कृषकलाई प्रोत्साहित गर्न नसक्दा धौलागिरि क्षेत्रबाट लोप हुँदै रैथाने बाली

फाइल तस्बिर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । धौलागिरि क्षेत्रबाट रैथाने बालीहरु लोप हुँदै गएका छन् । केही वर्ष अघिसम्म म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लाका उच्च हिमाली क्षेत्रदेखि तल्लो क्षेत्रका फाँटहरुमा लगाइने रैथाने बालीहरु हिजोआज लोप हुँदै गएको हो ।

उन्नत जातको बीउको अभाव, बाली संरक्षणका लागि सरकारले प्रभावकारी कार्यक्रम नल्याउनु, कृषक पनि रैथाने बालीको खेतीतर्फ आकर्षित नहुनु जस्ता कारणले कोदो, जौं, लट्टे लगायतका रैथाने बाली लोप हुने अवस्थामा पुगेका कृषकहरुले बताएका छन् ।

पुखौँदेखि उत्पादन गरिँदै आएका रैथाने बालीहरुको उत्पादनमा नयाँपुस्ता आकर्षित नहुँदा लोपोन्मुख हुँदै गएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयाे । रैथानेबाली उत्पादनका लागि लगानी र समय धेरै लाग्ने तर प्रतिफल अत्यन्तै न्यून हुने भएकाले पछिल्लो समय किसानले यसको खेती गर्न छाडेका उहाँको भनाइ छ ।

रैथाने बाली अन्तर्गत आगाँ, जौ, ताकमारे, गुडुरा, गौरिया जातका धान, कोदो, जौँ, लट्टे, कागुनो, फापर, उवा, चिनो, सिलाम आदि रहेका छन् । यी बालिहरुलाई संरक्षण गर्नका लागि सरकारले बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्र निर्माण गरे पनि त्यसको प्रभावकारिता भने नदेखिएको कृषि क्षेत्रका जानकारहरु बताउँछन् ।

उन्नत जातको बीउको अभाव, बाली संरक्षणका लागि सरकारले प्रभावकारी कार्यक्रम नल्याउनु, कृषक पनि रैथाने बालीको खेतीतर्फ आकर्षित नहुनु जस्ता कारणले कोदो, जौं, लट्टे लगायतका रैथाने बाली लोप हुने अवस्थामा पुगेका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयाे ।

सरकारले विशेष गरी कोदो, लट्टे, कागुनो र फापरलाई रैथाने खाद्यको रुपमा विस्तार गर्दै लैजाने योजना बनाएको भए पनि भारत लगायतका विभिन्न देशहरुबाट कोदो, मकै, चामल लगायतका वस्तु आयात वर्षेनी बढ्दो क्रममा रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयाे ।

यस क्षेत्रमा कोदोको परिकार खाने परम्परा कम हुँदै आएको छ । जिब्रोको मिठासको भरमा नेपालमै उत्पादित भन्दा भारतबाट आयातित चामल बढी प्रयोगमा आएको देखिन्छ । फापर, लट्टे, कागुनो, जौँ लगायतका खाद्य पदार्थहरु प्रयोग हुँनै छाडे जस्तो देखिन्छ । गाउँघरमा परिवारलाई आवश्यक पर्ने जति मात्र उत्पादन गर्ने भए पनि व्यवसायिक रुपमा उत्पादन गर्ने प्रचलन नरहेको बागलुङ मुलपानीका कृषक रमेश पौडेलले बताउनुभयाे ।

कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलका अनुसार रैथाने बाली मानिने, कोदो, फापर, कागुनो, लट्टे जस्ता बाली अहिले धेरैले लगाउनै छाडिसकेका छन् । खेती गर्नेले पनि आफ्नै परिवारलाई आवश्यक पर्ने जति मार्ग रोप्ने गरेका छन् । उहाँले भन्नुभयाे ‘रैथाने बाली बचाउन सरकारले अनुदानको समेत व्यवस्था गरेको छ तर, पनि धेरै यसबाट टाढा छन् ।’

हाइब्रीड तथा उन्नत बीउका कारण रैथाने बालीहरु लोप हुने क्रम बढेको कृषि वैज्ञानिक टीकाबहादुर कार्की बताउनुहुन्छ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना अन्तर्गत रैथाने बालीलाई प्रथमिकता दिएको भए पनि कृषकहरु रैथाने बाली संरक्षणतर्फ आकर्षित नदेखिएका उहाँले बताउनुभयाे ।

पछिल्लो समय नेपालको मकैलाई विस्थापन गर्दै चिनबाट ‘वेक्स क्रप’ (मकै) आयात हुन थालेको उहाँको भनाइ छ । उक्त मकै उसिनेर खान धेरै प्रयोग हुने भएकाले आयात धेरै भइरहेको उहाँले जानकारी दिनुभयाे ।

विगत १०/१२ वर्षदेखि आयात हुन थालेको सोे चिनियाँ मकै विशेष गरी रेष्टुरेन्टहरुमा प्रयोग हुने गरेको छ ।

कृषि प्राविधिकहरुका अनुसार कोदो, चिनो, कागुनो, जुनेलो, बाजरा, साँवा आदि बालीहरु सबै कोदो वर्गमा पर्दछन् । यो औला आकारका हुनाले यसलाई अंग्रेजिमा ‘फिङ्गर मिलेट’ भनिन्छ । कोदो नेपालमा धान, मकै र गहुँ पछि चौथो महत्वपूर्ण खाद्यन्न बाली हो । नेपालमा कोदो बाली क्षेत्रफल घट्दो क्रममा रहेको छ ।

देशको कुल खाद्यन्न बालीको क्षेफलको ७.७ प्रतिशत हिस्सा ओगटेको कोदोले क्षेत्रफलको ९५ प्रतिशत क्षेत्रफल पहाडी भेगमा पर्दछ ।
कोदो नेपालका ७७ जिल्लामै उत्पादन हुने भएता पनि म्याग्दी,खोटाङ, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा, कास्की, ओखलढुंगा, गोरखा र सिन्धुलीमा धेरै उत्पादन हुने गरेको छ ।

कोदोका फाइदा कोदोमा चामल र मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा ७.७ गुणा बढी क्याल्सियम पाइन्छ । चामल भन्दा २.३ गुणा, मकैभन्दा ३.७ गुणा र गहुँभन्दा १.५ गुणा बढि आइरन पाइन्छ । सय ग्राम कोदोमा औसत ७६.३ ग्राम कार्वोहाइड्रेड, ९.२ ग्राम प्रोटिन, २.२ खरानी, १.४ ग्राम चिल्लो, ३.५ ग्राम रेशा, ३६० मिलिग्राम क्याल्सियम, ७.४ ग्राम आइरन, २५३ मिलिग्राम फस्फोरस हुन्छ ।

कोदोमा दूधमा जस्तै मिथायोनिन, सल्फरयुक्त एमिनो एसिड पाइन्छ । यो हुर्कदो उमेरका बालबालिका, गर्भिणी महिला, मधुमेह र उच्च रक्तचापका बिरामीलाई समेत नियमित सेवन गराउदा धेरै फाइदा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?