मुसिकोट नगरपालिका र जापानको बुङ्गोओनो नगरबीच भगिनी सम्बन्धका लागि समझदारी

हिमालय टाइम्स
Read Time = 3 mins

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका र जापानको बुङ्गोओनो नगरबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको छ । मुसिकोट नगरपालिकाको तर्फबाट नगरप्रमुख जीवलाल खरेल जीवन र जापानको ओइता प्रान्तको बुङ्गोओनो सिटीका नगर प्रमुख फूमितोशि खवानोबीच भगिनी सम्बन्ध कायम गर्ने गरी तीन बुँदे मैत्रीपूर्ण समझदारी पत्रमा संयुक्त हस्ताक्षर गरिएको हो ।

समझदारी पत्रमा दुवै नगरले आ-आफ्नो देशको कानुनी व्यवस्था बमोजिम पारस्परिक समानताका आधारमा मैत्रीपूर्ण आदान-प्रदान र सहयोपूर्ण सम्बन्ध स्थापना गर्ने र कृषि लगायतका विभिन्न क्षेत्रका विषयहरुमा दुवै नगरले समानता र पारस्परिक लाभको सिद्धान्तमा रही सहयोगको आदान(प्रदान गर्ने र साझेदारी मार्फत काम गर्ने उल्लेख गरिएको छ ।

दुवै पक्षले सहयोग र आपसी आदान-प्रदान कार्यलाई प्रवर्द्धन गर्न सारभूत प्रयासहरु गर्ने र आवश्यक परेमा थप विषयवस्तु उपर छलफल गर्ने समझदारी भएको छ । समझदारी पत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै बुङ्गोओनो सिटीका नगर प्रमुख फूमितोशि खवानोले दुई देशबीच व्यवसायीक सीप आदान प्रदान, पर्यटन, उद्योगको सम्भाव्यता लगायतका विषयमा छलफल गरिने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा यहाँको जनशक्ति लान सकिने विषयमा पनि सोच्ने बताउनुभयो ।

मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले नेपाल र जापान दुई राष्ट्रका बीचमा निकै पुरानो दौत्य सम्बन्ध रहेको तथा हाल नेपालका विभिन्न ठाउँ र मुसिकोट नगरपालिकाबाट जापानमा गएका प्रवासीहरुबाट व्यवसायिक र पेशागत एवम् पारिवारिक सम्बन्ध रहेको भन्दै भगिनी सम्बन्धले झनै प्रगाढ सम्बन्ध बनाएको बताउनुभयो ।

उहाँले कृषि प्रविधि, उत्पादनमूलक उद्योगमा लगानी र आधुनिक सीपयुक्त जनशक्ति विकास र उत्पादनको बजार तथा शासन प्रसाशन सञ्चालनमा एकले अर्कालाई आफ्नो अनुभव र दक्षता दिने लिने कुराले दुई नगरको बीचमा माया र सद्भाव बढ्नुका साथै मुसिकोट नगरपालिकाको दक्षता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो समझदारीले आगामी दिनमा दुई देश र दुई नगरबीचमा बलियो र प्रगाढ सम्बन्ध बन्ने विश्वास व्यक्त गर्नुभयो । भगिनी सम्बन्धका लागि बुङ्गोओनो सिटीका नगर प्रमुख खावानो फूमितोसी सहित ५ सदस्यीय भ्रमणदलका सदस्यहरु मुसिकोट आउनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?