अब कसको सरकार ?

गठबन्धनको बहुमत नपुग्ने निश्चित, ‘हंग पार्लियामेन्ट’को खतरा बढ्ने विज्ञहरूको टिप्पणी

यज्ञराज पाण्डे
Read Time = 10 mins

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन, २०७९ को प्रत्यक्ष तर्फको करिब ८० प्रतिशत मतगणना सकिएसँगै अब कसको सरकार बन्ला भन्ने चौतर्फी चासोको विषय बनेको छ । अग्रता र विजयी भएको मत जोड्ने हो भने निर्वाचनका लागि बनेको कांग्रेस-माओवादीलगायत पाँच दलीय गठबन्धनको सरकार बनाउनका लागि बहुमत पुग्दैन । कुल २७५ सांसद् रहने प्रतिनिधिसभाबाट सरकार गठनका लागि चाहिने बहुमत भनेको १३८ सिट हो । तर, नेकपा (एमाले) र चुनावी तालमेल गरेको राप्रपाको पनि बहुमत पुग्ने देखिँदैन । त्यसैले पाँच दलीय गठबन्धन नभत्किने हो र पार्टीहरूबीच नयाँँ समीकरण नबन्ने हो भने सरकार बन्नै गाह्रो पर्ने देखिएको छ । कुनै पनि एकल पार्टीको सरकार नबन्ने र धेरै पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता अहिलेको संसद्लाई भएपछि अब ‘हंग पार्लियामेन्ट’ बन्ने आशंका विश्लेषकहरूले गरेका छन् ।

बहुमतका लागि १३८ गठबन्धनको नपुग्ने निश्चित
कांग्रेसले शुक्रबार राति अबेरसम्म ४४ सिट जित्दा १० स्थानमा अग्रता लिएको छ । ती सबै सिट जित्दा पनि र गणना हुन बाँकी ठाउँमा पनि उसको आउँदासमेत कांग्रेस ५०-५५ सिटमा खुम्चिने भएको छ । समानुपातिकमा ३० देखि ३२ सिट ल्याउँदा १६५ मध्ये कांग्रेस ९० सिटमा पुग्न कठिन छ । ८० देखि ८५ सिटमा कांग्रेस रहँदा गठबन्धनको बहुमत आउन अन्य चार दलले ५० सिट कटाउनुपर्छ ।

प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक पर्ने १३८ सिटमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ बढीमा १८ सिटसम्म जित्ने देखिन्छ । समानुपातिकमा १५ सिटसम्म पायो भने माओवादी ३०-३२ सिटको पार्टी बन्नेछ । नेकपा एसले समानुपातिकमा थ्रेसहोल्ड कटाउने सम्भावना लगभग टरेको छ । उसले पाएको १० सिट जोड्दा कांग्रेस, माओवादी र एसको गरेर बढीमा १२५ सिट हुनेछ । लोसपा र राजमोको जोड्दा १३० पनि पुग्न मुस्किल छ ।

बाँकी आठ/दश सिटका लागि गठबन्धनले कि त फेरि जसपालाई भिœयाउनुपर्छ कि त राप्रपासँग सहकार्य गर्नुपर्ने हुन्छ । राप्रपाले प्रत्यक्ष र समानुपातिक गरेर कम्तीमा १२ सिट जित्ने देखिन्छ । जसपाले थ्रेसहोल्ड कटायो भने बढीमा आठ/दश सिटको पार्टी बन्न सक्छ ।

बन्ला त एमाले सहितको अर्को गठबन्धन ?
सत्ता गठबन्धनले बहुमत नपाउने भएपछि अब अर्को गठबन्धन सम्भव छ त ? तत्काल त्यो सम्भावना देखिँदैन । शुक्रबार राति अबेरसम्म ३४ सिट जितिसकेको एमालेले १० सिटमा अग्रता लिइरहेको छ । एमालेले अन्तिम सम्ममा ४० देखि ४५ सिट जित्ने देखिन्छ ।

समानुपातिकमा कांग्रेसभन्दा कम्तीमा दुई/तीन सिट एमालेको बढी हुने देखिन्छ । प्रत्यक्षमा लगभभग ४५ र समानुपातिकमा ३३/३४ सिट पाएको एमाले ८० सिटको हाराहारीमा पुग्दा कांग्रेस र एमालेको आकारमा त्यति ठूलो भिन्नता हुँदैन । यी दुई दलबीच बढीमा ६/सात सिटको अन्तरले पहिलो र दोस्रो बन्ने सम्भावना छ ।

सत्ता गठबन्धन बाहिरका सबै दल मिलेर बहुमत पुर्‍याउन सम्भव भए पनि अहिले आएका विभिन्न दलहरूको चरित्र, स्वभाव र थिग्रिनसकेको अवस्थाले गर्दा एमालेको नेतृत्वमा अर्को गठबन्धन सरकार बन्ने सम्भावना देखिँदैन । त्यो अवस्थामा एमालेले पनि माओवादीसहित अहिलेको गठबन्धन फुटाउने वा कांग्रेस र एमालेको सरकार बनाउने विकल्पमध्ये एउटा खोज्नुपर्ने हुन्छ ।

सरकारमा जाने स्वतन्त्र पार्टीको सम्भावना !
तर, यता राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गठबन्धन गरेर सरकारमा जान सक्ने संकेत देखाउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उहाँले देशहित, नागरिक र जनजीविकाका लागि सँगै अघि बढ्ने बताएपछि अब सरकार गठनका लागि गठबन्धनमा सामेल हुने संकेत दिनुभएको हो । तर, उहाँले कसलाई समर्थन गर्नुहुन्छ त्यो भने स्पष्ट भइसकेको छैन । समाजलाई टेवा दिने र मुलुकवासीका लागि काम गर्ने आफ्नो उद्देश्य भएको बताउने लामिछानेले सरकारमै सहभागी भएर काम गर्ने सम्भावना देखिन्छ ।

यदि स्वतन्त्र पार्टीले एमालेसँग सहकार्य गरेर अन्य दलहरूको गठबन्धन बनाउने हो भने यो गठबन्धको बहुमत पुग्ने देखिन्छ । तर, सत्ता गठबन्धन बाहिरका सबै दल मिलेर बहुमत पु¥याउन सम्भव भए पनि अहिले आएका विभिन्न दलहरूको चरित्र, स्वभाव र थिग्रिनसकेको अवस्थाले गर्दा एमालेको नेतृत्वमा अर्को गठबन्धन सरकार बन्ने सम्भावना देखिँदैन ।

यदि सरकार एमाले वा कांग्रेसले बनाउने हो भने पाँच दलीय गठबन्धन फुटेर अर्को समीकरण बन्नुपर्ने हुन्छ । एमालेले माओवादी केन्द्र र २४ सिट हाराहारीमा उपस्थिति जनाउने रवि लामिछाने नेतृत्वको पार्टीको साथ लिएमा भने सरकार गठनका लागि दाबी गर्न सक्ने आधार देखिन्छ । त्यस्तै, कांग्रेसले पनि रवि लामिछानेको पार्टीलाई पाँच दलीय गठबन्धनमा सामेल गरायो भने त्यसरी पनि सरकार बन्ने देखिन्छ । तर, स्वतन्त्र पार्टीका सभापति लामिछानेले आफू को सँग सहकार्य गर्ने कुरा अहिले नै सार्वजनिक गरिसक्नु भएको छैन ।

‘हंग पार्लियामेन्ट’ बन्ने भयो, अस्थिर सरकार बन्ने सम्भावना : वरिष्ठ अधिवक्ता भट्टराई
वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई आगामी दिनमा अस्थिर सरकार बन्ने खतरा बढेको टिप्पणी गर्नुहुन्छ । दलहरू मिलेर सरकार गठन गर्नुपर्ने भएकाले सांसद् किनबेचको समेत खतरा बढ्ने उहाँको टिप्पणी छ । उहाँ भन्नुहुन्छ, ‘अबको संसद् हंग पार्लियामेन्ट हुन्छ । त्यसले डेलिभरी दिन नसक्ने, मतदाता र जनतामा झन् निराशा पैदा गराउने, दर्शन र सिद्धान्तमा आधारित राजनीतिक दलहरूमा स्खलन आउने र पार्टीका सांसद्हरूको मोलतोल हुने खतरा बढेको छ ।’

विचारधारा मिल्नेहरू एक ठाउँमा नआउने हो भने स्थिर सरकार बन्दैन : वरिष्ठ अधिवक्ता पोखरेल
वरिष्ठ अधिवक्ता सुनिल पोखरेल यदि विचारधारा मिल्ने दलहरू एक ठाउँमा नआउने हो भने स्थिर सरकार बन्न नसक्ने दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘दक्षिणपन्थी तथा वामपन्थीहरू एक ठाउँमा आएर अबको सरकार कसले बनाउने भन्ने डिस्कोर्स सुरु हुनुपर्छ ।’ निकटतम् सिद्धान्त भएकाहरूको गठबन्धन बन्नुपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘दक्षिणपन्थी विचारधारा भएकाहरू एक ठाउँमा आउने र वामपन्थी विचारधारा भएकाहरू एक ठाउँमा आउने हो भने तिनले आफूहरू बीचको समीकरण बनाउने र त्यसै आवश्यकताअनुसार अन्य विचारधारा मिल्ने दलहरूलाई साथमा लिएर सरकार बनाउनु नै उत्तम देखिन्छ ।’ तर, सिद्धान्त नमिल्नेहरूको गठबन्धन गठन गरेर सरकार बनाउँदा त्यसले जनतामा निराशा पैदा गर्ने उहाँको टिप्पणी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?