बाजुरा । जिल्ला अस्पताल बाजुरामा सुत्केरी गराएबापत पाउने सुत्केरी भत्ता उदारो राख्ने गरेको पाइएको छ । साउनयता अस्पतालमा १४८ जनाले सुत्केरी गराएको भए पनि १३२ जनाको सुत्केरी भत्ता उदारो रहेको अस्पतालमा कार्यरत निशा रोकायाले बताउनुभयो ।
साउनदेखि बजेट निकासा नभएको भन्दै सुत्केरी महिलाले पाउने प्रोत्साहन भत्ता दिन नसकेको रोकायाले बताउनुभयो । १६ जना सुत्केरी आमाको भने आफ्नै तलबबाट भत्ता दिएको रोकायाले हिमालय टाइम्ससँग बताउनुभयो । १६ जना टाढा रहेका र दोस्रोपटक अस्पतालमा आउन नसक्ने भएकाले तलबबाट भत्ता दिएको उहाँको भनाइ छ । कार्यालयमा सुत्केरी भत्ता माग गरिरहेको भए पनि निकासा नआएको भन्दै दिन नसकेको उहाँले गुनासो गर्नुभयो ।
स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत हातमै पैसा दिनुपर्ने सरकारले व्यवस्था गरेको छ । बाजुरा हिमाली जिल्ला पर्ने भएकाले यातायात खर्चबापत तीन हजार नियमित गर्भ जाँचको आठ सय गरी ३८ सय पाउने व्यवस्था रहेको छ । स्वास्थ्य संस्थामा सुत्केरी गराउने दर बढाउनका लागि राज्यले सुत्केरी भत्ता दिँदै आएको हो ।
सुत्केरी भएको समयमै हातमा पैसा दिन्छन्, भन्थे तर आफ्नो श्रीमतीले अस्पतालमा बच्चा जन्माएको भए पनि पैसा नपाएको बडिमालिका नगरपालिका-९ का धीरज विकले बताउनुभयो । अहिले पैसा छैन पछि आएपछि खबर गर्छु भनेका छन्, पछि दिन्छन्, या दिँदैनन् कुनै जानकारी नभएको धीरजले भन्नुभयो ।
जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीका अनुसार बजेट निकासा ढिला भएकाले सुत्केरी भत्ता हातमै दिन नसकेको प्रष्ट पार्नुभयो । आर्थिक वर्ष साउनबाट सुरु भए पनि निकासा मंसिरपछि आउने भएकाले समस्या भएको उहाँको भनाइ छ । निकासा आइसकेको छ, अब चाँडै सबैलाई भुक्तानी दिने जोशीले जानकारी दिनुभयो । यो समस्या आफूहरूको नभएकाले बजेट नै ढिला आएपछि हातमै दिन नसकेको उहाँले बताउनुभयो ।
जिल्ला अस्पताल बाजुरामा मात्र नभई बाजुरामा रहेको अधिकांश स्वास्थ्य संस्थामा सुत्केरी भत्ता नदिने गरेको पाइएको छ । अहिले उदारो राखेको छौँ, पछि निकासा भएमा भुक्तानी दिने एक स्वास्थ्यकर्मीले भन्नुभयो । सेवाग्राहीले हातमा रकम नपाउँदा पछि रकम नपाउनेमा शंका गरिरहेको र सधैँका वर्षमा कहिले भत्ता नपाउने पाए पनि समयमै नपाउने गरेको नागरिक समाजका अगुवा प्रदीपराज जैशीले गुनासो गर्नुभएको छ ।
बाजुरामा गर्भवती महिलालाई सुत्केरी गराउन निकै कठिनाइ छ । जिल्ला अस्पतालमै पनि दक्ष चिकित्सक नभएपछि सुत्केरी गराउन पनि अन्यन्त्र रिफर गर्नुपर्ने बाध्यता रहेका कारण यहाँका गर्भवती महिलाहरूले ज्यान गुमाउनुपर्ने बाध्यता अझै पनि कायम रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच