कांग्रेसभित्र रस्साकस्सी : संसदीय दलको नेता बन्न हानथाप सुरु

१४औँ महाधिवेशनबाट जन्मिएका गुट-उपगुट भत्किने खतरा

अनिल क्षेत्री
Read Time = 8 mins

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै अबको ३५ दिनभित्र नयाँ सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ७६ (८) मा यससम्बन्धी उल्लेखित प्रावधानका कारण दलहरूलाई प्रधानमन्त्री चयन गर्नुपर्ने संवैधानिक बाध्यता छ । अहिलेको अवस्था हेर्दा वर्तमान सत्ता गठबन्धनले नै भावी सरकार गठन गर्ने देखिएको छ । तर, गठबन्धनलाई सरकार गठन गर्न आवश्यक बहुमत नपुग्दा भावी सत्ताको नेतृत्व कसको हातमा पुग्छ अहिले नै भन्न सकिने अवस्था छैन । भावी सरकारको नेतृत्वबारे सहमति भई नसकेको अवस्थामा गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा भने संसदीय दलको नेता बन्न दौडधुप तीव्र भएको छ । नेपाली कांग्रेसमा संसदीय दलको नेता नै पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने परम्परा छ । त्यसो त संविधानको धारा ७६ मा मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्थामा बहुमत प्राप्त संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने उल्लेख छ । त्यसकारण कांग्रेसकै नेतृत्वमा सरकार गठन हुने निश्चित नभए पनि आगामी दिनमा नेतृत्व गर्ने अवस्था आए निर्विकल्प उम्मेदवार हुने भएकाले दलको नेता बन्न हानथाप सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले पुनः संसदीय दलको नेता बन्ने तयारी थाल्नुभएको छ । देउवासँग १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी डा.शेखर कोइराला र महामन्त्री गगन थापा पनि दलको नेता बन्न दौडधुप गरिरहनु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वसम्मत आफूलाई संसदीय दलको नेता बनाउन देउवा लगायतका नेताहरूसँग आग्रह गरिरहनु भएको छ । पूर्व–महामन्त्री डा. शशांक कोइरालाले सर्वसम्मत भएमा संसदीय दलको नेता बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ । महामन्त्री गगन थापाको तयारी तीव्र छ । निर्वाचनअघि नै प्रधानमन्त्री बन्ने उद्घोषसहित अघि बढ्नुभएका थापाको तयारीलाई पार्टीभित्र आफ्नै गुट शेखर पक्षले असन्तुष्टि जनाउन थालेको छ । शेखर पक्षबाटै महामन्त्रीमा निर्वाचित गगनले गुटमा छलफलबिनै एकल तयारी थालेको शेखर गुटको आरोप छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेसले ५७ प्रत्यक्ष र ३२ समानुपातिक गरी ८९ प्रतिनिधिसभा सदस्य जितेको छ । तीमध्ये देउवा समूहका ५२ सांसद छन् । प्रकाशमान सिंह, रामचन्द्र पौडेल र डा. शशांक कोइरालालाई मनाउन सफल भए सभापति देउवा झन् बलियो बन्ने देखिनुहुन्छ । सिंह, पौडेल र कोइरालाको समूहमा अहिले १३ जना सांसद रहेको बताइन्छ । डा. शेखर समूहमा अहिले २४ सांसद छन् । जसमा महामन्त्री थापा संसदीय दलको नेतामा अघि बढेमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिने निश्चित देखिन्छ । यद्यपि, २४ सांसद भएको यो गुटबाट शेखर र गगन दुवै जनाको उम्मेदवारी परेमा यही समूहबाट देउवालाई भोट जाने खतरासमेत रहेको चर्चा कांग्रेसमा छ ।

संसदीय दलको नेता आफैँ लड्ने शेखरको तयारी
आफ्नै गुटका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिछाड्ने सार्वजनिक उद्घोष गरे पनि डा.शेखर कोइरालाले भने आफँै संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी थाल्नुभएको छ । संसदीय दलको अंकगणित हेर्दा दलको नेतामा देउवाको जित निश्चित जस्तै छ । तर, हार्ने निश्चित भए पनि उम्मेद्वारी नदिए १४औँ महाधिवेशनबाट बनेको इतर समूह समाप्त हुने भयका कारण डा. कोइराला दलको नेताको लागि भिड्ने निर्णयमा पुग्नुभएको निकट नेताहरूको दाबी छ । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्जुनरसिंह केसी लगायतका नेताहरू इतर समूहबाट एउटा मात्र उम्मेदवार उठाउने प्रयासमा लागे पनि सहमतिको संकेत देखिएको छैन । इतर समूहका नेताहरूसँग छलफल नै नगरी संसदीय दलको नेताको उम्मेदवारका रूपमा अघि सारेकोमा असन्तुष्ट नेताहरू गगनको पुस्तान्तरणको नारामा समेत रुष्ट देखिएका छन् । महामन्त्री थापा भने १५औँ महाधिवेशनमा शेखरलाई सभापतिमा समर्थन गर्ने वचन दिन तयार हुनुहुन्छ तर संसदीय दलको नेताको चुनाव लड्नबाट पछि हट्न तयार नरहेको निकट नेताहरूको भनाइ छ । शेखर र गगन १४औँ महाधिवेशनमा एउटै समूहमा जोडिनुभएको थियो ।

पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने
कांग्रेसले पुस ३ गतेपछि मात्रै संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई पुस ३ गते प्रमाणपत्र दिने भएको छ । समानुपातिक सांसदले निर्वाचित भएको प्रमाणपत्र बुझेपछि मात्रै संसदीय दलको नेता चयनका बारेमा छलफल अघि बढ्ने कांग्रेसले जनाएको छ । कांग्रेस सहमहमन्त्री बद्री पाण्डेले संसदीय दलको नेता चयनबारे अनौपचारिक छलफल सुरु भइसकेको भए पनि औपचारिक छलफल भने पुस ३ गतेपछि मात्रै हुने बताउनुभयो । कांग्रेसमा २०७४ सालको चुनावपछि पनि संसदीय दलको नेता चयनमा चुनाव भएको थियो । कांग्रेस पार्टी विधानअनुसार संसदीय दलको नेता हुन जम्मा मतको ५१ प्रतिशत मत ल्याउनुपर्छ । ५१ प्रतिशत मत नल्याए पुनः चुनाव गर्ने व्यवस्था छ । अब राष्ट्रपतिले केही दिनमा नयाँ सरकार गठनका लागि दलहरूलाई आहृवान गर्ने तयारी गर्नुभएको छ । यसबीचमा दलहरूले संसदीय दलको नेता चयन गर्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?