गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र

हिमालय टाइम्स
Read Time = 7 mins

खोटाङ । खोटाङको ऐंसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको छ । निर्माण कम्पनी रुजन-जगदम्बा-भुवनेश्वरी एण्ड वैभव जेभी, नयाँ बानेश्वर काठमाडौंका प्रतिनिधिले भवनको ‘नक्कली’ ल्याब रिपोर्ट बनाएको विषय बाहिरिएपछि प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको हो । गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले २०७८ असारमा ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौताअनुसारको गुणस्तर कायम नगरेको’ औंल्याए पनि निर्माण कम्पनीका प्रतिनिधिले पास भएको नक्कली ल्याब रिपोर्ट तयार पारेर पेश गरेपछि गाउँपालिकाले कारबाही प्रक्रिया अघि बढाएको थियो ।

निर्माण व्यवसायीले भवन निर्माणको काममा ढिलासुस्ती गरेको, गुणस्तरहीन काम गरेको तथा भवनको ग्राउण्ड फ्लोरको पिलरको ल्याब रिपोर्ट फेल आए पनि पास भएको रिपोर्ट बनाएर पेश गरेको खुलेपछि गाउँपालिकाले ११ पुस २०७८ मा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम भवन निर्माणसम्बन्धी ठेक्का रद्द गर्ने, निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नेदेखि धरौटी असुल गर्नेसम्मको प्रक्रिया अघि बढाएको थियो । किर्ते ल्याब रिपोर्ट बनाइएको काण्डले करिब ३० प्रतिशत सम्पन्न नहुँदै २०७८ जेठदेखि भवन निर्माणको काम अलपत्र बनेको हो । थप काम अघि नबढ्ने गरी टुंगो लागेर अलपत्र बनेको भवनलाई प्रयोगमा ल्याउने विषयमा छलफल भइरहेको ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र राई बताउनुहुन्छ ।

ठेक्का तोड्नेदेखि धरौटी जफतसम्मका निर्णयविरुद्ध निर्माण व्यवसायी अदालत पुगेको थियो । तर, निर्माण व्यवसायीको पक्षमा भएको अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले खारेज गरेसँगै निर्माण कम्पनीसँग ठेक्का तोड्नेदेखि धरौटी जफत गर्ने निर्णय कार्यान्वयन गर्ने कानुनी अड्चन हटेको थियो ।

प्रशासनिक भवनको पहिलो ग्राउण्ड फ्लोरको पिलरको गुणस्तर परीक्षणका लागि स्याम्पल (कंक्रिट क्युब) संकलन गरेर २१ जेठ २०७८ मा गुणस्तर अनुसन्धान तथा विकास केन्द्र पठाइएको थियो । २३ असार २०७८ मा फेल भएको ल्याब रिपोर्ट प्राप्त गरेको निर्माण कम्पनीले गाउँपालिकालाई भने १० साउन २०७८ मा सो रिपोर्ट उपलब्ध गराएको थियो । तर, दुई दिनपछि निर्माण व्यवसायीले पहिलाको रिपोर्टमा त्रुटि भएको भन्दै गाउँपालिकालाई अर्को नयाँ ल्याब रिपोर्ट इमेलमार्फत् पठायो, जहाँ ‘२३ असार २०७८ मा परिपत्र भएको क्युब टेष्टको रिपोर्ट मेसिनमा केही त्रुटि भई गलत रिपोर्ट प्रिन्ट भएकाले उक्त रिपोर्ट फेरि सच्याएर पठाइएको’ उल्लेख छ । तर, २७ भदौ २०७८ मा गुणस्तर अनुसन्धान तथा विकास केन्द्रबाट गाउँपालिकालाई प्राप्त भएको पत्रले निर्माण कम्पनीले फेल भएको ल्याब रिपोर्टको सट्टा पास भएको नक्कली ल्याब रिपोर्ट तयार पारेर पेश गरेको खुलेको हो ।

प्राविधिक शाखामा पेश भएको ल्याब रिपोर्ट अध्ययन र विश्लेषण गर्दा नक्कली र झुटो भएको आशंकामा सो ल्याब रिपोर्टको सत्यता ‘भेरिफाइ’का लागि गाउँपालिकाले १५ भदौ २०७८ मा गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पत्राचार गरेको थियो । केन्द्रको जवाफपछि निर्माण कम्पनीले सरकारी कागजात दुरूपयोग गरेको प्रमाणित भएको हो ।

गाउँपालिकाले प्रदेश सरकारसँगको अनुदानमा प्रशासकीय भवन निर्माणका लागि २६ माघ २०७६ मा टेण्डर आहृवान गरेको थियो । १४ जेठ २०७७ मा प्रथमपटक सम्झौता गरिएको भवन निर्माणको म्याद कोभिड-१९ को महामारीका कारण २०७८ मसान्तसम्म थपिएको थियो । तीन करोड ६९ लाख ८५ हजार ८७३ रुपैयाँमा टेण्डर आहृवान गरिएको भए पनि सो निर्माण कम्पनीले मूल्य अभिवृद्धि करसहित दुई करोड ६८ लाख ४३ हजार ३४६ रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का पारेको थियो । ३० चैत २०७७ मा पेस्की २२ लाख ५० हजार फस्र्याेट गरेको निर्माण व्यवसायीले ३९ लाख ९० हजार ७५३ रनिङ बिलमार्फत् भुक्तानी लिएको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐंसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र पार्ने निर्माण कम्पनी रुजन-जगदम्बा-भुवनेश्वरी एण्ड वैभव जेभीलाई सार्वजनिक खरिद अनुगमनको कार्यालय काठमाडौंले एक वर्षका लागि कालोसूचीमा राखिसकेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ९ साउन २०७९ मा प्रकाशन गरेको सूचनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी ८ साउन २०८० सम्मका लागि निर्माण व्यवसायी÷आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?