माया लुहारका हत्या आरोपी कोली सार्वजनिक

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ बर्षीया माया लुहारका हत्या आरोपी भरतराम कोलीलाई प्रहरीले सार्वजनिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मलेन गरी शिवनाथ गाउँपालिका-४ सोल्पलाका सशस्त्र प्रहरीका जवानसमेत रहेका कोलीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । भरतराम कोली र मायाबीच प्रेम सम्बन्ध रहेको र भरतरामले भेटका क्रममा अन्यलाई पनि प्रेम गरेको लाल्छना लगाउँदै आफूसँगै भएको चक्कु प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

भरतराम कोली सशस्त्र प्रहरी बल नेपाल हूल तथा दंगा व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत थिए । उनी मंसिर ७ गते विदामा घर आएको खुलेको छ । प्रारम्भिक अनुसन्धानबाट आरोपी कोलीले ११ गते नै मायाको मोवाइल खोसेर घर लगेको र मोबाइलको निगरानी गरी १३ गते मोबाइल लिनको लागि शिवनाथ-६ को नेपाल टेलिकमको टावर नजिकै बोलाएको खुलेको उहाँले बताउनुभयो । मायाको हत्यापछि उनीसंगै रहेकी नेहाले पनि घटनाबारे अन्यलाई जानकारी गराउने डरले नेहालाई पनि हत्या गर्ने प्रयासले घाँटीमा छुरा प्रहार गरेको र नेहाले भागेर ज्यान जोगाएको बताइएको छ । घाइते नेहाको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ ।

१३ गते लुगा सिलाउन भन्दै माया आफ्नै भदै नेहा लुहारसँग कुलाउ बजार जानुभएको थियो । साँझ अबेरसम्म पनि घर नफर्किएपछि दुबैको खोजी भएको थियो । खोजी गर्दा भोलिपल्ट १४ गते बुधबार नेहा घाइते अवस्थामा भेटिनुभएको थियो भने मायाको हत्या गरिएको अवस्थामा टेलिकमको टावर नजिकै शव फेला परेको थियो । मृतक मायाका दाई टिंकुराम लुहारले जिल्ला प्रहरी कार्यालय बैतडीमा मंसिर १५ गते बिहीबार किटान जाहेरी दिनुभएको थियो । कोलीलाई कञ्चनपुर प्रहरीले आइतबार बिहान १० बजे महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो । उनलाई आइतबार राती नै बैतडी ल्याइएको हो ।

मुलुकी अपराध संहिता, २०७४को परिच्छेद १२ को दफा १७७(ज्यान मार्ने नियतले काम गर्न नहुने) र परिच्छेद १२ को १८३(ज्यान मार्ने उद्योग गर्न नहुने) मुद्धा शीर्षकमा सोमबार जिल्ला अदातलाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएका प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?