दीपक र मन्डेकाजी सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं ।  युरो किड्स, गोंगबु/काठमाडौं युरो स्कुलले दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता कराँतेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ । विद्यालयको वार्षिक खेलकुद सप्ताहका अवसरमा दुवैलाई सम्मान गरिएको हो । विद्यालयका अध्यक्ष प्रमोद पाण्डे, शैक्षिक निर्देशक डा. दीपक गुप्ता, निर्देशकहरू ज्ञानेन्द्रमान जोशी, राजाराम पुडासैनी र राजन कार्कीले उहाँहरूलाई प्रशंसा पत्र, खादा र नगद प्रदान गरी एक कार्यक्रमबीच सम्मान गर्नुभयो ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहनुभएका दीपक आठौँ र नवौँ सागका स्वर्ण विजेता हुनुहुन्छ । मन्डेले नेपालमा भएको १३औँ सागमा दुई स्वर्ण जित्नुभएको थियो । मन्डेकाजी एकै संस्करणमा दोहोरो स्वर्ण जित्ने एक्लो नेपाली कराँते खेलाडी हुनुहुन्छ ।

विद्यालयले विगतका खेलकुद सप्ताहमा १३औँ सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, कराँतेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, कराँतेका सुमन तिमल्सिनालगायतलाई सम्मान गरेको थियो ।
खेलकुद सप्ताहमा फुटबल, ब्याडमिन्टन, टेबलटेनिस, एथलेटिक्स, बास्केटबल र नेपाली परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो । दीपक र मन्डेकाजीले ब्याडमिन्टनका पदक विजेतालाई सोही अवसरमा पुरस्कृत पनि गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?