम्युनिस्टहरूलाई दुई तिहाई मत दिएर ओलीको नेतृत्वमा दुई तिहाइको सरकार बनेकै हो । उहाँले न त सरकार जोगाउन सक्नु भयो न त पार्टी नै । उल्टै पटक-पटक संसदमाथि प्रहार गर्नुभयो,’ उहाँले भन्नुभयाे । ओलीका कारण अन्योलतातर्फ धकेलिएको मुलुकलाई कांग्रेसले नेतृत्व गएर एउटा गतिमा ल्याएर शान्तिपूर्ण रुपमा निर्वाचनको वातावरण बनेको महरको भनाइ छ।

यी सबै कुराको मूल्यांङ्कन गर्दै अग्रगामी वाम लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न उहाँले जनतालाई आग्रह गर्नुभयाे । कांग्रेसले नेतृत्व गरिसकेपछि बिग्रिएको विदेश सम्बन्ध तथा परराष्ट्र नीतिमा समेत सुधार आएको महरले प्रष्ट पार्नुभयाे ।

मंसिर ४ को निर्वाचनका लागि एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुरामा देउवासँगै कांग्रेस बीपीका कर्णबहादुर मल्ल, राप्रपाका गोविन्द खडायत, जनता समाजवादीका श्याम सिनाल, स्वतन्त्र सागर ढकाल, विक्रमबहादुर शाही, कर्णसिंह रावल ‘मम्याल बाजे’ र लालबहादुर कठायत उमेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?