लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्रमा गाडी रोक्न निषेध

सडक छेउका टिकट काउण्टर बसपार्कभित्र सारिने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । बुटवलको अस्पताल लाईन क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बुटवल नगरलाई सफा र सुन्दर बनाउन तथा भीडभाड कम गर्दै ट्राफिक व्यवस्थापन गर्न बुटवलका व्यस्त चोक तथा अत्यावश्यक सेवा क्षेत्र आसपासमा भीड कम गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

बैठकले बुटवलका मुख्य सडकहरुको पार्किङ व्यवस्थापन गर्ने, राजमार्ग क्षेत्रमा रहेका टिकट काउण्टरहरु एकीकृत गरी बसपार्कभित्रै व्यवस्थापन गर्ने, लामो तथा छोटो दुरीका सवारी साधनले यात्रु चढाउने र ओराल्ने स्थान तय गर्ने जस्ता निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।

उहाँका अनुुसार बैठकले बसपार्कभित्र पार्किङ नगरी बस छुट्नुभन्दा १ घण्टा अघिमात्रै बसपार्कभित्र प्रवेश गर्ने, प्रत्येक टिकट काउण्टरले डस्टविन राखी अन्यत्रको फोहोर व्यवस्थापन गर्ने, बस तथा जीप सञ्चालक संस्थाहरुले सवारी चालक र सहयोगीलाई अनिवार्य रुपमा परिचय पत्रको व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले बुटवलमा सञ्चालन हुनेगरी थप १ सय ८४ इरिक्सालाई दर्ताका लागि आह्वान गर्ने र दर्ता नगरी सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।
‘बुटवलमा १४ सय ४० वटा इरिक्सा सञ्चालन गर्ने भनिएको छ, यसअघि १२ सय ५६ वटा इरिक्सा दर्ता हुन आएकोमा बाँकी १ सय ८४ वटा इरिक्सा दर्ताका लागि आह्वान गर्ने निर्णय भयो, उहाँले भन्नुभयो–जसअनुसार बुटवलमा बसोबास गरिरहेका आफ्नै नाममा इरिक्सा भएका, सवारी चालक अनुमति पत्र भएका र बीमा गरेका विपन्न र स्वरोजगार भएका रिक्सा दर्ता गरिनेछ र इन्धनबाट चल्ने रिक्सालाई पनि व्यवस्थापन गर्ने निर्णय भयो ।’

यस्तैगरी, बुटवल क्षेत्रमा ब्लो हर्न बजाउन निषेध गर्ने, मोडीफाई गरेका, स्वरुप परिवर्तन गरेका मोटरसाईकल चलाउन निषेध गर्ने निर्णय बैठकले गरेको छ ।

बुटवल क्षेत्रमा बस, जीप, इरिक्सा व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिका, यातायात व्यवस्था कार्यालय, इलाका प्रहरी कार्यालय, राजमार्ग ट्राफिक सुरक्षा तथा व्यवस्थापन कार्यालय, बस, जीप, इरिक्सा सञ्चालक संस्थाहरुले एकीकृत रुपमा सुधार अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयसहित, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, यातायात व्यवस्था कार्यालय, इलाका प्रहरी कार्यालय, राजमार्ग ट्राफिक सुरक्षा तथा व्यवस्थापन कार्यालय, बस, जीप, इरिक्सा सञ्चालक संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?