चिसो बढ्दा सीमा प्रहरी चौकी सिमकोट फिर्ता

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेको दुईवटा सीमा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको छ । नाम्खा गाउँपालिका-५ को हिल्सा र वडा-६ लिमीको सुनखानीमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली चिसोले सिमकोट फिर्ता भएको हो ।

यस क्षेत्रमा चिसो अत्यधिक बढ्दै गएपछि सीमा सुरक्षाका लागि खटिएका प्रहरी जिल्लामा फिर्ता भएको प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । त्यहाँ हाल तापक्रम माइनसमा झरेको छ । चिसो बढ्नुका साथै यी दुवै स्थानमा मानिसको आउजाउ कम हुने भएको कारण प्रहरी चौकी सारिएको हो ।

कुनै पनि घटना नहुने र हिउँदमा प्रहरीलाई रासन पानीको व्यवस्था गर्न पनि समस्या हुने भएका कारण बर्र्सेनि मंसिर महिनापछि चौकीमा खटिएका प्रहरीलाई सार्ने गरिँदै आएको छ । चौकीमा प्रहरी फिर्ता आएपछि चौकीमा ताला लगाएर बन्द गरिएको छ ।

बर्सेनि जेठ महिनामा सीमा सुरक्षा प्रहरी चौकीमा बस्ने गरे पनि चिसो सुरु भएसँगै जिल्ला फिर्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दीपक मल्लले बताउनुभयो । जिल्ला फर्किएको प्रहरी चौकी जेठ महिनामा मात्रै सुनखानी फर्किने गर्दछ ।

हिल्सामा १३ जना र सुनखानीमा ११ जना प्रहरी कार्यरत रहँदै आएका थिए । अघिल्ला वर्षहरूमा हिल्सा प्रहरी चौकीका प्रहरीलाई नाम्खा गाउँपालिका–५ कै मुचु प्रहरी चौकीमा हिल्साबाट फिर्ता बोलाएर राख्ने गरिएको भए पनि यसवर्ष जिल्लामा बोलाइएको छ । दुवै प्रहरी चौकीका प्रहरीहरू जेठ महिनासम्म जिल्लामै बस्ने र त्यसपछि मात्र चौकीमा फिर्ता हुने बताइएको छ ।

यस्तै, चीनसँग सीमा जोडिएको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) सीमा सुरक्षा चौकीको टोली चिसो बढे पनि सीमा सुरक्षामै खटिएका छन् । सीमा सुरक्षामा खटिएको प्रहरी चौकी हिल्साबाट सदरमुकाम सिमकोट सारिए पनि सशस्त्र प्रहरीको टोली भने हिल्सामै रहँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?