पार्टीले नपत्याएका, मतदाताले पत्याएका विजयी स्वतन्त्र उम्मेदवार सांसद बन्दै

अनिल क्षेत्री
Read Time = 10 mins

काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । ७५ प्रतिशतभन्दा बढी सिटको मत परिणाम सार्वजनिक भइसक्दा आगामी प्रतिनिधिसभा र प्रदेशसभामा राजनीतिक दलहरूको स्थिति पनि लगभग स्पष्ट भइसकेको छ । यो निर्वाचनमा कतिपय स्थानमा अप्रत्याशित नतिजासमेत आएका छन् । गत स्थानीय तह निर्वाचनपछि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित नतिजा ल्याएको छ ।

यस्तै, गत स्थानीय तह निर्वाचनभन्दा केही समय अघि मात्र गठन भएको नागरिक उन्मुक्ति पार्टीले पश्चिम तराईमा तहल्का पिटेको छ । कुनै समय देश विखण्डनको मुद्दा उठाएर भूमिगत रहेको जनमत पार्टीले पनि मधेशमा स्थापित मधेश केन्द्रित दलहरूलाई चक्मा दिएको छ । यस पटकको स्वतन्त्र उम्मेदवारहरूले पनि अनपेक्षित ढंगबाट चुनाव जितेका छन् । दल छाडेर स्वतन्त्र उम्मेदवारी दिनेहरूहरू झन् सफल देखिएका छन् ।

अमरेशकुमार सिंह
सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका विद्रोही उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित हुनुभएको छ । सिंहले २० हजार १७ मत ल्याउँदै विजयी हुनुभएको हो । सिंहले आफ्नै पार्टी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारलाई एक हजार ७६५ मतान्तरले पराजित गर्नुभएको छ । पराजित नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याउनुभयो । अघिल्लो वर्ष मंसिरमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनको क्रममा विवाद भएपछि पार्टीले सिंहलाई कारबाही गरेको थियो । कारबाही गरेपछि कांग्रेसले सिंहलाई टिकट नदिएर नागेन्द्रलाई उठाएको थियो । नागेन्द्रलाई सत्ता गठबन्धनको समेत सहयोग भए पनि सिंहले बाजी मार्नुभयो । २०७४ सालको निर्वाचनमा देशैभर कांग्रेसका उम्मेदवार पारजित हुँदा पनि सिंह भने निर्वाचित हुन सफल हुनुभएको थियो ।

प्रभु साह
रौतहट निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी हुनुभएको छ । साहले निकटतम् प्रतिस्पर्धी अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाललाई सात हजार २३७ मतान्तरले पराजित गर्नुभयो । साह यस क्षेत्रबाट निरन्तर जित्दै आउनुभएको छ । साहको यो लगातार चौथो जित हो । २०६४ सालदेखि साहले यस क्षेत्रबाट प्रतिनिधित्व गर्दै आउनुभएको छ । स्वतन्त्र उम्मेदवार साह ३२ हजार ४३७ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार २०० मत प्राप्त गर्नुभयो । नेकपा एमाले तत्कालीन स्थायी समिति सदस्यसमेत रहनुभएका साहले मनोनयन दर्ताको अन्तिम समयमा पार्टीको टिकट त्यागेर स्वतन्त्रबाट उम्मेवारी दर्ता गराउनुभएको थियो ।

जसपाको भागमा परेको मधेश प्रदेशका आठ जिल्लामा प्रतिनिधि सभातर्फ आठ र प्रदेश सभातर्फ १७ गरी २५ जनालाई साहले आफ्नो टिमबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । नेकपा एमालेले जसपासँग चुनावी तालमेल गरेपछि साह रुष्ट बन्नुभएको थियो । साह तत्कालीन नेकपा विघटन भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युतिँदा एमालेतर्फ जानुभएको थियो । यद्यपि, साह माओवादी केन्द्रका नेता हुनुहुन्थ्यो । सत्ता गठबन्धनले सघाउने भने पनि साहविरुद्ध कांग्रेस, एकीकृत समाजवादी, नेकपा एमाले र जसपाका उम्मेदवारले मोर्चाबन्दी गरेको साह निकटको आरोप छ ।

योगेन्द्र मण्डल
मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धन तथा एमाले र जसपाको समेत गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) विजयी हुनुभएको छ । मण्डलले २१ हजार ८२० मत ल्याउँदा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४८६ मत तथा एमाले र जसपा गठबन्धनमा जसपाका राजकुमार यादवले १७ हजार ३९० मत प्राप्त गर्नुभयो । योगेन्द्रलाई एमालेले उक्त क्षेत्रबाट सर्वसम्मतबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, उम्मेदवार मनोनयनको अघिल्लो दिन एमाले र जसपाबीच चुनावी गठबन्धन हुँदा यो क्षेत्र एमालेले जसपालाई सुम्पेपछि मण्डलले एमाले त्यागेर स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो । यो क्षेत्रमा कांग्रेस र एमालेको आ-आफ्नो उम्मेदवार नहुँदा आक्रोशित दुई दलका कार्यकर्ताले मण्डललाई समर्थन गर्दा जित निश्चित भएको हो । सत्ता गठबन्धनमा कांग्रेसले यो क्षेत्र माओवादी केन्द्रलाई छाडेर प्रदेशसभाका दुवै क्षेत्र आफ्नो पक्षमा राखेको थियो । त्यसैगरी, एमालेले जसपालाई छाडेर प्रदेशसभाको एक क्षेत्र आफ्नो पक्षमा राखेको थियो । मण्डल मुलुककै ठूलो लघुवित्त संस्थामध्येको जीवन विकास समाजका सञ्चालक हुनुहुन्छ ।

किरणकुमार साह
रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि स्वतन्त्र उम्मेदवार किरण साह विजयी हुनुभएको छ । साहले नेपाली कांग्रेसका फिरदोस आलमलाई चार हजार ५९४ मतान्तरले पराजित गर्नुभएको हो । साहले ३२ हजार ८४२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आलमले २८ हजार २४८ मत मात्र प्राप्त गर्नुभयो । मुस्लिम बाहुल्य क्षेत्रमा साह पहिलोपटक विजयी हुनुभएको हो । साहका प्रतिद्वन्द्वी आलम कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताव आलमका जेठो छोरा हो । लामो समय माओवादीमा राजनीति गर्नुभएका साह मधेशवादी दल हुँदै केही समयअघि एमाले प्रवेश गर्नुभएको थियो । पार्टीले टिकट नदिएको र उक्त क्षेत्र जसपाको भागमा परेपछि साहले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो । साह प्रभु साह प्यानलका हुनुहुन्छ । प्रभुले नै किरणलाई स्वतन्त्रमा उम्मेदवारी दिन लगाएको बताइन्छ । किरण २०७४ को संसदीय चुनावमा पूर्वमन्त्री आफताव आलमसँग एक हजार ५५५ मतले पराजित हुनुभएको थियो ।

लालवीर चौधरी
बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट पनि प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । चौधरीले नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १३६ मतले पराजित गर्नुभएको हो । लालवीर २६ हजार ५२० मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पन्थले २६ हजार ३८४ मत प्राप्त गर्नुभयो । यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनामा अदालतले दोषी ठहर्‍याएपछि कारागारमा रहनुभएका पूर्वसांसद रेशम चौधरीलाई उम्मेदवार बनाएको थियो । तर, वर्तमान कानुनबमोजिम रेशमको उम्मेदवारी खारेज हुने सम्भावना देखेपछि नागरिक उन्मुक्तिले पहिले नै लालवीरको उम्मेदवारी दर्ता गराएको थियो । अनुमान गरेअनुसार नै रेशमको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले लालवीरलाई समर्थन गरेको थियो । लालवीर रेशमका पिता हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?