साडियो मानेले पहिलो खेल गुमाउने

Read Time = 4 mins

दोहा । सेनेगलका फरवार्ड साडियो मानेले फिफा विश्वकप कतार २०२२ को पहिलो खेल गुमाउनुहुने भएको छ । खुट्टामा लागेको चोटका कारण उहाँले पहिलो खेल गुमाउनुहुने भएको सेनेगल फुटबल फेडेरेसन (एफएसएफ) ले जनाएको छ ।

जर्मन च्याम्पियन्स बायर्न म्युनिखका ३० वर्षीय मानेले चोट बोकेको बताए पनि सेनेगलका प्रशिक्षक अलिउ सिसेले मानेलाई शल्यक्रियाको आवश्यकता नरहेको बताउँदै टोलीमा समेट्नुभएको थियो । समूह ‘ए’ मा रहेको सेनेगलले विश्वकपको पहिलो खेलमा सोमबार नेदरल्याण्ड्ससँग खेल्दैछ । त्यसपछि सेनेगलले आयोजक कतारसँग २५ नोभेम्बर र इक्वेडरसँग २९ नोभेम्बरमा खेल्दैछ ।

अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्टलाई टाइब्रेकरमा पराजित गर्दै फेब्रुअरीमा पहिलोपटक महादेशीय च्याम्पियन बन्दा उहाँले पेनाल्टीमा निर्णायक गोल गर्नुभएको थियो ।

एनकन्कु फ्रान्स टोली बाहिर
विश्व विजेता फ्रान्सका प्रभावशाली फरवार्ड क्रिस्टोफर एनकुन्कु फ्रान्सको विश्वकप टोलीबाट बाहिरिनुभएको छ । प्रशिक्षणका दौरान खुट्टामा चोट लागेपछि उहाँ विश्वकपबाट बाहिरिनुभएको हो । २५ वर्षीया एनकुन्कु यो सिजन जर्मन बुन्डेसलिगा क्लब आरबी लाइप्जिगका शीर्ष गोलकर्ता हुनुहुन्छ । यो सिजनको बुन्डेसलिगाको १५ खेलमा उहाँले १२ गोल गर्नुभएको छ ।

प्रशिक्षणका दौरान उहाँ रियल म्याड्रिडका मिडफिल्डर एडुआर्डो कामाभिंगासँग जुध्नुभएको थियो । यसअघि फ्रान्सको टोलीबाट मिडफिल्डर पउल पोग्बा, ‘एन’गोलो कान्टे र डिफेन्डर प्रिस्नेल किम्पेम्बे बाहिरिसक्नुभएको छ । समूह ‘डी’ मा फ्रान्सले आफ्नो पहिलो खेलमा अष्ट्रेलियासँग खेल्नेछ । त्यसपछि फ्रान्सले डेनमार्क र ट्युनिसियासँग खेल्नेछ ।

मौकाको कान्छा खेलाडी
यसपटक फिफा विश्वकप कतार २०२२ खेल्ने सबैभन्दा कान्छा खेलाडीका रूपमा जर्मनीका युसुफा मौकाकोको नाम दर्ता भएको छ । उहाँले विश्वकपबाटै राष्ट्रिय टोलीबाट डेब्यु गर्नुहुने भएको छ ।

सन् २००४ नोभेम्बर २० मा जन्मनुभएका मौकाको विश्वकपको उद्घाटन खेलको दिन १८ वर्ष पुग्न लाग्नुभएको छ । बोरुसिया डर्टमुन्डको युथ एकेडेमी हुँदै सिनियर टोलीमा नियमित खेलिरहनुभएका उहाँले उमेर समूहमा तहल्का नै मच्चाउनुभएको थियो ।
१४ वर्षको उमेरमा यू-१९ लिगको पहिलो खेलमै ६ गोल गर्दै उहाँ थप चर्चामा आउनुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?