विश्वकपमा रोनाल्डो सर्वाधिक अफसाइड

Read Time = 2 mins

दोहा । फिफा विश्वकप कतार २०२२ मा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो अफसाइड हुने खेलाडीको शीर्ष स्थानमा रहनुभएको छ । विश्वकपमा रोनाल्डोले पाँच खेलमा २९१ मिनेट मैदानमा बिताउँदा सातपटक अफसाइड हुनुभएको हो । पोर्चुगल क्वाटरफाइनलबाट बाहिरिनुको एउटा कारण रोनाल्डोका गोल गर्ने यी सात अवसरहरू खेर जानु समेतलाई मानिएको छ । दोस्रो स्थानमा किलियन एमबाप्पे सात खेलमा ५९७ मिनेट खेल्दा ६ पटक अफसाइड हुनुभएको छ । यस्तै, गोल्डेन बल विजेता मेस्सी भने सात खेलमा ६९० मिनेट खेल्दै तीनपटक अफसाइड हुनुभयो ।

क्वाटरफाइनलमा मोरक्कोविरुद्ध पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएको थियो । उक्त खेलमा रोनाल्डोलाई प्रशिक्षक फर्नाण्डो सान्तोसले सुरुवाती ११ मा समेत मौका दिनुभएको थिएन । विश्वकपको पहिलो खेलमा घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै रोनाल्डो विश्वकपको पाँच फरक संस्करणमा गोल गर्ने पहिलो पुरुष खेलाडी बन्नुभएको थियो ।

तेस्रो खेलमा पनि उहाँलाई प्रशिक्षक सान्तोसले परिवर्तन गर्नुभएको थियो । समूह चरणको तीनै खेल सुरुवात गर्नुभएका रोनाल्डोले प्रतियोगिताभर कुनै खेलमा पूरा ९० मिनेट खेल्न पाउनुभएन । प्रतियोगिताको नकआउट चरणको दुवै खेलमा उहाँ बेन्चमै हुनुहुन्थ्यो ।
समग्रमा रोनाल्डोले सन् २००६ देखि २०२२ सम्म पाँचपटक विश्वकप खेल्दै कीर्तिमान रच्न सफल हुनुभयो । यसक्रममा उहाँले कुल २२ खेल खेल्दै आठ गोल गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?