पुसमा किन्डर ओलम्पिक हुने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आगामी पुस महिनामा काठमाडौंको दशरथ रंगशालामा ‘१०औँ किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ । आयोजक अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एसोसिएसन (एकता) को आयोजनामा विगत १० वर्ष देखि नियमितरूपमा सञ्चालन हुंँदै आइरहेको सो खेल उत्सव यो वर्ष पुस २ र पुस ९ गते आयोजना हुँदैछ । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता छ ।

प्रतियोगितामा ६ वटा इभेन्ट्सहरू समावेश गरिएको छ । त्यसमा नर्सरी, युकेजी, एलकेजीका साढे दुई वर्षदेखि साढे पाँच वर्षसम्मका साना खेलाडीहरूले भाग लिने आयोजक एकताका सदस्य विद्या श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा झण्डै १४ सय साना खेलाडीहरू समावेश हुने जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा आयोजक एकताकी सदस्य लिना श्रेष्ठले सानै उमेरदेखि विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले किन्डर ओलम्पिकको आयोजना गरिएको बताउनुभयो । ‘खेलकुदप्रतिको रुचि सानैदेखि बढाउने, बच्चाहरूको शारीरिक विकास र सहभागिता नै ठूलो हो भन्ने सन्देश यो १० वर्षको आयोजनामा हामीले दिन सफल भएका छौँ,’ उहाँले भन्नुभयो ।

हजार बढी विद्यार्थीहरू एउटै खेल थलोमा प्रतिस्पर्धा हुने सो खेल मेलाले सानो ओलम्पिकको झल्को दिने गरेको आयोजक सदस्यहरू बताउँछन् । प्रतियोगिता सन् २०१२ देखि निरन्तररूपमा आयोजना हुँदै आएको छ ।

आयोजक एकता एक नाफारहित गैरसरकारी संस्था हो । विभिन्न विद्यालयमा कार्यरत शिक्षिकाहरू मिलेर विसं २०६८ सालमा स्थापना गरेको यो संस्थाले मूलतः बालबालिकाहरूको चौतर्फी विकासमा मद्दत गर्ने क्षेत्रमा काम गर्छ । संस्थाले स्थापनाकालदेखि नै उद्देश्यअनुरूप बालसांस्कृतिक कार्यक्रम, बाल शैक्षिक गोष्ठी, अभिभावक सचेतना कार्यक्रमहरू गर्दै आइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?