म्याग्दीका जनप्रतिनिधि चौतारी संरक्षण अभियानमा

Read Time = 8 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । भरियाले भारी बिसाउने र बटुवाले थकाइ बिर्साउने धार्मिक तथा सांस्कृतिक महत्वका चौतारीहरू लोप हुँदै गएपछि म्याग्दीका केही जनप्रतिनिधि र समुदाय चौतारी संरक्षण अभियानमा जुटेका छन् । म्याग्दीका स्थानीय तह र समुदायका व्यक्तिहरू पछिल्लो समय ग्रामीण सौन्दर्यका अभिन्न अंग मानिने चौतारी संरक्षणमा जुटेका छन् ।

लेक-बेँसी, गाउँ-शहर गर्ने बटुवाहरूको थकाइ मेटाउने थलो, गर्मीमा दौंतरीहरू बसेर शीतल हावा लिँदै गफिने र आनन्द लिने चौतारी पछिल्लो समय नासिँदै गएपछि ग्रामीण क्षेत्रका युवा र जनप्रतिनिधिहरू यस्ता सम्पदाहरूको संरक्षणमा जुटेका हुन् ।

म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोट, बेनी नगरपालिका-७ बेनी, बेनपा-६, मालिका-२ बेली, मालिका-३ रुम, मंगला गाउँपालिकाको अर्मन, अन्नपूर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाका विभिन्न वडाहरूमा चौतारी संरक्षण अभियान नै सञ्चालन भएको छ । दुई दशकअघिसम्म भरिया र बटुवाले भरिभराउ हुने चौतारी अहिले सडक निर्माणका क्रममा पुरिँदै गएपछि जनप्रतिनिधि चौतारीको संरक्षणमा जुटेका हुन् । कुनै समय गाउँघरमा भेला, बैठक, कचहरी, सभा चौतारीमै बस्दथे ।

धर्मका लागि चौतारी चिन्ने, वर र पीपलका रुख रोप्ने, पानी धारा बनाउने, पोखरी खन्ने चलन थियो । सडक यातायातको विकास र समाजमा आएको परिवर्तनसँगै चौताराको प्रयोग घटेको छ । सार्वजनिक जग्गाजमिन र खाली ठाउँ नभएको म्याग्दी सदरमुकाम बेनी बजारमा रहेका परम्परागत चौतारीलाई संरक्षण र व्यवस्थित गर्न जनप्रतिनिधिले चासो दिएका छन् । बेनी नगरपालिका-७ मा पर्ने चौतारीको संरक्षण थालिएको छ । वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बजारवासीलाई शीतलता र बटुवालाई विश्रामका लागि पुराना चौतारीलाई व्यवस्थित गरेर प्रतीक्षालयमा रूपान्तरण गर्न थालिएको बताउनुभयो । ‘चौतारी लोप हुँदै गएपछि सामूहिकता पनि हराउँदै गएको छ, चौतारी केवल बटुवा र भरियाका सुविधाका लागि मात्रै बनाइने होइन, यिनको सांस्कृतिक र प्राकृतिक महत्व पनि छ ।’ बेनी नगरपालिका–७ का वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘धार्मिक, जैविक विविधताको संरक्षण र विश्रामको सुविधाका लागि जीर्ण चौतारीको पुनर्निर्माण गर्न थालेका हौँ ।’

बेनी नगरपालिकाको वडा नम्बर ७ मा १८ वटा चौतारी र एउटा पोखरी छन् । चौतारी मर्मतका लागि चालु आर्थिक वर्ष २०७९÷८० मा बेनी नगरपालिकाले चार लाख ५० हजार विनियोजन गरेको छ । सो बजेटबाट नगरपालिकाको प्रवेशद्वार, बेनी सामुदायिक र जिल्ला प्रशासन कार्यालयअगाडिको चौतारी संरक्षण गर्न थालिएको छ ।

गत आवमा विनियोजन भएको एक लाख २७ हजार बजेटबाट मालपोत कार्यालयअगाडिको चौतारी मर्मत गरिएको थियो । सो चौतारीको नजिकै बेनी बजार अवस्थित बेनी नगरपालिकाको ७ र ८ नम्बरबाहेकका वडाको पहिचान झल्कने होर्डिङ बोर्ड राख्ने तयारी भएको छ ।
पीपलको रुखको फेदीमा पूजा गर्न र बत्ती बाल्न सहज होस् भनेर पालासमेत राखिएको छ । नगरपालिकाको प्रवेशद्वारअघिको चौतारीसँगै म्याग्दीका ६ वटा स्थानीय तहको पहिचान झल्कने होर्डिङ बोर्ड राख्न लागिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । होर्डिङ बोर्डबाट म्याग्दी जिल्लाको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

चौतारी बनाएका दातासँग समन्वय गरेर मर्मत थालिएको हो । परम्परागत समाजमा धर्म र पुण्यका लागि चौतारा बनाउने चलन थियो । त्यसबेला बनाएका पोखरी अहिले झाडीमा परिणत भएका छन् । फेरिएको परिवेशमा चौतारीलाई विश्रामस्थल, प्रतीक्षालय र धार्मिकस्थलका रूपमा विकास गराउने योजना रहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । चौतारीसँगै पूजा गर्ने ठाउँ बनाएमा मानिसले फोहोर नगर्ने र सरसफाइ कायम गर्न सकिने उहाँले बताउनुभयो ।

गाउँघरमा मोटरबाटो लैजाने होडका कारण ग्रामीण जीवनको मौलिकता र त्यसबाट प्राप्त आनन्द दुवै हराउँदै गएपछि समुदाय नै चौतारी पोखरीको संरक्षण र नयाँ निर्माणमा लागेपछि अहिले यहाँका कैयौं गाउँमा नयाँ चौतारी निर्माण गरिनुका साथै वरपीपलसमेत लगाइएको छ । भरियाको भारी बिसाउने ठाउँ, बटुवाको थकान बिर्साउने ठाउँ, युवायुवतीको मायाप्रेम दर्शाउने ठाउँ, पाका व्यक्तिहरू सुस्ताउने ठाउँ, गोठाला र फुर्सदिला व्यक्तिहरू भेला भएर बाघचाल खेली दिन बिताउने ठाउँ हो चौतारी । आध्यात्मिक दर्शनमा धर्ममार्गको खुड्किलो मानिएका चौतारीहरू मानिसको भौतिक र दैनिक जीवनमा समेत अत्यन्त महत्वपूर्ण थलो हुन् ।

तर, विकासका नाममा मोटरबाटो खन्ने होडबाजी सुरु भएपछि भौतिक र आध्यात्मिक जीवनका यी महत्वपूर्ण सम्पदा नाश हुँदै गएका थिए । मोटरबाटोको सुविधा र सवारीसाधनको प्रयोगसँगै चौतारीहरू बिर्सिदै जान थालिएको अवस्थामा पुनः चौतारी संरक्षण अभियान सुरु भएपछि ग्रामीण क्षेत्रको सौन्दर्य मुस्कुराउन थालेको छ ।

मान्छेहरू हिँड्डुल गर्न छाडेसँगै चौतारीको महत्व पनि कम हुन थाल्यो । तर, चौतारीको अस्तित्व र महत्व विकाससँग मात्र होइन पर्यावरण र मान्छेको जीवनसँग पनि जोडिएको हुनाले चौतारीको महत्व र गरिमा कालजयी बनेर रहने म्याग्दीका वातावरण संरक्षणकर्मी एवं वन डिभिजन कार्यालय म्याग्दीका निवर्तमान प्रमुख चन्द्रमणि सापकोटाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?