तरुणको केन्द्रीय भवन बनाउन भेटवालद्वारा २ लाख ५५ हजार सहयोग

हिमालय टाइम्स
Read Time = 2 mins

-मन्जु मैनाली

मकवानपुर । नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण केन्द्रीय सदस्य एवम् नेपाली कांग्रेसका युवा नेता राजेश भेटवालले २ लाख ५५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

भेटवालले गरेको सहयोग प्राप्त भएको विवरण सार्वजनिक गर्दै तरुण केन्द्रीय अध्यक्ष विद्वान गुरुङले धन्यवादसमेत दिनुभएको छ ।

तरुण दलको केन्द्रीय कार्यसमिति बैठकले तरुण दलको भवन बनाउने निर्णय गरेबमोजिम सोही निर्णयलाई सार्थकता दिन नगद सहयोग गरिएको भेटवालले बताउनुभयो ।

तरुण दलको चैत्र १५ र १६ गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । सोहीअनुसार आफ्नो तर्फबाट २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको भेटवालले बताउनुभयो ।

आरबी अर्वान विल्डर्श एण्ड सप्लायर्सका सञ्चालकसमेत रहेका भेटवालले भन्नुभयो, ‘तरुणको अब बन्न लागेको भवन हामी सबैको साझा भवन हो । आफ्नै कार्यालय भवन निर्माणमा सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ सहयोग गरेको हुँ । अन्य साथीहरुलाई पनि सहयोगका लागि अनुरोध गर्दछु । आगामी दिनमा पनि म सकेको सहयोग निरन्तर गरिरहने छु ।’

भेटवालसँगै क्रमश तरुणका केन्द्रीय सदस्यहरु काभ्रेका दिल लामा, तनहुँका मथुराकृष्ण श्रेष्ठ, नुवाकोटका सञ्जीव गुरुङ र रामेछापका योगेश श्रेष्ठले पनि जनही दुई लाख रुपैयाँ सहयोग गरेको केन्द्रीय अध्यक्ष गुरुङले बताउनुभयो ।

भवन निर्माणका लागि आवश्यक सहयोग जुट्ने क्रम जारी रहेको उहाँको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?