समाजसेवाबाट उदाएकी ‘शिमा’

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 7 mins

सिन्धुली । ‘बाचौँ बचाऔँ, हासौँ हसाऔँ’ यो टिकटक राहत वितरण समुहको मुख्य नारा हो । यसको प्रचारप्रसार विभाग प्रमुख शिमा श्रेष्ठ (२७) हुनुहुन्छ । उहाँको नेतृत्वमा दुधौली नगरपालिका–३ कालापानीका सुकुम्मबासी परिवारले चार महिना पुग्नेगरी खाद्यन्न सामाग्री पाएका छन् ।

१४ परिवारले चार महिना पुग्नेगरी चामल, चिउरा, तेल लगायत जाडोमा न्यानो हुने एक थान ओड्ने पाएका हुन् । २३ मंसिरमा पाएको राहतले लाभग्राहीलाई जीविका धान्न सहज भएको छ । राहत सामाग्री प्राप्त गर्नुभएकी मनमाया तामाङले बिहान–बेलुका सहजै चुलो बलेको बताउनुभयो ।

उहाँको परिवार काम र दाम नभएर खाद्यन्नको अभावमा थियो । उहाँको परिवारजस्तै राम पुकार अधिकारी दनुवार, मनमाया सार्की लगायत १४ जनाको परिवारले खाना बनाउने समयमा रित्तो बोरा बोकेर सामल खोज्न हिड्नु नपरेको बताएका छन् ।

श्रेष्ठले आर्थिक अवस्था अत्यन्तै कम्जोर भएका परिवारलाई टिकटकको प्रयोग गरेर राहात सामाग्री संकलन गरि वितरण गर्नुभएको हो । आफ्नो माइती गाउँ कालापानीबाट उहाँले राहत सामाग्री हस्तान्तरण गर्नुभयो थियो ।

आफ्नो वडाभित्र सुकुम्मबासी परिवारको संख्या ठूलै रहेको वडाध्यक्ष भद्रा कुमारी माझीले बताउनुभयो । सरकारले सीप, लगानी तथा रोजगारी दिन सक्नुपर्नेमा उहाँको जोड छ । वडामा भएको सिमित स्रोतसाधनको परिचालन गरेर आयस्तर उकास्न आफू लागिरहेको उहाँले बताउनुभयो ।
आफ्नै जिविका चलाउन धौधौ भएको अवस्थामा आफू जस्तालाई सहयोग गर्ने श्रेष्ठलाई उहाँले सम्मान प्रकट गर्दै धन्यवाद समेत दिनुभएको छ । कुनैपनि सामाजिक सञ्जाल आफँैमा नराम्रा नहुने भन्दै उहाँले जसरी सबैको सही ठाउँमा प्रयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

टिकटकबाट आफूले साथी, आफन्त र आफ्नो परिचय पाएको सहयोगी श्रेष्ठले बताउनुभयो । ‘टिकटक मेरो पीडा भुलाउने साथी हो, आफू बाँच्ने अरुलाई बचाउने, आफू हाँस्ने अरुलाई हसाउने माध्यम भएको छ,’ उहाँले भन्नुभयो ।

गरीबीका कारण १४ बर्षको कलिलो उमेरमा विवाह गर्नुभएकी श्रेष्ठ श्रीमानबाट पीडित हुनुहुन्छ । घर चिसापानीमा श्रीमानले मादक पदार्थ सेवन गरेर दिनहूँ कुटपीट गर्ने, मानसिक तथा शारीरिक याताना दिने गर्नुहुन्थ्यो । उक्त हिंसा सहन नसकेर दुई वटा बालखा छोरा च्यापेर उहाँ काठमाडौँ जानुभएको थियो ।
लेभर तथा घरायसी काम गरेर दुई छोरालाई पाल्दै, पढाउँदै आउनु भएको उहाँ टिकटक राहत वितरण अभियानमा आवद्ध हुनुहुन्छ । उहा टिकटक डान्स ट्यालेन्ट नेपालले आयोजना गरेको नृत्य प्रतियोगितामा प्रथम हुनुभएको थियो । १३१ जनामध्यमा प्रथम भएर नगद बीस हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको भिडियो उहाँले टिकटकमा पनि राख्नुभएको छ । उहाँले पटकपटक अन्य पुरस्कारसमेत हात पार्नुभएको छ ।

‘म गरिब परिवारमा हुर्किएको मान्छे हूुँ महोदय, दिनकै कपडा परिर्वतन गर्न हैन । दुई क्षाक खानको लागि दिन रात अरुको काम गर्नुपर्छ’ यो आवाजको टिकटकमा श्रेष्ठले ढुङगा फुटाउँदै गरेको दृष्य देखिन्छ । ‘रातदिन पीडामा छट्पटिदा कसैले सोध्दैनन् तलाई के भयो भनेर, जब एकदिन मुहारमा हाँसो आउँछ नी अनि सबैले भन्छन्, क्या मोज छ है तेरो जिन्दगी’ यस आवाजमा इँटा बनाउँदै गरेको भेटिनु हुन्छ ।

‘आफ्नालाई चिन्न जिन्दगीमा सुख हैन, दुख आउनु पर्छ, अनि चिनिन्छ आफ्ना को रैछन भनेर’ यस आवाजमा बनाइएको टिकटिकमा घरको जग खन्दै हुनुहुन्छ । यि र यस्ता सबै भिडियो टिकटकमा भाइरल छन् । कुनै पनि काम ठूलो–सानो नहुने र दुख गरेर खान लाज मान्न नहुने उहाँको धारणा छ ।

भन्नुभयो, ‘कतिपयले टिकटकमा भाइरल हुन यस्तो काम गरि टोपलेको भन्ने ठान्नुहुन्छ । तर, मैले गर्ने काम यि र यस्तै हो । मागेर खान पो लाज हुन्छ, पसिना बगाएर कमाएको खाँदा शान हुन्छ नी हैन ?’

अहिले परिश्रम गरेर सामान्य जीवन चलाउन आफ्नो स्वाभिमानले सकेको उहाँले सुनाउनुभयो । कामको दुख भएपनि खानाको दुख हुँदैन भनेर श्रेष्ठलाई परिवारले सानै उमेरमा विवाह गरिदिएका थिए ।
‘बर्खाको समयमा छानो चुहिन्थ्यो । जता पानी चुहिदैँन आमाले त्यतै सारी ओढाएर सुताउनु हुन्थ्योे । गरीवीकै कारण पढ्न पाइएन । मैले जसरी दुखमा कसैले गुजारीन नपरोस् भनेर यो अभियानमा जोडिएकी हुँ,’ उहाँले सुनाउनुभयो ।

टिकटक राहत वितरण समुहले टिकटकबाटै राहत संकलन गरेर सुकुम्बासी परिवारलाई वितरण गदैँ आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?