देशभर चिसो बढ्यो, सर्तकता अपनाउन आग्रह

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशभर चिसो बढेको छ । चिसो बढेसँगैँ जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ ।

विभागले देशका केही भू–भागमा बिहानीपख हुस्सु–कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु सबैमा अनुरोध गरेको हो ।

तराईमा हुस्सु, कुहिरो 

अबको केही दिन बिहानको समयमा देशका धेरै स्थानमा हुस्सु, कुहिरो लाग्ने तथा मध्यान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना छ । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ ।

बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । बाँकेमा बिहीबार न्यूनतम तापक्रम १०.५ र अधिकतम् तापक्रम २१.७ डिग्री सेल्सियस रह्यो । चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार सम्साँझै सुनसान हुन थालेका छन् ।

यसैगरी सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ ।

यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो । दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर भने पारिलो घाम लाग्ने गरेको थियो । तर बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि मधेस प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ । चिसो बढेपछि बालबालिका, वृद्धवृद्धा र दीर्गरोगी बढी प्रभावित भएका छन् ।

छाप्रामा बस्ने अतिविपन्न तथा मजदुर परिवार ताता खानेकुरा र न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिन थालेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?