पौडेलको तीन दशक लामो संसदीय यात्रा

गठबन्धनको सहारामा छैटौँ जित, ‘अन्तिम धोको’ प्रधानमन्त्री

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । परिचित प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । पौडेलले २५ हजार ३१८ मत प्राप्त गरेर विजयी हुँदा राना १९ हजार ९४३ मतमा सीमित हुनुभयो । पौडेललाई हराउन ‘क्याटालिष्ट’ बन्नसक्ने आँकलन गरिएका कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीले ६ हजार ८७८ मत मात्रै प्राप्त गर्नुभयो । उहाँले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो । संसदीय राजनीतिमा पौडेलको यो छैटौँ जित हो । जितसँगै छैटौँपटक निर्वाचित हुने थोरै नेतामा पौडेल हुनुहुन्छ । पौडेल अघिल्लो चुनावमा भने तत्कालीन वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग फराकिलो मतान्तरले पराजित हुनुभएको थियो ।

२०७४ सालको निर्वाचनमा पराजित भएपछि उहाँ राष्ट्रिय राजनीतिमै कमजोर हुनुभएको थियो । यसपालि भने वाम-लोकतान्त्रिक गठबन्धनको सहयोगमा छैटौँपटक संसदीय यात्रा तय गर्नुभएको छ । उहाँ यसअघि २०४८ सालमा तत्कालीन तनहुँमा-१ बाट विजयी हुँदै संसदीय यात्रा सुरु गर्नुभएको थियो । पौडेल त्यसपछि फेरि २०५१ सालमा तत्कालीन तनहुँ-२ बाट विजयी हुनुभयो । उहाँ २०५६ मा तनहुँ-२ बाट तेस्रोपटक निर्वाचित हुनुभयो । त्यसपछि उहाँ पहिलो र दोस्रो संविधानसभामा क्रमशः चौथो र पाँचौँपटक विजयी हुनुभयो ।

कार्यकारी पदको हुटहुटी
तीन दशकअघि संसदीय राजनीतिमा प्रवेश गर्नुभएका पौडेल २०४८ सालमै पहिलोपटक स्थानीय विकासमन्त्री बन्नुभएको थियो । उहाँ दोस्रोपटक ०४९ मा स्थानीय विकास तथा कृषिमन्त्री बन्नुभयो । पौडेल २०५१ सालको मध्यावधि चुनावपछि सभामुखसमेत बन्नुभयो । त्यसपछि २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभयो । २०५९ सालमा शान्तिमन्त्री बन्नुभएका पौडेलले सत्ताको भरपुर स्वाद चाख्नुभएको छ । ०६३ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री हुनुभएका पौडेल ०६५ सालमा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित हुनुभएको थियो । कांग्रेस कार्यवाहक सभापतिसमेत भइसक्नु भएका पौडेलले पार्टी र सरकारको नेतृत्व भने सम्हाल्न पाउनुभएको छैन । कांग्रेस संसदीय दलका नेता हुँदा उहाँले प्रधानमन्त्री पदमा उम्मेदवारीसमेत दिनुभएको थियो । तर, १७ पटक प्रयास गर्दा पनि उहाँले बहुमत पुर्‍याउन सक्नुभएन । जुन उहाँको राजनीतिक जीवनमा एउटा ‘धब्बा’ बनेर रहेको छ ।

०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, तत्कालीन एकीकृत माओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसद्मा प्रधानमन्त्रीको उम्मेदवारी दिनुभएको थियो । संवैधानिक प्रावधान अनुसारको मतसंख्या तीनै जनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । आठौँ प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैँ बाहिरिएपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गर्नुभयो । अन्ततः निर्वाचनसम्बन्धी नियमावली नै परिवर्तन गरेर अर्को चरणमा खनाल प्रधानमन्त्री बन्नुभयो । पटक-पटक संसद् र सत्ताको स्वाद चाख्नुभएका पौडेलको ‘अन्तिम धोको’ छ एकपटक देशको कार्यकारी पदमा पुग्ने । जुन उहाँले सार्वजनिक रूपमै पनि व्यक्त गर्नुभएको छ । चुनाव प्रचारको क्रममा र त्यसअघि पनि उहाँले खुलेरै एकपटक प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गर्नुभएको थियो । गृहजिल्ला तनहुँ पुगेर उहाँले ‘मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिन आफ्नो भूमिका देशले खोजेको’ बताउनुभएको थियो । ‘देशमा सुशासन, सामाजिक न्याय तथा समाजवादको लागि राजनीतिमा लागेको हुँ । त्यो पूरा गर्न कार्यकारी बन्न बाँकी छ,’ उहाँको भनाइ थियो, ‘देशलाई कार्यकारी भूमिका दिन बाँकी छ भनेर म सक्रिय राजनीतिमा छु, देशको उन्नति र प्रगति भविष्यमा कसरी गर्न सक्छौँ भन्ने दूरदृष्टि पनि मसँग छ । कार्यकारी भूमिका खेलेर सुशासन दिने सामथ्र्य पनि छ ।’

प्रधानमन्त्री बन्ने पौडेलको हुटहुटीमा चुनाव प्रचारका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मलजल गर्नुभएको थियो । उहाँकै गृहजिल्ला पुगेर प्रचण्डले ‘पौडेलको प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको’ बताउनुभएको थियो । ‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो । उहाँको एकपटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ । त्यो सम्भावना बढ्यो, प्रचण्डले भन्नुभएको थियो, ‘तपाईंहरूले जिताउनुभयो भने सम्भावना हुन सक्छ । पौडेलजीलाई अत्यधिक बहुमतले जिताएर पठाउनुहोस् ।’

चुनौतीका चाङ, सम्भावना न्यून
प्रचण्डले भनेजस्तै पौडेललाई तनहुँका जनताले जिताएर पठाएका छन् । तर, प्रधानमन्त्री बन्ने चाहनामा भने चुनौतीका चाङ छन् । पहिलो हो चुनावी नतिजा । चुनावमा गठबन्धनले अपेक्षा गरेअनुरूप नतिजा नआउने देखिएको छ । गठबन्धनकै नेतृत्वमा सरकार बन्ने/नबन्ने पनि यकिन छैन । कारण गठबन्धन दलहरूले बहुमत ल्याउने सम्भावना न्यून देखिएको छ । बहुमत आइहाले पनि पौडेललाई प्रधानमन्त्री बन्न सजिलो छैन । पहिलो चुनौतीका रूपमा उहाँलाई आफ्नै पार्टीका नेताहरू बाधक बन्नेछन् । कांग्रेसमा मात्रै आधा दर्जन नेता प्रधानमन्त्रीका दाबेदार छन् ।

कांग्रेस संसदीय दलको चुनावमा उठिहाले पनि उहाँलाई जित्न सजिलो छैन । चुनावी परिणाम र देशले नयाँ र युवा नेतृत्व खोजेको छ । जसमा कांग्रेस महामन्त्री गगन थापाले बलियो दाबेदारी प्रस्तुत गर्नुभएको छ । संस्थापन पक्षबाट स्वयं सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीकै दाबेदार हुनुहुन्छ । गत कांग्रेस महाधिवेशनमा संस्थापनलाई मौन समर्थन गर्दै सघाएकाले उहाँसँग इतर समूहको साथ पनि छैन । हुन त राजनीतिमा असम्भव भन्ने केही हुन्न भन्छन् । तर, यति धेरै चुनौतीबीच पौडेलको प्रधानमन्त्री बन्ने सम्भावना भने एकदमै न्यून देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?