आज योमरी पुन्हीः अर्थात् योमरी पूर्णिमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज योमरी पुन्हीः अर्थात् योमरी पूर्णिमा पर्व मनाइँदै छ । नेवार समुदायले योमरी पूर्णिमा पर्व मनाउँदै छन् ।

योमरीको त्रिकोणात्मक आकारले षट्कोणको अर्धभागको रूपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रूपमा लिइन्छ ।

पानीको देवताका रूपमा काठमाडौंवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरी चढाउने परम्परा चली आएको छ ।

लक्ष्मी, गणेश, कुमार, कुवेर लगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ । धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ ।

नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ ।

योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ । योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल राखेर डल्लो बनाइन्छ ।

नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् । साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रुपमा उपहार पठाउने चलन पनि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?