बागलुङ-१ मा केसी र पाठकबीच मुख्य प्रतिस्पर्धा

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । मंसिर चार नजिकिएसँगै उम्मेदवार तथा राजनीतिक दलका नेताहरु भोट माग्न बस्ती बस्ती पुगेका छन् । उम्मेदवारहरु जित आफ्नो पोल्टामा पार्न मतदाता रिझाउन खेतबारीदेखि चुलोसम्म पुगेकाछन् । यसपटकको निर्वाचनमा बागलुङ-१ मा निकै टक्कर हुने देखिएको छ । अघिल्लो निर्वाचनमा सहयात्री बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका केन्द्रीय सदस्य डाक्टर सूर्य पाठक अहिले मुख्य प्रतिस्पर्धी बन्नु भएको छ ।

अघिल्लो पटक बागलुङ-१ मा बामगठबन्धनबाट उम्मेदवार बन्नु भएका पाठकले नेपाली कांग्रेसकी चम्पादेवी खड्कालाई १३ हजार ४१ मतान्तरले पराजित गर्नु भएको थियो । पाठकले ३३ हजार ६५७ ल्याउँदा खड्काले २० हजार ६१६ मत प्राप्त गर्नु भएको थियो । तर यस पटक पाँचदलीय गठबन्धनका कारण उहाँलाई साख जोगाउन मुस्किल छ ।

करिब १५ वर्ष पछि प्रत्यक्ष चुनावी मैदानमा आउनु भएका केसीलाई पाँच दलीय गठबन्धन साथ रहेको हुँदा पाठकलाई जित हासिल गर्न गाह्रो पर्ने आँकलन छ । २०६४ सालमा बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्येक्ष चुनाव जित्नु भएका केसी २०७० मा समानुपातिकबाट संसद भवन छिर्नु भएको थियो । २०७४ को चुनावमा बामगठबन्धबाट उम्मेदवार बन्ने अफर आएपनि केसीले रुचि राख्नु भएन ।

चार प्रदेश क्षेत्र मध्ये त्यस बेला दुई प्रदेश सभा सदस्य पाएको जनमोर्चाले क्षेत्र नम्बर १ (ख) बाट कृष्ण थापा र २ (ख) टेकबहादुर घर्ती विजयी हुनु भएको थियो । घर्तीको निधन पछि उपनिर्वाचनबाट जनमोर्चाकै खिमविक्रम शाही विजयी हुनु भएको थियो । क्षेत्रनम्बर १ (क) मा नेकपा एमालेका इन्द्रलाल सापकोट र क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा विजयी हुनु भएको थियो ।

यसपाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि जनमोर्चाका अध्यक्ष केसी उम्मेदवार बनेपछि अन्य क्षेत्र नेपाली कांग्रेसलाई छोडेको छ । गत निर्वाचनमा दुई प्रदेश सभा जितेको जनमोर्चाले यस पटक एउटा प्रतिनिधि सभा जितेर साख जोगाउने दाउमा छ । यसपाली क्षेत्र नम्बर १ को निर्वाचन निकै रोचक हुने नेता कार्यकर्ताको अनुमान छ । पाठक युवा पुस्तामा निकै लोकप्रिय नेताका रुपमा परिचित हुनुहुन्छ । उहाँको उम्मेदवारीले केसीलाई साख जोगाउन हम्मे पर्ने धेरैको आँकलन छ । तर स्थानीय तह निर्वाचन २०७९ को मत परिणामलाई हेर्दा केसी सुरक्षित हुने देखिन्छ ।

क्षेत्र नम्बर १ मा चार पालिका मा ३७ वडा छन् । गत स्थानीय तहको मत परिणामलाई हेर्दा गठबन्धनले ३७ वडा मध्ये २९ वडामा गठबन्धनका उम्मेदवार विजयी भएका थिए भने आठ वडामा मात्रै एमालेका उम्मेदवारले जीत हासिल गरेका थिए । गठबन्धनका दलहरु मध्ये सबै भन्दा बढी नेपाली कांग्रेसले १९ वडा, माओवादी केन्द्रले तीनवडा, एकीकृत समाजवादीले तीन वडा र राष्ट्रिय जनमोर्चाले चार वडा जितेका छन् ।

गठबन्धनले ३१ हजार ६३७ मत पाएको थियो भने नेकपा एमाले २२ हजार ३७६ मत पाएको थियो । यो मत परिणाम हेर्दा गठबन्धन नौ हजार २६१ मतले अगाडि देखिन्छ । यस पटक यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल, स्वतन्त्रबाट चन्द्र क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी प्रसाद सापकोटा, नेपाली कांग्रेस (विपी) काशिवलाल सापकोटा पनि यस क्षेत्रबाट उम्मेदवार छन् । उनीहरुले पनि केसीको केही मत काट्न सक्ने गठबन्धनका नेता बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?