महाकाली प्रकरण : ‘विवादित’ तटबन्धन निर्माणबाट पछि हट्यो भारत

निर्माणाधीन संरचना हटाउने सहमति

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । दार्चुलाको महाकाली नदीमा भारतले निर्माण गरिरहेको तटबन्धको काम तत्कालका लागि रोकेको छ । स्थानीयवासीको विरोधपछि नदीको बहाव नेपालतिर धकेल्ने विवादित संरचना निर्माणको काम रोक्न भारत सहमत भएको हो । दुवै देशका अधिकारीको छलफलमा भारतीय पक्ष अहिलेलाई संरचना निर्माणको काम रोक्न तयार भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार नेपाल र भारतका सुरक्षा अधिकारीहरूको छलफलमा भारत आफ्नो अघिल्लो कदमबाट पछि हट्न सहमत भएको हो । तटबन्ध विवादलाई निकास दिन नेपाल-भारत समन्वय समितिको बैठक भारतमै बसेको थियो । बैठकमा भारतीय सुरक्षा अधिकारीहरूले भइरहेको कामलाई निरन्तरता दिन नेपाली सुरक्षा अधिकारीसँग आग्रह गरेका थिए । तर, नेपाली सुरक्षा अधिकारीहरूले उक्त निर्माणले नेपाली भूमिमा प्रभाव पर्ने भन्दै काम रोक्नुपर्ने अडान राखेपछि भारत निर्माण रोक्न सहमत भएको उहाँले बताउनुभयो ।

महाकालीको बहाव नेपालतिर धकेल्ने गरी गरिएका संरचनाहरू हटाउन पनि भारत सहमत भएको उहाँले बताउनुभयो । छलफलमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल दार्चुलाका गणपति डम्मर विष्ट, प्रहरी प्रमुख तर्कराज पाण्डे, महाकाली नदी नियन्त्रण आयोजनाका निमित्त प्रमुख करन सिंह धामी तथा भारतको तर्फबाट डिएम रिना जोशी, एसडिएम दिवेश शासनीको उपस्थिति थियो ।

आइतबार महाकाली नदीको धार परिवर्तन हुने गरेर भारतले एकलौटी तटबन्ध निर्माण गरेपछि दार्चुला खलंगाका तनाव उत्पन्न भएको थियो । विवादले उग्ररूप लिएपछि सीमामा नेपाली र भारतीय पक्षबीच ढुंगा हानाहानसमेत भएको हो । दोहोरो झडपमा चारजना घाइते भएका थिए । यस्तै, मंगलबार नेपाल सरकारले भारतलाई कूटनीतिक नोटसमेत पठाएको थियो ।

सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने पुलको दक्षिण र उत्तरतर्फको भागमा आइतबार भारतीय पक्षले पानीको बहाव नेपालतर्फ फर्काएर तटबन्ध बनाउन थालेको थियो । पुलको उत्तरतर्फ पर्ने क्षेत्रमा तटबन्ध गर्ने विषयमा दुवै पक्षका प्राविधिकको अध्ययनपछि मात्र काम थाल्ने मौखिक समझदारीविपरीत भारतीय पक्षले काम गरेपछि खलंगा क्षेत्र तनावग्रस्त बनेको थियो । भारतले निर्माण गरिरहेको तटबन्धनले नेपालतर्फ ठूलो क्षति हुने स्थानीयको भनाइ थियो । महाकाली नदीको धार नै नेपालतर्फ फर्किने र त्यसले वर्षात्मा ठूलो क्षति हुने भन्दै उनीहरूले एकपक्षीय रूपमा भइरहेको तटबन्धन निर्माण रोक्न माग गर्दै आएका छन् । दार्चुलामा दुई पक्षबीच विवाद भएको यो पहिलोपटक होइन । कहिले महाकालीमा तटबन्धन निर्माण त कहिले सडक निर्माणका कारण दार्चुलामा सीमा विवाद हुँदै आएको छ ।

अतिक्रमणविरुद्ध भारतीय दूतावास अगाडि र माइतीघरमा प्रदर्शन
भारतीय पक्षले गरेको महाकाली नदीको बहाव नेपालतिर फर्किने गरी संरचना निर्माण गरेको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारीले बुधबार लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको हो । दार्चुलाका नेपाली नागरिकहरूमाथि भएको ज्यादती आफूहरूलाई सहृय नहुने भन्दै विरोधमा उत्रिएको अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले बताउनुभयो । उहाँले सार्वभौम सम्पन्न नेपालमाथि भारतको कुनै पनि हस्तक्षेप र बलमिच्याइँ स्वीकार्य नरहेको चेतावनी दिनुभयो । अध्यक्ष गजुरेलले भारतीय विस्तारवादविरुद्ध सरकार चुप बसे जनता आफैँ लड्ने र देशको रक्षा गर्ने बताउनुभयो । महाकाली सन्धिका कारण सीमा क्षेत्रका बासिन्दाले बर्सेेनि सास्ती खेप्नु परेको उहाँको भनाइ थियो ।

सोही कार्यक्रममा अखिल क्रान्तिकारीकी उपाध्यक्ष शिलु न्यौपाने, महासचिव पेशल दाहाललगायत दर्जन बढीको उपस्थिति थियो । यस्तै, महाकाली नदीमा भारतीय हस्तक्षेपविरुद्ध धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले माइतीघरमा विरोध प्रदर्शन गरेको छ । बुधबार दिउँसो क्रान्तिकारीले महाकाली नदीमा नेपालतिर बहाव फर्काएर भारतले निर्माण गरिरहेको तटबन्धन तत्काल बन्द गर्न चेतावनी दिएको हो । उनीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटोसमेत जलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?