महानगर दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमहरू घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले २८औँ महानगर दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमहरू घोषणा गरेको छ । बुधबार २८औँ महानगर दिवसको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरले सप्ताहव्यापी कार्यक्रमको जानकारी गराएको हो । महानगरले महानगर दिवसको दिन मंसिर २९ गते महिला उद्यमी मेला र स्थानीय परिकारको प्रवद्र्धन गर्न खाना मेला हुने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महानगरका प्रवक्ता नवीन मानन्धरले गुणस्तरीय र पहँचयुक्त स्वास्थ्य र व्यावहारिक शिक्षा, मूर्त, अमूर्त सम्पदाको सन्तुलित विकासमा महानगर लागेको बताउनुभयो । उहाँले महानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि सरोकारवाला निकायहरूसँग समन्वय, साझेदारी र सहकार्य भइरहेको पनि बताउनुभयो । उहाँले शहरी विकासका लागि काम गर्ने छरिएर रहेका योजना, स्रोत र कार्यक्रमलाई एकीकृत पूर्वाधार विकासको थालनी गरिएको बताउनुभयो । उहाँले महानगरमा राजस्व तिर्न, भवन नक्सा स्वीकृत गर्ने लगायतका कार्यका लागि महानगरले अनलाइन प्रणाली बनाउने बताउनुभयो । प्रवक्ता मानन्धरले महानगरका धेरैजसो काम अनलाइन प्रणालीबाट भइरहेको पनि बताउनुभयो । उहाँले शहरी सुन्दरता बढाउन होर्डिङ बोर्ड हटाउने, सार्वजनिक यातायात प्रणाली र पार्किङमा सुधार गर्ने काम भइरहेको बताउनुभयो ।

त्यस्तै, प्रवक्ता मानन्धरले महानगर दिवसका अवसरमा खुला क्षेत्रको सरसफाइ, महसुस यात्रा, चित्रकला, विशेष सरसफाइ, स्वास्थ्य शिविर, हाँडीगाउँ सम्पदा महोत्सव र सम्मान कार्यक्रमहरू गर्ने बताउनुभयो । महानगरले सातजना जनप्रतिनिधि र पाँचजना कर्मचारीहरूलाई सेवाभावमा प्रेरित गर्न ‘महानगर सेवा गौरव पदक’बाट सम्मान गर्ने भएको छ । त्यस्तै, ५० हजार नगदसहित उत्कृष्ट महानगर सेवा पुरस्कार, महानगर सेवा पुरस्कार, जनकमान श्रेष्ठ सुशासन पुरस्कार र पाँचजना पत्रकारलाई सुशासन पत्रकारिता पुरस्कारसहितको सम्मान कार्यक्रम रहने महानगरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?