नेताको विजय-पराजयमा मतदातालाई छैन हर्ष विस्मात

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 12 mins

सिन्धुली । आइतबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । मतगणना स्थलमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू परिणामको पर्खाइमा छन् । सामाजिक सञ्जाल विजयी र पराजयीका मतले तातिएको छ ।

अनलाइन न्युज पोर्टल र पत्रपत्रिकाहरू निर्वाचन विशेष सामग्री, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरूको मत परिणाम र उम्मेदवारहरूका तस्बिरहरूले रंगिएका छन् । यो सबै देख्दा लाग्छ, संसारै चुनावमय भएको छ । उत्सव र उत्साहको सीमा छैन । तर, वास्तविकतामा स्वतन्त्र मतदाताहरूमा कागलाई बेल पाक्यो, हर्ष न विस्मात् भनेझैँ भएको छ । आफूले मत प्रदान गरेका उम्मेदवार विजयी वा पराजयी भए भन्ने कौतुहलतासमेत भएको पाइँदैन । नेता, नेतृत्वप्रति भरोसा लाग्न छाडेकोले जसले जिते पनि आफूलाई उत्साह नहुने दुधौली नगरपालिका–३ खुट्टेपानीकी श्याममाया थापाले बताउनुभयो । ‘गाउँको विद्यालय भवनबाट पानी चुहिन्छ । बालबालिका चिसो भुइँमा पढ्न बाध्य छन् । गाउँले गाँस, बाँस र कपासको अभावमा छट्पटिरहन्छन् । ऋणले सबैजसो पिरोलिएका छन् । गाउँमा रोजगारी छैन । समयसमयमा जंगली जनावर र खहरेखोलाले सास्ती दिइरहन्छ । यस्ता थुप्रै अभाव र समस्यामा जेलिएको यो ठाउँको लागि कसैले केही गरेनन्,’ उहाँले निराशाका कुण्ठा फुकाउनुभयो ।

हरेक चुनावमा भोट माग्न आउँदा आकाशको तारा ल्याइदिन्छु भन्न पछि नपर्ने तर जितेपछि गाउँमै नर्फकने नेताको प्रवृत्तिले उहाँहरूप्रति मतदाताको विश्वास घट्टै गएको उहाँको भनाइ छ । ‘जुन जोगी आए पनि कानै चिरेको, गाउँको दुःख गाउँमै, आफ्नो दुःख ठाउँमै,’ उहाँले भन्नुभयो ।

श्याममाया थापाले भन्नुभए जस्तै मतदातामा राजनीतिक दल, नेता र नेतृत्वप्रतिको विश्वास घट्टै गएको यसपटकको चुनावमा खसेको मतले पनि संकेत गरेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा दुई लाख आठ हजार ३६९ मतदाता थिए । यसमध्ये एकलाख १८ हजार ९६० मतमात्र खसेकोे निर्वाचन कार्यालयको तथ्यांकले जनाएको छ ।

२०४६ सालदेखि पटकपटक मतदान गर्नुभएका पारखी माइला कान्छाले जतिपटक जसलाई भोट हालेर जिताए पनि नागरिकको जीवनस्तर नबदलिएकाले मतदान गर्ने उत्साह पहिलाको जस्तो नभएको बताउनुभयो । ‘बहुदलीय व्यवस्था भएपछि पटकपटक भोट हाल्दै आएका छौँ । यतिका लामो समयसम्म पनि खासै परिवर्तन देख्न नपाएपछि किन मत हालेर नेतालाई जिताइरहने ?’ उहाँले प्रश्न गर्नुभयो ।

तीनपाटन गाउँपालिकाकी स्थानीयबासी रीता बोगटीले स्थानीय तहको जस्तो उत्साहजनक अवस्था प्रतिनिधिसभा र प्रदेशको चुनावमा नभएको बताउनुभयो । राजनीतिमा पुराना दलका पुराना नेताप्रति वितृष्णा बढ्दै गएको र नयाँ पार्टी तथा सक्षम युवाप्रति मतदाताको आकर्षण बढ्न थालेको उहाँको बुझाइ छ ।

तीन पटकको चुनावमा मतदान गर्नुभएका तथा समाचार संकलन गरिसक्नु भएका नेपाल पत्रकार महासंघका कोषाध्यक्ष अनिल भण्डारीलाई यसअघिको चुनावको मतदान प्रक्रियामा सहभागी हुँदै गर्दा ठूलै चाडपर्व मनाउँदै छौँ भन्ने लाग्थ्यो । मतदानको दिन मतदानस्थलमा लागेको भिड प्रहरीलाई थेगिनसक्नु हुन्थ्यो ।

मतगणनाको परिणाम सुन्नको लागि मतदाता र कार्यकर्ता रातभर मतगणना स्थलमा भेटिन्थे । अहिले पार्टीका निकै कम कार्यकर्ता मात्र देखिन्छन् । रातमा सुनसान जस्तै देखिएको छ । स्वतन्त्र मतदाता मत परिणाम सुन्ने स्थलमा भेट्न विरलै पाइन्थ्यो । यसको कारण दलहरूले हामीलाई के गर्छन् ? के गरे र अब के हुन्छ र भन्ने खालको वितृष्ण मतदातामा देखिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार भूकम्पपछि बेरोजगारी बढेको छ । युवाहरू रोजगारीका लागि बाहिर गएका छन् । वैदेशिक रोजगारमा होस् वा देशभित्रका मुख्य सहरमा । उहाँहरू मतदान गर्न गाउँ फर्किएको देखिएन । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा मतदानको दिन मतदाताको लाइनमा प्रायः महिला र ज्येष्ठ नागरिकहरू मात्र देखिएको उहाँले सुनाउनुभयो । ‘अहिले देशभरको मत परिणामलाई हेर्दा नयाँ पार्टी नयाँ उम्मेदवार वा स्वतन्त्र भइदिएदेखि केही विकास हुन्थ्यो कि भन्ने खालको आशा देखिएको पाइन्छ । सिन्धुलीको हकमा त्यो छैन,’ पत्रकार भण्डारीले भन्नुभयो, ‘नयाँ दलले पनि उम्मेदवारहरू सामाजिक क्षेत्रमा काम गरेको तथा चर्चा कमाएका उम्मेदवारहरू नदिएकाले पुरानै दलहरूलाई दोहो¥याउनुपर्ने बाध्यता देखियो । अहिले मतगणनाको खबर सुनिरहँदा र देशभरिको परिस्थितिलाई हेर्दा मतदाताहरूले नयाँ अनुहार नै रुचाएका हो कि भन्ने लाग्छ ।’

सिद्धज्योति शिक्षा क्याम्पस सिन्धुलीका उपप्रधानाध्यापक नानीबाबु घिमिरे पनि पत्रकार भण्डारीको विचारलाई समर्थन गर्नुुहुन्छ । नागरिकलाई नेताप्रति वितृष्णा रहेको उहाँको बुझाइ छ । अहिलेको निर्वाचनमा मतदान गर्न मतदाताको कम उपस्थिति देखियो । मतगणना स्थलमा पनि पहिलोको जस्तो भिडभाड छैन । यसको अर्को कारण गाउँका हरेक घरको एकजना प्रायःजसो विदेशमा छन् । विदेशमा गएका व्यक्ति लोकतन्त्रप्रति, नेताहरूको लोकतान्त्रिक विश्वास वा व्यवहार, आचारणप्रति वितृश्रित छन् । त्यो सन्देश परिवारमा पठाएका छन् ।

परिवारमा पनि लोकतान्त्रिक आन्दोलन गरियो । लोकतन्त्र आयो । तर, हामीले जुन हिसाबले विकास पाउनुपर्ने, त्यो भएन । सेवासुविधा प्राप्त भएन, स्वदेशमा रोजगार प्राप्त भएन । यो लोकतन्त्र जनताको लागि होइन नेता नेतृत्वको लागि आएको मात्र हो । स्वार्थ, पदको लागि मात्र आएको रहेछ । पार्टी-पार्टी मिल्ने गठबन्धन बनाउने आपसी समझदारी गरेर एक खालको स्वार्थ पूरा गर्ने मात्र भयो । जनताको लागि भएन भन्ने बुझाइ आमरूपमा विकास हुँदै गएकाले मतदानमा मतदाताको संख्या घटेको मतदातासँग गरिएको कुराकानीमा आफूले पाएको उहाँले प्रष्ट्याउनुभयो ।

विदेशमा भएका मतदाता आउने कुरा रहेन । बाहिरी सहरमा कमाउन गएका मतदाता आएनन् । घरमा बिरामी, अलिकति अशक्त भएका मतदातालाई मतदान स्थलसम्म ल्याउने जाँगर सक्रिय कार्यकर्तामाहरूमा पनि देखिउन । ल्याएर के हुन्छ र, यिनै नेताहरूले आफ्नो स्वार्थ पूरा गर्ने हुन्, आफ्नो परिवारको निम्ति केही गर्ने हुन्, जनताको निमित्त केही गर्दैनन्, भन्ने बुझाइ आम मतदातामा रहेको उहाँको भनाइ छ ।

नेताहरूले जितेर पनि हाम्रा लागि के गर्छन् र ? भन्ने निराशाका कारण मतगणना स्थलमा पनि पहिलाको जस्तो उत्साह थिएन । नेताले जितेपछि जनताको लागि केही गर्छन कि भन्ने आशा र विश्वास कम हुँदै गएकाले यो परिस्थिति सिर्जना हुँदै गएको उहाँले बताउनुभयो । सूचना प्रविधिको कारण सूचना लिन दिन सजिलो भएकाले पनि मतगणना स्थलमा पहिलाको जस्तो दिनभर, रातभर बसेर यसले जित्छ, उसले जित्छ भन्ने खालको विश्लेषण, चर्चा कम हुँदै गएको हुनसक्ने उहाँको धारणा छ ।

नेकपा एमाले सिन्धुलीका प्रचारप्रसार विभागका संयोजक सञ्जयकुमार दाहाल चुनावमा जुन हिसाबले मतदातामा उत्साह हुनुपर्ने थियो, त्यो पहिलाको तुलनामा देखिएन भन्नुहुन्छ । पुराना राजनीतिक दलहरूप्रति विस्तारै जनताको आकर्षण घटेको अहिलेको निर्वाचनले देखाएको उहाँले बताउनुभयो । ‘यसको कारण, राजनीतिक दलहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसक्नु नै देखिन्छ । नयाँ पुस्तामा राजनीतिक दलप्रति आकर्षणभन्दा बढी विकर्षण बढेको हो कि,’ उहाँले भन्नुभयो ।

अहिले कांग्रेस, माओवादीका कार्यकर्ताहरूले नै पनि नचाहेको गठबन्धन जबरजस्ती भएको र यसको विद्रोहस्वरूप कांग्रेस, माओवादीकै शुभेच्छुकहरूले एमालेलाई मत दिनुभएको उहाँले बताउनुभयो । गठबन्धन नचाहने सबै मतदाताहरूको एमालेलाई साथ दिएको उहाँको जिकिर छ ।

‘मतदाताले कांग्रेस र माओवादी बीचको गठबन्धन रुचाएका छैनन् । एमाले र माओवादीबीच भएको गठबन्धनभन्दा अहिलेको गठबन्धन फरक छ । हिजो कम्युनिष्टहरू एक गर्ने र भागबण्डा गरेर पछि पार्टी एकीकरण हुने विषयले गठबन्धन भएको थियो । आजको गठबन्धन मात्र सत्ता बाँडफाँट र कुर्सीको लागि गरिएको गठबन्धन हो । यसमा जनता, कार्यकर्तामा चाहना नभएको र त्यो खालको उत्साह पनि नभएको मतदाताहरूको प्रक्रिया छ,’ उहाँले सुनाउनुभयो ।

काम र पढाईको सिलसिलामा बाहिर गएका मतदाताहरूलाई मतदान गर्न ल्याउनको लागि राजनीतिक दलहरूबाटै त्यति पहल पनि नभएको उहाँले स्वीकार्नुभयो । उहाँका अनुसार बाहिर भएका मतदाताहरू आफँै आउन पनि अनिच्छुक भएको पाइन्छ । केही मतदान गर्नु मेरो अधिकार हो भन्ने बुझेर आउनुभयो । कतिपय हामीले जिताए पनि के नै हुन्छ र ? भनेर आउनुभएन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?