अत्याधिक चिसोमा ६० लाख मानिस बिजुलीविहीन जीवन बिताउन बाध्य : जेलेन्स्की

Read Time = 4 mins

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यस हप्ता देशमा ठूलो मिसाइल हमलापछि ६० लाख युक्रेनी घरहरू बिजुलीविहीन रहेको बताउनुभएको छ । आफ्नो रात्रि सम्बोधनमा शुक्रबार उहाँले भन्नुभयो, ‘आज साँझसम्म, अधिकांश क्षेत्र र कीभमा ब्ल्याकआउट जारी छ ।’ विद्युत् कटौतीबाट प्रभावित घरको संख्या घटेको उहाँले बताउनुभयो । युक्रेनमा लाखौं मानिस कडा चिसोमा बिजुली, ग्यास र हिटरविना बाँच्न बाध्य छन् ।

एक भिडियो सम्बोधनमा बोल्दै राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो, ‘राजधानी र आसपासका क्षेत्रहरू आक्रमणबाट सबैभन्दा बढी प्रभावित भएका छन् । शहरका धेरै बासिन्दाले २० वा ३० घण्टा बिजुली पाएका छैनन् ।’

उहाँले राजधानीबाहेक सबैभन्दा बढी प्रभावित क्षेत्र ओडेसा, पश्चिममा ल्भिभ, भिनित्सा र निप्रोपेट्रोभस्क रहेको बताउनुभयो । जेलेन्स्कीले न्यूनतम विद्युत् प्रयोग हुने उपकरण प्रयोग गर्न सर्वसाधारणलाई अपिल गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘बिजुली छ भने समस्या सकियो भन्ने होइन । उच्च शक्ति खपत गर्ने उपकरणहरू एकै समयमा नचलाउनुहोस् ।’ उहाँले यो जाडोमा हिम्मत देखाउनुपर्ने र यो जाडो सधैं सम्झिने बताउनुभयो ।

रुसी आक्रमणका कारण सिंगो युक्रेनमा अन्धकार छाएको छ । रुसले पछिल्लो समय युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण केन्द्रित गरेपछि युक्रेनभरी अन्धकार भएको हो । विश्व स्वास्थ्य संगठनले उर्जाको अभावमा लाखौं युक्रेनी जनताको जीवन जोखिममा परेको बताएको छ । डब्ल्युएचओका क्षेत्रीय निर्देशक हृयान्स हेन्री क्लुजले अहिले नै एक करोड बढी युक्रेनीहरू ऊर्जा र खानेपानीको अभावमा बस्न बाध्य भएको भन्दै चिसो बढेसँगै युक्रेनी सर्वसाधारणको जीवन नै जोखिममा पर्ने चेतावनी दिनुभएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएइए)ले यसै हप्ताको सुरुमा क्षतिग्रस्त भएका चारवटा आणविक ऊर्जा केन्द्र पुनः सञ्चालनमा ल्याएको थियो । युक्रेनको इतिहासमा पहिलोपटक गत बुधबार सबै उर्जा केन्द्रहरूको उत्पादन बन्द भएको अधिकारीले जनाएका छन् ।

यसैबीच पश्चिमी देशहरूले युक्रेनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । नाटो प्रमुख जेन्स स्टोलटेनबर्गले युक्रेनमाथिको समर्थन जारी राख्ने बताउनुभएको छ । आगामी हप्ता रोमानियामा हुने विदेशमन्त्रिस्तरीय बैठकपछि युक्रेनलाई सैन्य तथा हवाई सहायता बढाउने उहाँको भनाइ छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?