समूह चरणबाटै बाहिरियो आयोजक

Read Time = 3 mins

 दोहा । फिफा विश्वकप २०२२ को आयोजक टोली कतार समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’ मा लगातार दोस्रो हारसँगै कतारको अगाडिको बाटो बन्द भएको हो । शुक्रबार राती सेनेगलसँग ३-१ गोलअन्तरले पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएको हो । यसअघि आइतबार भएको उद्घाटन खेलमा कतार इक्वेडरसँग २-० गोलअन्तरले पराजित भएको थियो ।
विश्वकप नै नखेलेको देशले विश्वकप आयोजना गर्नु तथा अरब क्षेत्रमा पहिलो विश्वकप आयोजकका रूपमा कतारले इतिहास बनाएको थियो । तर, सन् २०१० (दक्षिण अफ्रिका) पछि आयोजकका रूपमा समूह चरणबाटै बाहिरिने कतार दोस्रो राष्ट्र बन्यो । योसँगै कतारको पहिलो विश्वकपको यात्रा पनि ६ दिनमै सकिएको छ । अब कतारले प्रतिष्ठाका लागि मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

शुक्रबार राती कतारका लागि सेनेगलविरुद्ध ३-१ को हारमा मोहमद मुन्टारीले गोल गर्नुभयो । त्यसले उहाँलाई विश्वकपमा गोल गर्ने पहिलो कतारी खेलाडी बनायो । कतार फिफा विश्वकप इतिहासमा गोल गर्ने ७५औँ राष्ट्र पनि बन्यो ।

समूह ‘ए’ मा शुक्रबार भएको अर्को खेलमा नेदरल्याण्ड्स र इक्वेडरबीच १-१ को बराबरी भएपछि कतार समूह चरणबाट नै बाहिरिने निश्चित भएको हो । यस्तै, समूहको दुई खेल हार्ने कतार पहिलो आयोजक राष्ट्र बन्यो । कतार बिना कुनै अंक समूहको पुछारमा छ । नेदरल्याण्ड्स र इक्वेडरको चार/चार तथा सेनेगलले तीन अंक जोडेको छ । कतारले अब अन्तिम खेलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।

खेलको ४१औँ मिनेटमा डियाले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफको सुरुवातमै सेनेगलले फामारा देधिउको हेडरमा अग्रता दोब्बर पार्‍यो । ७८औँ मिनेटमा कतारका लागि मोहमद मुन्टारीले एक गोल फर्काउनुभएको थियो ।

८४औँ मिनेटमा बाम्बा डिएङले गोल गर्दै क्यामरुनको जित निश्चित गर्नुभयो । यस जितसँगै सेनेगलले नकआउट चरणमा पुग्ने सम्भावना जीवित राखेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?