नेपाली क्रिकेट टोलीको बिदाइ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई बिदाइ गरेको छ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गत नामिबियामा आयोजना हुने त्रिदेशीय सिरिज खेलको नेपाली टोलीलाई मंगलबार बिदाइ गरेको हो ।

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका महाप्रबन्धक वृत्तान्त खनालले बिदाइ गर्नुभयो । नामिबिया जानुअघि नेपाली टोली भारत जाने र भारतमा नेपाली टोलीले एक साता तयारी गर्ने क्यानले जनाएको छ ।

सिरिज आगामी डिसेम्बर २ देखि ८ सम्म हुनेछ । सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्याण्ड रहेका छन् । सिरिजको अंक तालिकामा नेपाल छैटौँ स्थानमा रहेको छ ।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव रहनुभएको छ ।

नामिबियामा नेपाल, नामिबिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । नेपालले नामिबियासँग डिसेम्बर २ मा पहिलो खेल खेल्नेछ । नेपालले डिसेम्बर ४ मा स्कटल्याण्डसँग खेल्नेछ । डिसेम्बर ७ मा नामिबिया र डिसेम्बर ८ मा स्कटल्याण्डसँग खेल्नेछ ।

नेपाल २० खेलमा आठमा जित र ११ मा हारका साथ छैटौँ स्थानमा छ । नेपाल सात देश सम्मिलित विश्वकप लिग २ मा शीर्ष तीनमा पर्न सके आगामी वर्ष सिधै विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । अन्यथा क्वालिफायर खेल्नुपर्ने हुन्छ । सोझै ओडिआई मान्यता जोगाउन शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

सिरिजको अंक तालिकामा नेपाल छैटौँ स्थानमा रहेको छ । नेपालले २० खेलमा १७ अंक जोडेको छ । नेपालले अब विश्वकप लिग–२ मा १६ खेल खेल्न बाँकी छ । जसमा आठ घरेलु मैदान र आठ खेल विदेशी भूमिमा खेल्नेछ । शीर्ष पाँचमा रहन नेपालले कम्तीमा १० खेल जित्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?