रियल म्याड्रिड क्लब विश्वकप च्याम्पियन

Read Time = 2 mins

म्याड्रिड । स्पेनिस क्लब रियल म्याड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ । साउदी अरेबियनको अल हिलालमाथि ५-३ ले हराउँदै रियल पाँचौँपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो । रियललाई पाँचौँपटक च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले समान दुई तथा कप्तान करिम बेन्जेमाले एक गोल थप्नुभयो । अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गर्नुभयो ।

खेलको १३औँ मिनेटमा भिनिसियसको गोलबाट रियलले अग्रता लिएको थियो । १८औँ मिनेटमा फेडे भाल्भेर्डेले अग्रता दोब्बर पार्नुभयो । २६औँ मिनेटमा मोउसा मारेगाले एक गोल फर्काउनुभयो । ५४औँ मिनेटमा कप्तान करिम बेन्जेमाले भिनिसियसको पासमा गोल गर्दै रियललाई खेलमा ३-१ ले अघि बढाउनुभयो । ५८औँ मिनेटमा फेडे भाल्भेर्डेले ड्यानियल कार्भाजलको पासमा रियलका लागि चौथो गोल गर्नुभयो ।

६३औँ मिनेटमा लुसियानो डारियो भिट्टोले साउद अब्दुलहामिदको पासमा गोल गर्दै अल हिलालका लागि दोस्रो गोल गर्नुभयो । ६९औँ मिनेटमा भिनिसियसले रियललाई ५-२ को अग्रता दिलाउनुभयो । ७९औँ मिनेटमा लुसियानो डारियो भिट्टोले अल हिलालका लागि एक गोल फर्काए पनि त्यसले नतिजामा केही फरक परेन ।

रियल पाँचपटक फाइनल पुग्दा पाँचैपटक च्याम्पियन बन्न सफल भएको हो । सन् २०१४ मा सान लोरेन्जोलाई हराएर पहिलोपटक च्याम्पियन बनेको रियलले त्यसपछि २०१६, २०१७ र २०१८ मा लगातार उपाधि जितेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?