पाँचौँ सामाजिक सुरक्षा दिवस, योगदानकर्ता श्रमिकलाई थप सुविधा

Read Time = 6 mins

काठमाडौं । सामाजिक सुरक्षा कोषले कोषका योगदानकर्ताका लागि थप सुविधा व्यवस्था गरेको छ । पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आइतबार काठमाडांैमा आयोजित कार्यक्रममा कोषको कार्यविधि परिमार्जन गरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले पाइरहेको सेवा सुविधा थप गरी १० घातक रोगको उपचारमा १० लाख रुपैयाँ दिने व्यवस्था गरिएको कोषले जनाएको छ ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सामाजिक योगदानमा आधारित सुरक्षा कोषमा श्रीमान्ले योगदान गर्दा श्रीमतीले पनि श्रीमान्सरह उपचार खर्च पाउने व्यवस्था गरिएको बताउनुभयो । कोषको औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत् थप श्रमिकमैत्री बनाउने गरी कोष अघि बढेको उहाँको भनाइ छ ।

ज्ञवालीले कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा बढाउने काम भइरहेको भन्दै कोष सञ्चालक समिति बैठकले अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकका लागि सामाजिक सुरक्षा योजना नीति मन्त्रालयमा पठाएकाले चाँडै स्वीकृत हुने तयारीमा रहेको बताउनुभयो ।

उक्त नीति स्वीकृत भएपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने ज्ञवालीले जानकारी दिनुभयो । कोषले वैदेशिक रोजगारमा जाने श्रमिकको लागि कार्यविधि बनाएको छ । कोषको औपचारिक क्षेत्रको तेस्रो संशोधनमार्फत् थप श्रमिकमैत्री बनाएर कोष अघि बढेको ज्ञवालीको भनाइ छ ।

अबदेखि श्रीमान्ले कोषमा योगदान गर्दा श्रीमतीले पनि श्रीमान्सरह उपचार खर्च पाउनेछन् भने श्रीमतीले कोषमा योगदान गर्दा श्रीमान्ले पनि सुविधा पाउनेछन् ।

कार्यकारी निर्देशक ज्ञवालीका अनुसार आगामी पुस ५ गतेपछि श्रीमान्ले सामाजिक योगदानमा आधारित सुरक्षा कोषमा योगदान गर्दा श्रीमतीले श्रीमान्सरह उपचार खर्च पाउँछन् भने श्रीमतीले कोषमा योगदान गर्दा श्रीमान्ले पनि सुविधा पाउनेछन् ।

उहाँले भन्नुभयो, ‘अहिले कोषले सामाजिक सुरक्षाको दायरा बढाउने काम गरिरहेको छ । हाल बसेको कोषको सञ्चालक समितिको बैठकले अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयमा पठाइएको छ । अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकका निम्ति सामाजिक सुरक्षा योजना नीति मन्त्रालयले पारित गर्छ । नीति स्वीकृत भएपछि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिक पनि कोषमा आबद्ध हुनेछन् ।’

गैरआवासीय नेपाली संघ(एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन तत्काल पहल गरिनुपर्ने बताउनुभयो । उहाँले एनआरएनएले स्थापनाकालदेखि नै प्राथमिकतासाथ वैदेशिक रोजगारी क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न नेपाल सरकारलगायत सरोकारवालासँग समन्वय र सहकार्य गर्दै आएको स्मरण गराउँदै विदेशमा रहेका श्रमिकलाई सुरक्षा कोषमा समेट्न आग्रह गर्नुभएको हो । विदेशमा रहेका श्रमिकको श्रमको ठूलो हिस्सा नेपालमा रेमिट्यान्समार्फत् भित्रिरहेकाले उनीहरूलाई देशप्रति थप जिम्मेवार र अपनत्व महसुस गराउन पनि कोषमा समेटिनुपर्ने उहाँको भनाइ छ ।

जीवनको उर्वर समय र उमेरमा वैदेशिक रोजगार गएका तर त्यही वैदेशिक रोजगारका कारण घाइते वा अंगभंग भएर फर्किएकाहरूको जीवनयापनका लागि सामाजिक सुरक्षा अपरिहार्य भएको उहाँले बताउनुभयो । साथै अध्यक्ष थापाले नेपाली कामदरलाई वैदेशिक रोजगारी जानुअघि अनिवार्यरूपमा सीपमूलक तालिम र गन्तव्य मुलुकको भाषा र रहनसहनबारे जानकारी दिन सातवटै प्रदेशमा सीप तालिम केन्द्र स्थापनाका लागि पनि आग्रह गर्नुभयो ।

कोषका अनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन् । हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ, जसमध्ये दुई अर्ब ५७ करोड रकम औषधि उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता, अवकाश दाबीलगायतका शीर्षकमा भुक्तानी गरिएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?