बागलुङ । दुई वर्षअघिसम्म पानीका लागि दुई घण्टा समय छुट्याउने बागलुङको काठेखोला गाउँपालिका-३ धम्जाकी भेषकुमारी भण्डारीको अहिले समय बचत हुन्छ । बिहानै कुवाको पानीलाई पाइपमार्फत् जोडेर गाउँमा ल्याएर पानी थाप्ने भेषकुमारीको अहिले आँगनमै २४सै घण्टा पानी आउने धारो छ । भेषकुमारीले जीवनमा खानेपानीको एक घर एक धाराले दैनिकी नै फेरिएको बताउनुभयो । धम्जाका चार गाउँमा ३०० घरमा खानेपानीको धारा पुगेपछि त्यहाँका स्थानीयको दैनिकी फेरिएको छ । ‘बिहानै उठेपछि पानीको जोहोमै लाग्नुपर्दथ्यो, खानेपानीको अवस्था लथालिंग थियो, कुवाको पानी पाइपमा ल्याएर खानुपर्ने अवस्था थियो, अहिले एक घर एक धाराले दैनिकी फेरिदिएको छ,’ भण्डारीले भन्नुभयो, ‘अहिले आँगनमै पानीको धारो छ, आवश्यकता पर्दा प्रयोग गरे भैगो, समयको बचत हुँदा खेतीपाती र बाख्रा-भैंसीलाई समय दिन पुगेको छ ।’
पछिल्लो पाँच वर्षयता गण्डकी प्रदेशको क्रमागत योजनाअन्र्तगत धम्जाका माझकटेरा, द्वारा, ओख्ले, असौजेका केही भागमा गरी तीन सय खानेपानीका धारा जडान गरिएको छ । यस्तै, खानेपानीको चरम समस्या रहेको धम्जागाउँ र सायकेटरा गाउँमा खानेपानीका लागि एक घर एक धारा निर्माण कार्यका लागि गण्डकी प्रदेश सरकारबाट यो वर्ष ठेक्का प्रक्रियामा जाने गरी काम अघि बढेको काठेखोला गाउँपालिका-३ धम्जाका वडाध्यक्ष कुलबहादुर बिकले बताउनुभयो ।
खानेपानीको समस्या र सकस बेहोर्न बाध्य धम्जाका तीन घरधुरीमा खानेपानीको पहुँच पुगेपछि विकासको महसुस भएको स्थानीय रिमाकुमारी थापाले बताउनुभयो । खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई घरमै खानेपानीको धारा आएपछि दंग परेका छन् ।
खानेपानीको दुःख भएको धम्जामा घर-घरमा खानेपानी पुग्दा विकासको नयाँ अनुभूति भएको छ । धम्जामा ३५ वर्ष अघिमात्रै खानेपानी आयोजना सञ्चालन भएर सामुदायिक धारा निर्माण गरेको धम्जागाउँमा त्यसयता खानेपानीको दुःख झेल्नुपर्ने अवस्था रहेको थियो ।
कतिपयलाई कुवाको भर र कतिलाई सामुदायिक धारामा घण्टौं लाइन लाग्नुपर्ने अवस्थामा खानेपानी आयोजना सफल भएपछि सहज भएको धम्जा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष चन्द्र भण्डारीले जानकारी दिनुभयो । धम्जा खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गतका १० उप–आयोजनामार्फत् खानेपानी वितरण गरिएको छ ।
‘खानेपानीको निकै दुःख रहेको धम्जामा अहिले सहज भएको छ, साबिकका दुई गाउँमा मात्रै अहिले खानेपानीको कामका लागि प्रक्रियामा छ,’ भण्डारीले भन्नुभयो, ‘विभिन्न खानेपानी मुहानबाट पानीलाई १५ वटा खानेपानीका विभिन्न क्षमताका ट्यांकी निर्माण गरी घर-घरमा खानेपानीका धारा पुर्याइएको हो, अहिले खानेपानीको धारा घरमै पुगेका जनताले आफ्नो दैनिकी फेरिएको बताएका छन् ।’
धम्जामा सात करोडको लागतमा तीन सय घरमा खानेपानीको धारा पु¥याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो । १५ वटा पानी संकलन गर्न पाँच हजार देखि ३० हजार लिटर क्षमताको ट्यांकी, आठ किलोमिटर मुख्य पाइप लाइन तथा २५ किलोमिटर वितरण लाइनमार्फत् घर-घरमा खानेपानी पुर्याइएको हो ।
भएका मुहानहरू सुक्दै जाने, मर्मत नहुने लगायतका समस्याका कारण धम्जामा खानेपानीको चरम संकट रहँदै आएकोमा विगत दुई वर्षयता खानेपानीको एक घर एक धारा निर्माणसँगै सहज भएको हो । धम्जाको शिरमा रहेको ढङ्डुले, मथे, आरपानी, बिसौनालगायतका १५ मूलहरूलाई विभिन्न ट्यांकीमा जम्मा गरेर खानेपानी वितरण भएको हो ।
खानेपानीका कारण अहिले यहाँका स्थानीयले समयको समेत बचत गरेका छन् मिटर जडित धाराका कारण खानेपानी खेर जाने सम्भावना न्यून रहेको स्थानीय शिव भण्डारीले बताउनुभयो । ‘खानेपानीको दुःख टर्यो, अहिले पानीका लागि समय व्यवस्थापन गर्न आवश्यक छैन,’ भण्डारीले भन्नुभयो, ‘खानेपानीको धारामा मिटर जडान गरिएकाले पानीको सही प्रयोग भएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच