पूर्वमन्त्री यादवमाथि खुकुरी प्रहार प्रकरण : कांग्रेस र एमालेद्वारा सरकारको जवाफ माग

घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि बुधबार भएको सांघातिक आक्रमणको विषयलाई लिएर सत्ता र प्रतिपक्ष दलका सांसदहरूले सदनमा सरकारको चर्को आलोचना गरेका छन् । कांग्रेसले सहमहामन्त्री यादवमाथि सांघातिक आक्रमण भएको विषयमा गृहमन्त्रीसँग जवाफ मागेको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसका महामन्त्रीसमेत रहनुभएका सांसद गगनकुमार थापाले घटनामा संलग्नमाथि गहिरो अनुसन्धान गर्न माग गर्नुभएको छ । सहमहामन्त्री यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा नुवाकोट घर भई बालाजु बस्दै आएका श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट घाइते यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उहाँको टाउकोमा चोट छ ।

गृहमन्त्रीलाई थापाको प्रश्न : ‘काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ?’
सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको आरोप लगाउनुभएको छ । महामन्त्री थापाले भन्नुभयो, ‘सन्काले हान्यो भनेर यसलाई थामथुम पार्न खोजिँदै छ । नेपाली कांग्रेसको तर्फबाट सरकारलाई सचेत गराउन चाहन्छु । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । या विषयको गहिरो अनुसन्धान भएर सबै पक्षहरूको बारेमा अनुसन्धान होस् ।’

शान्ति सुरक्षाको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै महामन्त्री थापाले भन्नुभयो, ‘गृहमन्त्रीलाई सोध्न चाहन्छु–के अब हामीले काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ कोही खुकुरी हान्छ । हामी एक्लै हिँड्न हुने हो कि नहुने हो ? प्रधानमन्त्री र गृहमन्त्रीले ठाउँठाउँमा यसलाई छाडिने छैन भन्ने जस्ता शब्दहरू प्रयोग गरिरहनु भएको छ । म आग्रह गर्न चाहन्छु । जिम्मा लिएकाले धेरै बोल्ने होइन, काम गर्ने हो । प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नुपर्छ कि पर्दैन ?’ यस्तै, सांसद रामहरि खतिवडाले सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्न माग गर्दै भन्नुभयो, ‘नेतामाथि खुकुरी गर्नेलाई कानुनी कारबाही हुन्छ कि हुँदैन गृहमन्त्रीले सदनमा जानकारी दिनुप¥यो ।’

एमालेले माग्यो संसद्मा प्रधानमन्त्रीको जवाफ
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको घटना सम्बन्धमा संसद्मा प्रधानमन्त्रीको जवाफ माग गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले राजधानीमा दिनदाहाडै कांग्रेस सहमहामन्त्री यादवमाथि भएको आक्रमणको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने जिकिर गर्दै भन्नुभयो, ‘कांग्रेस सहमहामन्त्रीमाथि राजधानीमा दिनदाहाडै सांघातिक हमला गरेकोमा एमालेको तर्फबाट भत्र्सना गर्दछु, यसको प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ जवाफ दिनुपर्छ । सत्तापक्षका सहमहामन्त्रीमाथि भएको घटनालाई सरकारले गम्भीर रूपमा लिएर जवाफ दिनुपर्छ ।’ सचेतक बर्तौलाले हमला गर्ने अपराधीलाई प्रोत्साहन गर्नेगरी समाजिक सञ्जालमा भएको कमेन्टप्रति पनि आपत्ति जनाउनुभयो ।

यादवमाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्छ : लेखक
सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले घटनाबारे तत्काल संसद्लाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराउनुभयो । पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सो सांघातिक आक्रमण भएको जिकिर गर्दै लेखकले भन्नुभयो, ‘यो आक्रमण हेर्दाखेरी प्रष्ट देखिन्छ–आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै उद्देश्य हो । र, यो ज्यान मार्नकै लागि गरिएको प्रहार अन्यन्तै क्रूरतापूर्ण, सांघातिक र बर्बर खालको जुन प्रहार भएको छ । नेपाल सरकारलाई यसमा पक्राउ परेका दोषीलगायत अरू पनि मानिसहरूको कहीँकतै संलग्नता छ भने सत्यतथ्य छानविन गरी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस् भन्ने नेपाल सरकारसँग माग गर्न चाहन्छु ।’ प्रमुख सचेतक लेखकले कांग्रेस, एमाले र माओवादीविरुद्ध गलत भाष्य निर्माण गरेर अराजकता सिर्जना गर्न खोजेको टिप्पणीसमेत गर्नुभयो । लोकतन्त्रमा कमी कमजोरी छन् भने पनि लोकतान्त्रिक व्यवस्थाले त्यसलाई आफैँ ठिक गरेर जाने ल्याकत राख्ने जिकिर गर्दै लेखकले भन्नुभयो, ‘यो व्यवस्थामाथि आक्रमण भइरहेको छ । कांग्रेसलाई खुकुरी प्रहार गरेर समाप्त पार्छु भन्ने कसैले नसोचे हुन्छ । कांग्रेस, एमाले, माओवादीलगायत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर दलहरूलाई पुराना हुन् खराब छन् यो मुलुकलाई निकास दिन सक्दैनन् । भन्ने कृत्रिम भाष्य खडा गरेर लोकतन्त्र समाप्त पार्ने कसैको सपना छ भने त्यो दिवा सपना हुनेछ ।’

आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न नभएको स्पष्टीकरण
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद धवलशमशेर राणाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपामा संलग्न नभएको स्पष्टीकरण दिनुभएको छ । राणाले रिपोर्टस क्लबको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा यादवमाथि आक्रमण भएको आफ्नै आँखाले देखेको भन्दै सो व्यक्तिलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गर्नुभयो । राप्रपा हिंसाको राजनीतिमा विश्वास नगर्ने स्पष्ट पार्दै राणाले भन्नुभयो, ‘राप्रपा हिंसाको राजनीतिप्रति कहिल्यै विश्वास गर्दैन । यो विषय प्रष्टै होस् कि त्यो आक्रमण गर्ने व्यक्ति हाम्रो पार्टीमा कुनै प्रकारले संलग्न थिएन । र उसमाथि हुनुपर्ने कारबाही हुनुपर्छ ।’

कान्ति अस्पताल बालिका मृत्यु प्रकरणबारे सरकारको जवाफ माग
कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयमा प्रश्न उठाउँदै सांसदहरूले सरकारको जवाफ मागेका छन् । उपचारका लागि लगिएकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको सोमबार निधन भएको थियो । बिरामी भएर छट्पटाइरहनु भएकी बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उहाँको इमर्जेन्सी कक्षमै निधन भएको थियो । सत्तारूढ दल कांग्रेसका सांसद गगन थापाले के कारणले बालिकाले उपचार नपाएर मृत्यु भएको हो भन्नेबारे सरकारको जवाफ माग्नुभएको छ । उहाँले यस्तो अवस्था किन आयो र अस्पतालको व्यवस्थापनबारे पनि सोधपुछ गर्नुपर्ने बताउनुभयो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले यस घटनाबारे स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभएको थियो । घटनामा संलग्नमाथि कारबाही र पीडितलाई न्याय दिनुपर्ने उहाँको माग छ । त्यस्तै, रास्वपाकी सांसद चन्दा कार्कीले यो घटना लज्जास्पद रहेकाले यसमा दोषीहरूलाई कारबाहीको माग गर्नुभयो । उहाँले अस्पतालमा पर्याप्त चिकित्सकहरू नहुँदा उपचार नपाउने अवस्था आएको जिकिर गर्दै चिकित्सकहरूको पर्याप्त व्यवस्था गर्न मागसमेत गर्नुभयो ।

सरकारलाई सभामुखको रुलिङ
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले यी दुई घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यस आधारमा घटनाबारे जानकारी गराउन सरकारलाई निर्देश गर्दै सभामुख घिमिरेले भन्नुभयो, ‘आजको आकस्मिक, शून्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एकजना पाँच वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका सहमहामन्त्री श्री महेन्द्र यादवमाथि भएको आक्रमणका विषयमा गम्भीर कुराहरू उठेका छन् । यी विषयमा जानकारी गराउन म सरकारलाई निर्देश गर्छु ।’ सांसदहरूले उपचारको अभावमा बालिकाको मृत्यु भएको सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गरेका थिए । उपचारका लागि कान्तिबाल अस्पतालमा लगिएकी पाँच वर्षीय बालिका रेजिशा गोपालीको निधन भएको थियो । खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको दाबी गरिएको छ ।

तरुण दलद्वारा गृहमन्त्रीको राजीनामा माग
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो भएको भेलामा अध्यक्ष विद्वान् गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने बताउनुभएको हो । तरुण दलका पूर्वअध्यक्षसमेत रहनुभएका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार दिउँसो भृकुटीमण्डपमा खुकुरी प्रहार भएको विषयलाई लिएर तरुण दलले भेला राखेको थियो । सुरक्षा दिन नसकेको भन्दै तरुण दलले गृहमन्त्रीको राजीनामा मागेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?