डा. नारायणप्रसाद निरौला
संसारी विषयवस्तु केवल साधन हुन् । साध्य भिन्नै छ । साधनलाई नै साध्य बनाउनु हाम्रो दिनचर्या बनेको छ । जुन हाम्रा उपनिषद्ले दिएको ज्ञानको विपरीत हो । हामी आफ्नो र अर्काकोमा भेद देख्छौँ । आफ्नो राम्रो होस् र अरूको नराम्रो होस् भन्ने सोच्छौँ । कसैलाई बिगारेर आफू राम्रो बन्नु गलत हो भनीउ पनिषद्ले ज्ञान गराएका छन् । छोटो चित्त भएकाले मात्र यस्तो कार्य गर्छन् । मानव उदार चित्त भएको हुनुपर्दछ भनी बताइएको छ :
‘अयं निजः परो वेति गणना लघुचेतसाम् ।
उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।।’ (महोपनिषद्,४।७१)
अर्थात् सानो चित्त भएका व्यक्तिले यो मेरो र यो अर्काको भनी भेदभाव गर्दछन् । तर, उदार हृदय भएकाले पृथ्वीका सबैलाई आफन्त (बन्धु) जस्तै व्यवहार गर्दछन् । वसुधा भनेको पृथ्वी हो । कुटुम्बकम् भनेको आफन्त । पृथ्वीका सबैलाई आफन्त मान्ने विश्वबन्धुत्वको अवधारण नै वसुधैव कुटुम्बकम् हो । समग्र प्राणीमा समभाव राख्न सक्नुपर्दछ । यो लोकमा सबै समान छन् । सबैैको समान अस्तित्वको स्वीकार गर्नुपर्छ भन्ने सिद्धान्त नै वसुधैव कुटुम्बकम् हो ।
सहकार्यको भावलाई पनि उपनिषद्ले स्वीकारेका छन् : ‘सह नाववतु सह नौ भुनक्तु, सह वीर्यं करवावहै, तेजस्विनावधीतमस्तु माविद्विषावहै’ अर्थात् हामी सबै साथसाथै हाँस्न खेल्न र रमाउन सक्नुपर्दछ । सबैलाई आफ्नै जस्तो देख्न सक्नुपर्दछ । एकले अर्कामा द्वेषको भाव नराखी साथ साथै सहकार्य गर्नुपर्दछ भनी हाम्रा महर्षिले उपदेश दिएका छन् । आपसमा मित्रताको भावले मात्र आफ्नो र यो संसारको कल्याण हुन्छ ।
भौतिक रगतले कोरिएका सीमारेखाभन्दा मानव माथि उठ्न सक्नुपर्दछ । किनकि भौतिक सीमा कोर्नु भनेको विभेदको पर्खाल खडा गर्नु अझ भनौँ अशान्तिको बिउ रोप्नु हो । यो धराधाम न कसैको थियो, न कसैको छ र न कसैको मात्र हुनेछ । यो सबैको हो ।
यो संसारमा कसैको निजी केही पनि छैन । आफ्नो हो भन्नु केवल भ्रम मात्र हो । किनिक न हामीले चाहेर हामी जन्मेका छौँ नत मृत्यु नै हाम्रा हातमा छ । यसैले वास्तविकता हाम्रो वसमा छैन । यसैले सर्वत्र समभावको जागृति हुनपर्दछ । मित्रताको भाव रहनुपर्दछ । बन्धुत्वको सहकार्यले नै हाम्रो कल्याण रहने कुरा नै वास्तवमा हाम्रो मार्गदर्शक हुनु आवश्यक छ । जबसम्म हामी समदर्शी बन्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ भन्ने शास्त्रको निचोड पाइन्छ । स्वार्थ एवं अहंको प्रदर्शन गर्ने व्यक्ति सानो चित्तका हुन् आफ्नो र अर्काकोमा भेद देख्दछन् । तर, उदार चित्त भएकाले सबैलाई समान देख्दछन् र देख्नुपर्दछ भनी बताइएको छ ।
संसारमा ममत्वको वरण भनेको अहंकारको प्रदर्शन हो । जबसम्म हामी मेरोको भावनाबाट माथि उठ्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ । त्यसैले त उपनिषद्ले वसुधैव कुटुम्बकम्को व्यवहार गर्नुपर्दछ भनी आदेश गरेका छन् । पृथ्वीका सबै सबैका बन्धु समान हुन् । कोही आफ्नो र कोही परका छैनन् । सबैलाई समान व्यवहार गर्नुपर्दछ । जसले सबै समान हुन् भन्ने उदार चित्तको प्रदर्शन गर्न सक्छन् ती व्यक्ति नै महान् हुन् । जबसम्म यस्तो ज्ञान प्राप्त हुँदैन तबसम्म यो संसारमा अस्थिरता रहिरहन्छ । हत्यासिंहा जस्ता कार्य चलिरहन्छन् ।
भौतिक रगतले कोरिएका सीमारेखाभन्दा मानवमाथि उठ्न सक्नुपर्दछ । किनकि भौतिक सीमा कोर्नु भनेको विभेदको पर्खाल खडा गर्नु अझ भनौँ अशान्तिको बिउ रोप्नु हो । यो धराधाम न कसैको थियो, न कसैको छ र न कसैको मात्र हुनेछ । यो सबैको हो । मेरो वा हाम्रो भन्नु दुःखको कारण हो । संसारमा युद्धका विभीषिका यही अहंभावका कारण छेडिएका छन् । महाभारत, ट्रय यसैका ज्वलन्त उदाहरण हुन् । विश्वयुद्ध यही अहंकारले मच्चिएका थिए । यसैले अहंकारलाई त्यागी सुख र शान्तिको कामना गर्नेले विश्वबन्धुत्वको भावना राख्न सक्नुपर्दछ ।
हम्रो जीवनको लक्ष सर्वकल्याण हो । सबैको कल्याण चाहने व्यक्तिमा सर्वप्रथम विनयभाव रहनुपर्दछ । जसले व्यक्तिमा पात्रताको सिर्जना हुन्छ । पात्रता नभई धन एवं सुख पनि मिल्न सक्दैन । यसैले समदर्शी पात्रतामा नवजीवनको परं लक्ष्य हो । यसैले सर्वकल्याण मिल्छ भनी शास्त्रमा बताइएको छ । जसले कर्ममा अकर्म र अकर्ममा कर्म देख्छन् ती व्यक्ति नै बुद्धिमान् हुन् । यस्तो भावले व्यक्तिलाई महान् बनाउँछ भनी गीतामा बताइएको छ :
‘कर्मण्यकर्म यःपश्येदकर्मणि च कर्म यः ।
स बुद्धिमान् मनुष्येषु स युक्तः कृत्स्नकर्मकृत् ।।’ (श्रीमद्भगवद्गीता, ४।१८)
कर्मभित्रको अकर्म देख्न सक्ने विवेकरूपी आँखा हुनु वास्तवमै आवश्यक छ । समालोचनात्मक दृष्टि सर्वत्र राख्नुपर्छ । राम्रोभित्रको नराम्रो अनि नरोम्रोभित्रको राम्रो देख्न सक्नु नै वसुधैव कुटुम्बकम्को मर्म बुझ्न सक्नु हो । राम्राको प्रशंसा मात्र अनि नराम्रा कार्यको आलोचना मात्र गर्ने होइन । दुवै कार्यको विवेकपूर्ण समालोचना नै बुद्धिमानी र कर्मयोगी बन्ने लक्षण हो । जब दृष्टिमा स्वार्थ रहन्छ अनि युद्धको आरम्भ हुन्छ । युद्ध केवल विनाशको बाटोमात्र हो । महाभारत पनि यही भएको हो । धृतराष्ट्रले समभाव देखाउन सकेनन् । वसुधैव कुटुम्बकम्को भावनालाई लत्याए । योग्य व्यक्तिभन्दा पनि आफ्नो व्यक्तिलाई अघि सारे ।
परिणम युद्ध भयो । सत्य युधिष्ठिरको पक्षमा थियो । धर्म युधिष्ठिका साथ थियो । समदर्शी विवेक युधिष्ठिरका पक्षमा भएकाले दुर्योधनको हार भयो र युधिष्ठिरको जित । सत्यको मार्ग वसुधैव कुटुम्बकम्को भाव हो । दुर्योधनले हामी सबै समान हौँ भन्ने भावना राख्न सकेका भए अस्थिरता उत्पन्न हुनसक्ने थिएन । केवल पाँच गाउँ माग्दा पनि दिन नसक्नु युद्धको आहृवान हो र विनाशको मार्ग अवलम्बन हो । सत्यको मार्ग भनेकै धर्मको बाटो हो । स्वकर्तव्यको पालना हो । सत्यमा नै संसार अडिएको कुरा वाल्मीकिले पनि यसरी बताएका छन् :
‘सत्यमेवेश्वरो लोके सत्ये धर्मः सदाश्रितः ।
सत्यमूलनि सर्वाणि सत्यान्नास्ति परं पदम् ।।’ (वाल्मीकि)
सत्य नै ईश्वर हो । आफूभित्रको ईश्वरलाई थाहा नपाई अन्यत्र भौँतारिनु गलत हो । किनकि आफ्नो सत्यतामा नै ईश्वरको वास रहेको हुन्छ । अझ भनौँ वास्तवमा सत्य नै ईश्वर हो । यही सत्यमा नै धर्म पनि अडिएको छ । सत्य नहुने हो भने धर्म पनि रहन असम्भव छ । सत्य नै सृष्टिको कारक हो । समभावको समीकरण, बसुधैव कुटुम्बकम्को समीकरण सत्यमा नै अडिएको छ । जुन हाम्रो परं लक्ष्य हो । सत्यको मार्गमा लाग्नु नै जीवनको उच्चतम उपलब्धि हो । किनिकि भौतिक दुःखको कारण हो भने अध्यात्म अनन्त सुख । क्षणिक सुख भौतिक हो भने अनन्त सुखको कारण अध्यात्म हो । यसैले अनन्त सुख प्राप्तिका निम्ति वसुधैव कुटुम्बकम्को भाव हामीमा रहन सक्नुपर्दछ ।
भौतिक दुःखको कारण हो भने अध्यात्म अनन्त सुख । क्षणिक सुख भौतिक हो भने अनन्त सुखको कारण अध्यात्म हो । यसैले अनन्त सुख प्राप्तिका निम्ति वसुधैव कुटुम्बकम्को भाव हामीमा रहन सक्नुपर्दछ ।
वसुधैव कुटुम्बकम् अर्थात् विश्वबन्धुत्वको भावना हाम्रो मूलमन्त्र हो । यो नै मानव जीवनयापनको सर्वोत्तम मार्ग हो । जबसम्म हामी यो मार्गमा हिँड्न सक्दैनौँ संसारमा अस्थिरता र अशान्तिका चक्रव्यूह चलिरहन्छन् । उही ट्रय, उही महाभारत युगौँ युगसम्म दोरिन सक्छन् । सार्थक जीवनका निम्ति सार्वत्रिक विश्वबन्धुत्वको भावना आवश्यक छ । किनकि हामी सबै एक आपसमा समान छौँ । हाम्रा कोही पनि शत्रु छैनन् । हामी सबैको अस्तित्व समान छ । हाम्रो जीवनको उद्देश्य र गन्तव्य समान छ ।
यसैले आपसमा द्वेषको भावना राख्नु आफैँलाई कमजोर तुल्याउनु हो, आफ्नै विनाशको बाटो खन्नु हो । जसरी दुर्योधन आफ्नै जालोमा फसे । यसैले असल जीवनयापनका सूत्र हामीलाई हाम्रा ऋषिले प्रदान गरेका छन् । बुद्ध र जनक हाम्रा अग्रज हुन् । हामी आफ्नै दर्शमा उभिएका छौँ । अथक तपस्या गरेर हाम्रा ऋषिमुनिहरूले दिएका ज्ञान ओखती समान छन् । यसैले सर्वकल्याणका निम्ति विशवबन्धुत्वको भावना सर्वत्र जागृत हुनु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच