रमेशप्रसाद गौतम
गत बिहीबारको अंकबाट क्रमशः
नाति भने सबैको प्यारो थियो तर आदत भने राम्रो थिएन । चुरोट खाने, पढनमा ध्यान नदिने, बाबु र काकासँग पैसा माग्ने गथ्र्यो र सबैले माया गरेर दिन्थे पनि । पाएको पैसा चुरोट खाएर र खोपी खेलेर सिध्याउँथ्यो । एक दिन दुई घरको बीच पेटीमा मलाई चुरोटको बट्टाको कित्ता बनाउन सिकायो । केही कित्ता मसँग भयो ऊसँग त धेरै थियो । उसले मलाई काका भन्थ्यो । काका अब हामी दुईजना कित्ता खेलौँ भन्यो । आफ्नो दौतरी भतिजले भनेपछि मैले पनि स्वीकारिहालेँ । हामी दुईजना दुईघरको छेकोमा रही खोपी बनाएर कित्ता खेल सुरु गर्यौँ । त्यो एक किसिमको खोपी खेल नै थियो ।
यसमा पैसाको हारजित हुँदैनथ्यो । केवल चुरोटको बट्टा च्यातेर बनाएको कित्तामात्र हुन्थ्यो । हामीले एक घण्टाभन्दा बढी खेल्यौँ होला, त्यसबेला दिनको २ बजिसकेको थियो । धेरै बेर घरमा मलाई नदेखेपछि आमा गाउँमा खोज्दै हिँडनु भएपछि त्यो ठाउँमा ख्याल गर्नु भएन छ । अनि पल्लाघरकी भाउजूले बजै बाबु यतापट्टि नातिसँग कित्ता खेल्दै हुनुहुन्छ भनेपछि आमाले हतारमा मलाई तानेर लग्नुभयो । तँलाई नातिसँग नखेल् नहिँड् भनेको होइन भनेर घरमा आएपछि सम्झाउन थाल्नुभयो । म ऊसँग हिँड्दिन एकै छिन् खालि कित्तामात्र त खेलेको हुँ भने । केही पनि खेल्नु पर्दैन भन्नुभयो । मैले हुन्छ भने । आमाले दहीचिउरा खाजा दिनुभयो । म खुशी भएर खान थालेँ ।
आमाबाबुको लाडप्यारबाटै बालकको शारीरिक र मानसिक विकासमा ठूलो प्रभाव पर्ने हो । मेरो बाल्यकालमा पनि आमाको बढी लाडप्यार देखिन्छ भने पिताजीको त्यत्तिकै स्नेहवत व्यवहार पाएको अनुभूत गरेँ । असल परिवार, असल समुदाय, असल समाज, असल देश, असल विश्वको निर्माण व्यक्तिद्वारा हुने हो । त्यस्तो व्यक्ति वा नागरिकको निर्माणको आधार बाल्यावस्था नै हो । बाल्यकालमा जसरी हुर्काइयो जसरी लालनपालन, शिक्षा, संस्कार दिइयो त्यहीअनुरूप क्रमशः झ्यांगिँदै असल वा खराब बन्दै जाने हो असल आमाबाबु नै असल सन्तानका आधार हुन् ।
परिवार नै यस्तो पाठशाला हो जहाँ हरेक बालकले संस्कार सिक्छ त्यही दैवी सम्पदाको विजारोपण पनि हुन्छ । जुन आमा बाबुले सुसंस्कारी सन्तान बनाउन सके जीवनभर सुन्दर र सुखी परिवारका रूपमा जीवन्त बाँच्न सक्दछन् । यही सुसंस्कारी सन्तानका रूपमा हामी रहनु पाउनुमा आफ्ना आमाबाबुको भूमिका रहेको मान्दछु ।
गीताको सोह्रौं अध्यायमा भगवान श्रीकृष्णले मानवीय गुणहरूलाई सकरात्मक एवं नकरात्मक गरी दुई भागमा वर्णन गर्नुभएको छ । सकरात्मक सोचको बीजारोपण गर्ने सर्वोतम काल भनेकै बाल्यकाल हो । यसैमा अभय, सात्विकता, ज्ञानयोग, दान, दम, यज्ञ, स्वाध्याय, तप, सरलता आदि पर्दछन् । बाल्यकालदेखि नै सुसंस्कार, सात्विकी वृत्ति आदि दिमागमा घुसाउन सकेमा आजको बालक भोलिको असल योग्य नागरिक बन्न सक्दछ ।
यही सोचलाई अघि बढाएर सन्तानलाई असल बनाउने हेतुले कतिपय आमाले असल एवं आदर्श व्यक्ति श्रीराम, कृष्ण, बुद्ध, गान्धी, अब्राहम लिङ्कन, जोन केनेडी आदिका जीवनी रोचक ढंगले कथाका रूपमा सुनाउने गर्दछन् । मेरी आमाले पनि तत्कालीन अवस्थामा श्रीराम, कृष्ण आदिका कथा सुनाएर आनन्द दिनुहुन्थ्यो । ममा विकास भएको सकरात्मक सोचको उपाय पनि आमाकै शिक्षाको कारणले हो ।
विद्यालयमा दिइने शिक्षाको मूल आधार सीप र ज्ञान हो भने संस्कारको मूल आधार परिवार हो । परिवार नै यस्तो पाठशाला हो जहाँ हरेक बालकले संस्कार सिक्छ त्यही दैवी सम्पदाको विजारोपण हुन्छ । जुन आमा बाबुले सुसंस्कारी सन्तान बनाउन सके जीवनभर सुन्दर र सुखी परिवारका रूपमा जीवन्त बाँच्न सक्दछन् । यही सुसंस्कारी सन्तानका रूपमा हामी रहनु पाउनुमा आफ्ना आमाबाबुको भूमिका रहेको मान्दछु ।
बालबालिकाको सर्वांगीण विकास गर्नमा नैतिक, चारित्रिक ज्ञान भाव तथा स्वस्थ मनोविज्ञानको विकास चाहिन्छ । यी कतिपय पक्षको आजको समाजमा छायांमा परिरहेका छन् । कतिपय प्रतिस्पर्धाको दौडमा संस्कार कता अल्मलिन्छ, जीवनकै खोजीमा जीवनको मूल्य हराइरहेको छ, सफल बन्ने क्रममा असल लोप हुँदैछ सिंगो विश्यव्यापीकरणमा आफ्नै देश भुलिरहेको छ । यस्ता कतिपय अन्धो दौडमा सतर्कता अपनाइ सुसंस्कारी आमाबाबुबाट असल सन्तान निर्माणमा ठूलो भूमिका खेल्न सक्दछन् ।
मेरी आमाको मेरो छोरो कतै खराब संगतमा नपरोस् राम्रो बनोस् भन्ने धारणा थियो । त्यसैले छोरो जहाँ गए पनि के गर्दैछ कस्तो साथी बनाइरहेछ, कहाँ जान्छ के खान्छ आदिको ख्याल गर्ने गरेको कुरा नरकट घारीभित्र बसेर नातिसँग चुरोट खाएको, लुकेर कित्ता खेलेको वर्षायाममा खोलो तर्न सक्तैन भनी माया गरेर घरमै राख्नु भएको धेरै उदाहरण छन् । असल आमाले असल सन्तान दिन्छिन् भन्ने सत्यलाई स्वीकार्न कर लाग्दछ ।
आमाले संगत नगर भनेका साथीहरूसँग म हिँडिनँ । छरछिमेकमा कहीँ नजा भनेको ठाउँमा जाँदैनथेँ । एक दिन आमा मेरो साइलाबाले आफ्नो नाति बद्रीलाई कौमदी सिकाउँदै हुनुहुन्थ्यो । त्यसबेला मेरी आमाले उहाँ सामु लगेर मेरो रमेशलाई कौमदी, रुद्री पाठ गर्न सिकाइ दिनुहोस् भन्नुभयो र मलाई उहाँकै नातिसँग छाडेर आमा फर्कनुभयो । आमा फर्कनु भएको एकै छिनमा साइला बाले मलाई जा बाबु जा तिम्री आमाले खाजा बनाइसकिन् होला जा घरमा बोलाए भनेर पठाउनुभयो । आमाले त्यसपछि आफैँ साथमा राखेर तत्वबोध, रामायण, गीता अन्य भजन सुनाउनु भयो र पढ्न लगाउन थाल्नुभयो ।
यसपछि नैकाप विद्या मन्दिरमा पढ्न पठाउनुभयो । साथमा दाजु र भतिजाहरू थिए । उनीहरू मभन्दा ठूला थिए । साथै लग्ने र ल्याउने काम दाजुले गर्नुहुन्थ्यो तर त्यहाँ पनि गल्ति नगरी सजाय दिएको घटनाले आमाबालाई मन परेन भने वर्षादमा डडाली खोलाको भलले बगाउला भन्ने डरले स्कुल जान छुटाउनु भयो । म घरमै बसेर आमाकै साथ पढे हुन्थ्यो भन्ने उहाँलाई लाग्यो । कहीँ बाहिर गए आमाले बोलाइ हाल्नु हुन्थ्यो । विस्तारै अक्षर लेख्न पढ्न सिकाउनु हुन्थ्यो । आमा साक्षर भए सन्तानका लागि फाइदा हुने कुरा मेरो जीवनका यी प्रत्यक्ष घटनाले पुष्टि गर्दछन् । समाप्त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच