प्रतिनिधिसभा सदस्यले आज शपथग्रहण गर्दै

संसद् अधिवेशन आहृवानपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्छ : प्रवक्ता पाण्डे

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथग्रहण आज हुँदै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले दिउँसो १ बजे सांसदहरूलाई शपथ गराउने संसद् सचिवालयले जनाएको छ । ज्येष्ठ सदस्य जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गरिसक्नु भएको छ । सचिवालयका अनुसार मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका सदस्यहरूले शपथग्रहण गर्नुहुने छ ।

ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदहरूलाई शपथ गराउनुहुने संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सांसदहरूले मातृ भाषामा समेत शपथग्रहण गर्न पाउनेछन् । तर, त्यसका लागि पूर्व-सूचना दिनुपर्ने उहाँले बताउनुभयो । ‘प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले राष्ट्रपतिबाट शपथग्रहण गर्नुभएको छ । आज (बिहीबार) १ बजे प्रतिनिधिसभाका सम्पूर्ण सदस्यज्यूहरूका लागि शपथग्रहण कार्यक्रम आयोजना गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘ज्येष्ठ सदस्यले शपथग्रहण गराउनु हुनेछ । शपथग्रहणका लागि नेपाली भाषामा लेखिएको प्रमाणपत्रको शपथको व्यहोरा सहितको पत्र उपलब्ध गराउनेछौँ । शपथग्रहणको लागि पूर्व-सूचना दिएर मातृ भाषामा शपथग्रहणका लागि अनुवाद गरेर उहाँहरूले आफ्नो भाषामा ल्याउनुभएको छ । त्यसलाई पनि हामीले समावेश गर्नेछौँ । मान्यज्यूहरूले आफ्नो मातृ भाषामा पनि शपथग्रहण गर्न सक्नुहुन्छ ।’

२०७४ सालको प्रतिनिधिसभा सदस्यहरूलाई महन्थ ठाकुरले शपथ ग्रहण गराउनुभएको थियो । निर्वाचित सांसद मध्येका ज्येष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आहृवान गर्नेबित्तिकै सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । राष्ट्रपतिबाट संसद् अधिवेशन आहृवान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढाइने संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताउनुभयो । उहाँका अनुसार संसद् अधिवेशन आहृवान भएको १५ दिनभित्र सभामुखको निर्वाचन सम्पन्न गर्ने कानुनी व्यवस्था छ । ‘राष्ट्रपतिबाट संसद् अधिवेशन आहृवान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्ने गरी कानुनमा व्यवस्था भएको हुनाले त्यहीअनुसार एजेण्डा अघि बढ्छ,’ उहाँले भन्नुभयो ।

रवि लामिछानेलाई शपथ लिने बाटो खुल्यो
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको योग्यताको विषयमा परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार संवैधनिक इजलासमा प्रारम्भिक सुनुवाइपछि विपक्षी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, लामिछाने, काठमाडौं जिल्ला प्रशासन कार्यालय र संघीय संसद् प्रतिनिधिसभाविरुद्ध कारण देखाऊ आदेश जारी भएको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

अदालतले अन्तरिम आदेश जारी नगरेपछि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको रूपमा शपथ लिने बाटो खुलेको छ । रविले अमेरिकी नागरिकता नत्यागी निर्वाचन आयोगमा दल दर्ता गरेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेको तथा चितवन–२ बाट निर्वाचितसमेत भएकाले लामिछानेलाई प्रतिनिधिसभा सदस्यको रूपमा काम कारबाही गर्न नदिन माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ लिने कार्यक्रम बिहीबारका लागि निर्धारण गरिएको छ ।

सभामुखको भूमिका तटस्थ हुनुपर्छ, सबैसँग समन्वय गरेर अघि बढ्नेछु : जबरा
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सभामुखको पदभार ग्रहण गर्नुभएको छ । बुधबार सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्नुअघि ज्येष्ठ सदस्य सभामुख जबराले राष्ट्रपति निवासमा पुगेर ज्येष्ठ सदस्यको हैसियतले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको थियो । त्यसलगत्तै सभामुखको कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि उहाँले सभामुखको भूमिका तटस्थ र स्पष्ट हुनुपर्ने बताउनुभयो ।

ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिकालाई निष्पक्ष राख्ने उहाँले बताउनुभयो । देशका लागि राम्रो काम गर्न सबै राजनीतिक दलहरूबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो । ‘सभामुखको भूमिका स्पष्ट छ । तटस्थ हुनुपर्छ । देशको भलोको लागि सबैको बीचमा समन्वयात्मक भूमिका निभाउनु पर्नेछ,’ उहाँले भन्नुभयो, ‘सबैसँग समन्वय गरेर अघि बढ्नेछु । सदनको पवित्र प्रजातान्त्रिक भावना र बहुदलीय स्वरूपलाई अघि बढाउने काम गर्नेछु । केही दिनका लागि भए पनि मुलुकको अभिभावकको रूपमा देशलाई अघि बढाउन पहल गर्नेछु ।’ ८१ वर्षीय जबरा प्रतिनिधिसभामा सबैभन्दा बढी उमेरको सांसद हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?