यस्तो छ पश्चिम पाल्पाको न्वागी परम्परा

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा ।  न्वागी पर्व ठाउँअनुसार फरक-कर तरिकारले मनाउने गरिन्छ । न्वागीको आफ्नै महत्व र विशेषता रहे पनि नेपालमा जाति, क्षेत्र र समुदायअनुसार मनाउने चलन छ । पाल्पाको पश्चिममा पनि न्वागी पर्व उत्सवका रूपमा मनाउने गरिन्छ ।

प्रायः नयाँ धान घरमा भित्र्याएपछि पहिले हामीले नयाँ चामलको भात खान्छौँ । तर, पश्चिम पाल्पामा भने नयाँ धान भिœयाएपछि पहिले देवीलाई चढाएर मात्र उपभोग गर्ने प्रचलन रहेको छ । यहाँको प्रसिद्ध मन्दिर रैनादेवी मन्दिरमा नयाँ धान उत्पादन गरेपछि भगवतीलाई चढाएपछि मात्रै खाने गरिन्छ । यहाँ न्वागी पर्वका दिन देवीलाई काँचो चामलमा दही, केरा, सुकुमेल र अन्य मसला एकै ठाउँमा मिलाई त्यसलाई राम्ररी मुछेर विधिर्पूवक चढाइसकेपछि त्यसलाई प्रसादस्वरूप खाने परम्परा रहिआएको छ । यसरी चढाएपछि मात्र घरमा भित्र्याइएको नयाँ धानको भात खाने गरिन्छ ।

यो पर्वमा प्रत्येक वर्ष नयाँ धानबाली पाकेपछि रैनादेवीसँग मागेको वर कहिल्यै पनि खेर नजाने स्थानीय बासिन्दाहरूको विश्वास रहेको छ । यहाँका स्थानीय बासिन्दाहरू वर्षभर परदेशी भए पनि न्वागीको समय पारेर घर आउने गर्छन् । न्वागीको दिन बिहानैदेखि मन्दिरमा पूजाआजा हुने गर्छ भने रातभर सोरठी, ख्याली, बालुन र मालश्री गाउने तथा नाच्ने गरिन्छ । पछिल्लो समयमा स्थानीय बासिन्दाको पहलमा न्वागी मेलालाई महोत्सवकै रूपमा मनाउन थालिएको छ ।

न्वागी नखाई नयाँ धान प्रयोगमा ल्याएमा सो घरमा अनिष्ट हुने जनविश्वास रहेको छ । सोहीअनुसार यस वर्षको न्वागी पर्व भव्यरूपमा मनाइएको छ । न्वागी पर्व पश्चिम पाल्पाकै धार्मिक आस्थासँंगै मौलिक संस्कृति, जीवन पद्धति, कृषक तथा कला संस्कृतिसँग गाँसिएको छ । न्वागी खान प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, प्रहरी प्रमुख जनकबहादुर शाही, जिल्ला प्रशासन कार्यालयका अधिकृत यज्ञेश्वर पन्थी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, पत्रकारहरू रैनादेवी मन्दिर परिसरमा पुगेका थिए । अतिथि तथा सर्वसाधारणलाई मन्दिर व्यवस्थापन समितिले दही, चामल खुवाएर स्वागत गरेको थियो ।

पालिकाको नामसमेत यसै मन्दिरबाट भएकाले न्वागी पर्वलाई गाउँपालिकाले धार्मिक आस्थासँगै कला–संस्कृति जगेर्ना गर्ने काममा लागेको गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले बताउनुुभयो । परम्परागत स्थानीय कला-संस्कृति हराउँदै गएको समयमा पालिकाले स्थानीय कला-संस्कृति नाचलाई प्रतियोगिताका रूपमा सञ्चालन गरी जगेर्ना गर्ने काम गर्दै आएको उहाँको भनाइ छ । पालिकाका उपाध्यक्ष युवराज थापाले रैनादेवीको महत्व, न्वागी पर्वको मान्यता, स्थानीय कला-संस्कृति र मनमोहक दृश्यले यस क्षेत्रको महत्व बढाएको बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘यस क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न अभियानकै रूपमा गाउँपालिका लागेको छ ।’

रैनादेवी मन्दिरलाई व्यवस्थित गर्दै नयाँ मन्दिरका लागि काम सुरु भएको, न्वागी पर्वलाई अझै व्यवस्थित गर्दै अन्य क्षेत्रमा पनि फैलाउने, पर्वको महत्वबारे जानकारी गराउने, स्थानीय कला-संस्कृति देखाउने, जगेर्ना गर्ने, प्रतियोगिताका रूपमा स्थानीय कलाकर्मीको हौसल्ला बढाउने गरी पालिकास्तरीय प्रतियोगिता सञ्चालन गरेको रैनादेवी छहरा गाउँपालिका-३ का वडाध्यक्ष प्रदीप पौडेलले बताउनुुभयो । न्वागी पर्वका अवसरमा रैनादेवी मन्दिर परिसरमा लोपोन्मुख अवस्थामा रहेका पञ्चेबाजा, सोरठी, मालश्री, ठूलो नाच, रत्यौली, झाम्रे चुड्का, लाखे, कौडा मारुनी जस्ता विभिन्न जातजातिका स्थानीय मौलिक कला–संस्कृतिले दर्शकहरूको मन जितेको थियो ।

यहाँ नयाँ धानको चामल कुटी दही र चामल खाने, मन्दिर परिसरमा रातीदेखि स्वतस्फूर्तरूपमा विभिन्न टोल-टोलबाट समूह बनाएर नाचगान गर्ने र बिहान कोटघरबाट रैनादेवीको प्रसाद लिएर घर फर्किने चलन रहेको स्थानीय विशाल दर्लामीले बताउनुुभयो । न्यौपाने बाहुन र छहरी मगरले रैनादेवीमाथि अपराध गरेकाले अहिले पनि यी जातिहरू मन्दिर प्रवेश गरेमा अनिष्ट हुने जनविश्वास रहिआएको छ ।

हालको रैनादेवी मन्दिर भएको जंगल न्यौपाने बाहुनको बारी रहेको थियो । गाईले दैनिकरूपमा दूध नदिएपछि न्यौपाने बाहुन र छहरी मगरले गाईको पिछा गर्दै जाँदा बारीको बीचमा सुनको मौलोमा दूध चढाइरहेको देखेपछि दुवैजनाले सुनको मौलो खन्दै जाँदा तल-तल भासिँदै गयो । सुनको टाउको भाँचेर भए पनि लैजान्छु भनी कोदालोको पासोले हान्दा रगताम्य भई रुँदै देवी उत्पन्न भएको भनाइ रहेको छ । देवी भागेर अन्य स्थानमा जाँदै गर्दा दर्लामी र सोमै मगरले रोकी पूजाआजा सुरु गरेको किंबदन्ती रहेको छ । आमरूपमा रोइन देवी रोइन देवी भन्दाभन्दै अपभ्रंश भई रैनादेवी हुन गएको बुढापाकाहरू बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?