दलको नेतामा शेखरले इच्छा देखाउँदा गगनलाई झन् संकट

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सकेनन् । जसकारण गठबन्धन सरकार बन्ने निश्चित छ । प्रचलित संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुने भएको छ ।

संसदीय दल गठन र नेता चयनपछि सरकार गठनका लागि गति दिने तयारीमा कांग्रेस देखिन्छ । चुनावमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसमा दलको नेता को बन्ने भन्ने चर्चा छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुनः संसदीय दलको नेतामा उठ्ने लगभग निश्चित छ । यसैगरी संस्थापन इतर पक्षबाट महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिने बताइरहँदा कांग्रेस नेता शेखर कोइराला संसदीय दलको नेतामा उठ्नेगरि तयारीमा जुट्नु भएको चर्चा छ । यसो भए इतरपक्षबाट दलको नेतामा दुई जना कोइराला र थापा हुनुहुने छ । हुनत: देउवा र थापामात्र होइन, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, अर्का नेता शशांक कोइराला पनि यसअघि प्रधानमन्त्रीको दौडमा हुनु भएको चर्चा थियो । तर, एकाएक पौडेलबाहेक अरु नेता यतिबेला मौन हुनुहुन्छ । प्रधानमन्त्री दौडमा जानुभन्दा पहिला संसदीय दलको नेता हुनुपर्छ, त्यसपछि बल्ल प्रधानमन्त्रीको लागि त्यो नेताले प्रतिस्पर्धा गर्न सक्छ ।

पछिल्लो समय आफूनिकट नेताहरुसँगको सघन छलफलपछि कोइराला दलको नेताको लागि आँफै मैदानमा उत्रिने तयारीका साथ अघि बढ्नुभएको छ । यता, थापाले भने आफूले दलको नेतामा उठ्ने भनेर चुनावअघि नै घोषणा गरेकोले कुनैपनि हालतमा ब्याक नहुने बताईरहनुभएको छ ।

संस्थापनइतर समूह भनेर चिनिने कोइराला–थापा समूहबाट नै दलको नेतामा दुई जनाको उम्मेदवारी पर्ने निश्चित् भएपछि सो समूहका नेताहरु यतिवेला चिन्तामा छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा उठ्ने निश्चित छ । अहिलेको चुनावमा कांग्रेसबाट निर्वाचित हुने सांसदमा देउवा समूहका नै धेरै छन् । देउावा दलको नेता बन्नेमा ढुक्क हुनुहुन्छ ।

कोइराला पक्षमा भने दलको नेतामा साझा उम्मेदवार पनि नहुने भएपछि अब यो समूह अस्तित्वमा रहनेबारे पनि प्रश्न उठ्न थालेको छ ।

यसैबीचमा थापाले कोइरालासँग एक्लाएक्लै भेटवार्ता गरेर दलको नेतामा आफूलाई सघाउन आग्रह गर्नुभएको थियो। तर, थापाको प्रस्तावबारे कोइरालाले कुनै जवाफ दिनुभएको थिएन । कोइराला आँफैले भने अब थापासँग भेटेर सहयोग माग्ने तयारी गरेको स्रोतको दाबी छ ।

पछिल्लो महाधिवेशन पछि कोइराला गगनको कार्यशैली प्रति त्यति विश्वस्त र खुशी नभएको कोइराला निकट नेताले बताउँदै आएका छन् । महामन्त्री निर्वाचित भएसँगै थापा प्रधानमन्त्री चयन बाहेक इतर पक्षको भन्दा पनि संस्थापन पक्षमा लागेको उनीहरुको आरोप छ ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल पनि कांग्रेसले आफूलाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै आउनु भएको छ । ‘मेरो भूमिकालाई न्याय गर्दै मलाई संसदीय दलको नेता चुनिन सहयोग गर्नुस्’, भन्दै पौडेलले बालुवाटार पुगेरै प्रधानमन्त्री देउवासँग आग्रहसमेत गर्नुभएको छ । आफू प्रधानमन्त्री बन्दा सबैले स्वीकार्ने उहाँको दावी छ । गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको उहाँ बताउँदै आउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?