नगरपालिकाहरूमा अव्यवस्थित शहरीकरण बढ्यो : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो कामकारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । सोमबार नेपाल नगरपालिका संघको आठौँ राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले जनताको अपेक्षा र आवश्यकतालाई उचित सम्बोधन हुने गरी स्थानीय स्रोत, साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिको जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहितालाई कुशलताका साथ निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहको सम्भाव्य स्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाका रूपमा विकास गर्दै लैजानु आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाका आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने भएकाले नगरपालिकाहरूले जनताको विश्वास र मन जित्ने गरी काम गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले जनताको काम बिनाझन्झट, छिटो, छरितोरूपमा सम्पन्न गरी आमनागरिकमा सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिका प्रतिबद्ध हुन आवश्यक रहेको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगर पूर्वाधार सेवाहरू, योजनाबद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलेसा, हरियाली क्षेत्र र सरसफाइ आदिको समुचित प्रबन्ध गर्न आवश्यक रहेको पनि बताउनुभयो ।

उहाँले मुलुकका अधिकांश नगरपालिकाहरू अव्यवस्थित शहरीकरणबाट गुज्रिँदा नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र शहरहरू दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रका रूपमा परिणत भइरहेको बताउनुभयो । उहाँले काठमाडौंलगायत सबै नगरहरूलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउन आवश्यक रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले वातावरणमैत्री शहरको अवधारणाअनुसार दिगो विकासको मोडेल अवलम्बन गर्न सुझाव दिनुभयो । उहाँले शहरहरूलाई आर्थिक विकासको हबका रूपमा समेत विकास गर्ने कार्यमा सहयोगी भूमिका निर्वाह गर्न नगरपालिका संघलाई आग्रह गर्नुभयो ।

मुलुकभित्रका सबै नगरपालिकालाई सुनियोजित, सुव्यवस्थित तरिकाले आफ्नो मौलिक पहिचान र विशिष्टतासहित नमुना नगरपालिका बनाउन आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले नगरपालिकाले नगरसम्बन्धी कानुन बनाउने र नगरको समग्र समस्या संघ र प्रदेशलाई उजागर गराई रचनात्मक समारोहको बाटो पहिल्याउन आवश्यक रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?