सबल पक्षको भरपुर सदुपयोग गरेर मेडल भित्र्याउँछौँ-मुख्य प्रशिक्षक भट्ट

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाण्डौं । नेपाल भलिबल संघमा नयाँ नेतृत्व आएपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाउँदै छ । बंगलादेशको ढाकामा पुस पहिलो सातादेखि आयोजना हुने काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिपलाई अहिले युवा टोलीले तयारीलाई तिब्रता दिइरहेको छ । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा सहभागि हुने टोलीलाई मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले प्रशिक्षण गराइरहनु भएकाे छ । पहिलो पटक सहभागिता हुन लागेको प्रतियोगितामा नेपालको लक्ष्य कम्तीमा पनि पदक रहेको छ ।

बंगलादेशको ढाकामा पुस ५ गतेदेखि ११ गतेसम्म काभा यु-२३ प्रतियोगिता आयोजना हुँदैछ । सोही प्रतियोगिताका लागि नेपाली टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा तयारी गरिरहेको छ । बिहान र साँझ गरी दुई समयमा सुखद् नतिजा निकाल्ने लक्ष्यसहित तयारीलाई तिब्रता दिइरहेको हो । पहिलो पटक सहभागिता जनाउने लागेको उमेर समूहको प्रतियोगितामा नयाँ खेलाडीलाई अवसर दिइएको छ ।

लामो प्रक्रियाबाट छनोट हुँदै आएका खेलाडीलाई संघले बन्द प्रशिक्षण राखेर अभ्यास गराइरहेको हो । आयोजक बंगलादेश, श्रीलंका, किर्गिस्तान र नेपालले सहभागिता जनाएको प्रतियोगितालाई सार्थक पार्न विगत ४० दिनदेखि नेपाली टोली तल्लिन छ । नेपाली टोलीलाई दुई सिफ्टमा अभ्यास गराइरेहका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बलिया टोलीबिरुद्ध नेपालले प्रतिष्पर्धात्मक खेल खेल्ने विश्वास व्यक्त गर्नुभयो । ८० जनाको प्रारम्भिक छनोट पार गर्दै अन्तिम १४ खेलाडीको टुङ्गो लागिसकेको अवस्थापनि नयाँ खेलाडी केही शारीरिक र मानसिक कमजोरी भएको बताउनु भयो । तर पनि दैनिक ७ घण्टाको प्रशिक्षण र घरेलु टोलीसँगको अभ्यास खेलबाट मनोबल उकास्ने प्रयास गरेकाे उहाँकाे भनाई छ ।

उहाँले भन्नुभयो, ‘देशैभर भएका र हाल राष्ट्रिय टोलीमा नभएका खेलाडीलाई समावेश गर्दै टोली निर्माण गरेका छौं । ८० जनाबाट छनोट गर्दै २० जनाको प्रारम्भिक छनोट गर्दै अहिले अन्तिम टोली बनाइसकेका छौं । नयाँ र युवा खेलाडी भएकाले अहिलेको अवस्थामा खेलाडी शारीरिक र मानसिक हिसावमा कमजोर नै छन् । तर पनि हामीले दैनिक ७ घण्टा प्रशिक्षण गराएर मनोबल उकास्ने प्रयास गरेका छौं । सहभागि हुन लागेको अन्य टोलीपनि हाम्रो अवस्थाको भएकाले खेलमा बलिया टोलीबिरुद्ध नेपालले प्रतिष्पर्धात्मक खेल खेल्नेछ ।’

एक सातासम्म आयोजना हुने प्रतियोगिताको तालिका सार्वजनिक पनि भइसकेको छ । सार्वजनिक भएको तालिका अनुसार नेपालले उद्घाटन खेलमा आयोजक बंगलादेशसँग खेल्नेछ । बंगलादेश सिनियर टोलीमा नेपाल भन्दा बलियो भएपनि उमेर समूहमा नेपाल जस्तै अगाडि बढ्दै गरेको टोली हो । यस्तै अन्य प्रतिष्पर्धी टोली पनि उदाउँदै गरेका भएकाले नेपालको सम्भावना रहेको प्रशिक्षक भट्टको बुझाई छ ।

चार दशक सहभागिता जनाउन नसकेको अवस्थामा उमेर समूहको नेपाली टोलीको सहभागिता अनुभव लिने अवसर भएको बताउनु भयो । सहभागिता जनाउँदै गर्दा लक्ष्य स्वर्ण पदक जित्ने राखेको तर सहभागिताको हिसावमा पहिलो भएकाले कम्तीमा पनि मेडल ल्याउनेमा प्रशिक्षक भट्ट आशावादी हुनुहुन्छ । अहिले बन्द प्रशिक्षणमा रहेको टोलीमा सबल र दुर्बल पक्ष सबै भएको र सबल पक्षको भरपुर सदुपयोग गर्दै प्रतियोगितामा नेपाली टोली अगाडि बढ्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चार टोली भएपनि हामीले कम्तीमा पनि चार खेलमा अनुभव लिने अवसर छ । लामो समयपछि सहयभागिता जनाउँदै गर्दा म्याचको अनुभव नै हाम्रो लागि ठूलो हो । लक्ष्य स्वर्ण पदककै राखेका छौं । स्वर्ण पदकको लक्ष्य लिएर नै अभ्यास गरिरहेका हौं । जुन नेपाल भलिबल संघ, नेपाल र भलिबल प्रेमी समर्थकको लक्ष्य पनि राम्रो गरोस भन्ने नै हो । उमेर समूहको पहिलो सहभागिता भएकाले यथार्थ भन्नुपर्दा कम्तीमा पनि एउटा मेडल ल्याउने हो । अहिलेको अवस्थामा टोलीको सबल र दुर्बल पक्ष यकिन छैन् । तरपनि हामीले हाम्रो सबल पक्षलाई भरपुर सदुपयोग गर्दै प्रतियोगितामा प्रतिष्पर्धात्मक खेल देखाउने हो । नयाँ र अनुभव नभएका खेलाडीलाई सहभागि गराउन लागेकाले अभ्यासमा गरेको प्रदर्शन अनुरुप ५० प्रतिशत दिएर खेलेपनि नतिजा निस्कन्छ र हाम्रो लक्ष्य पूरा हुनेछ ।’

चार टोलीले सहभागिता जनाउने प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुनेछ । पहिलो खेल नेपालले बंगलादेशसँग खेल्दा लिगको दोस्रो खेल ८ पुसमा श्रीलंकासँग तथा ९ पुसमा किर्गिस्तानसँग खेल्नेछ । चार टोलीको मात्रै सहभागिता रहेकाले सबै टोली सेमिफाइनलमा पुग्नेछ । जस अन्तर्गत शीर्ष टोलीले पुछारमा रहने टोलीसँग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्दा दोस्रो सेमिफाइनल खेल दोस्रो र तेस्रो स्थानको टोलीबीच हुनेछ । नेपाल कम्तीमा पनि तेस्रो भएको अवस्थामा मेडल हात पार्नेछ । सेमिफाइनल १० पुसमा हुनेछ भने फाइनल ११ पुसमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?