यु-१९ : वागमतीको लगातार चौथो जित

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । कर्णाली प्रदेशमाथि सात विकेटको जित निकालेको वागमती प्रदेशले राजधानीमा जारी वाई वाई यु-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा मंगलवार सम्पन्न खेलमा कर्णाली प्रदेशले ३६.२ ओभरमा सबै विकेट गुमाएर दिएको १३१ रनको लक्ष्य वागमती प्रदेशले तीन विकेटको क्षतिमा पूरा गरेको हो । यससँगै वागमतीले जारी प्रतियोगितामा अपराजित यात्रालाई चौथो खेलमा पनि निरन्तरता दिएको हो ।

यस्तै सुदूरपश्चिम प्रदेशले पनि चारै खेलमा सुखद् नतिजा निकालेको थियो । मध्यम लक्ष्य पछ्याएको वागमतीका लागि लुक्की कठायतले अर्धशतकीय पारी खेल्नुभयो । आठ चौका प्रहार गर्दा उहाँ ५१ रनमा अविजित रहनुभयो । यस्तै अशोक पोडेलले पनि अर्धशतकीय इनिङ खेल्नुभयो । ६४ बलको सामना गर्नुभएका पौडेलले सात चौका र एक छक्का हिर्काउनुभएको थियो । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको स्कोर गर्न सकेनन् । बलिङतर्फ कर्णालीका अनुज चनारा, युनिस सिंह र आवास साहले समान एक-एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीका लागि कप्तान विपिन रावलले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ९२ बल खेल्दा नौ चौकाको सहयोगमा व्यक्तिगत ६८ रनको योगदान गर्नुभएको थियो । यस्तै अर्का ओपनर मनिस थापाले २५ रन जोड्दा अनिरुद्ध कावरले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको पारी खेल्न सक्नुभएन । बलिङतर्फ ७.२ ओभर बलिङ गर्नुभएका सक्रिय कार्कीले दुई मेडन राख्दै २३ रन खर्चिएर सर्वाधिक पाँच विकेट निकाल्न सफल हुनुभयो । अहम्मद राजाले तीन विकेट हात पार्दा ओमकार यादव र अभिषेक कोईरालाले एक-एक विकेट लिनुभयो ।

यस जितसँगै वागमतीले चार खेलबाट आठ अंक जोडेको छ । कर्णालको समान चार खेलबाट दुई अंक मात्र छ । सुदूरपश्चिमसँग समान आठ अंक बनाएको वागमती तालिकाको दोस्रो स्थानमा छ ।

प्रतियोगिता अन्तर्गत मूलपानी मैदानमा सम्पन्न खेलमा मधेस प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश नम्बर १ ले १९.२ ओभरमा बिना विकेटको क्षतिमा भेट्टायो । प्रदेश १ का लागि सोनी अन्सरीले ४५ र शुभन गहतराजले २४ रनको अविजित पारी खेल्नुभयो । ओसिलो मैदानका कारण ४५ ओभरमा घटाएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले ३१.३ ओभरमा सबै विकेट गुमाएर मात्र ७० रन जोडेको थियो ।

ओपनर मयन यादवले १९, दाब्लु मलिकले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । कसिलो बलिङ गरेको प्रदेश १ का लागि दिपेश कंडेलले र विपिन महतोले समान तीन–तीन विकेट लिनुभयो भने सन्देश भट्टराईको नाममा दुई विकेट रह्यो । अश्विन महतो र आशिष मगरले एक-एक विकेट हात पार्नुभयो ।

यससँगै प्रदेश नम्बर १ चार खेलबाट दोस्रो जित निकाल्दै तालिकामा चार अंक बनाएको छ भने फराकिलो नतिजा सुम्पिएको मधेस प्रदेशको यो लगातार तेस्रो हार हो ।

प्रतियोगितामा बुधवार पनि दुई खेल हुनेछन् । कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेशले प्रदेश १ सँग प्रतिष्पर्धा गर्दा मूलपानीमा गण्डकी र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?