सेन्ट्रल जोनमा नेपालको हार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यु-२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग हार व्यहोरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहीद शुरवार्दी नेशनल इण्डोर रंगशालामा नेपाल बंगलादेशसँग ३-०को सोझो सेटमा पराजित भएको हो ।

पहिलो सेटमा एक समय दुई-आठले पछि रहेको नेपालले उत्कृष्ट पुनरागमन गर्दै १०-१०को बराबरी गर्दै १२-१०ले अग्रता लिन सफल भएको थियो । तर, त्यो अग्रतालाई जोगाउन नसक्दा नेपालले पहिलो सेट २४-२६ ले गुमाउन पुग्यो । २४-२४को बराबरीको स्थितिमा नेपालले अंक बटुल्न सकेन ।

दोस्रो सेटमा एक समय सात-दुईको आरामदायी अग्रतामा रहेको नेपालले त्यसलाई जोगाउन सकेन । बंगलादेशले १०-७को स्थितिबाट लगातार तीन अंक जोड्दै खेललाई १०-१०को बराबरीमा ल्याउँदै खेलमा पकड बनाउँदा नेपाल खेलमा फर्कन सकेन । त्यसपछि नेपाल १८-२१ले पछि पर्‍यो । त्यसपछि नेपालले खेललााई २२-२४ को स्थितिमा ल्याए पनि बंगलादेशले अंक बटुलेपछि नेपालले दोस्रो सेट २२-२५ ले गुमाउन पुग्यो ।

तेस्रो सेटमा पनि नेपालले बंगलादेशलाई बलियो चुनौती पेश गरे पनि पराजित हुन पुग्यो । नेपालले तेस्रो सेट २५-२१ले गुमाउन पुग्यो । राउण्ड रोविन लिगको दोस्रो खेलमा नेपालले अब ८ पुसमा श्रीलंकासँग खेल्नेछ । त्यसपछि ९ पुसमा किर्गिस्तानसँग खेल्नेछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेका कारण चारै टोली सेमिफाइनलमा पुगिसकेको छ । सहभागी टोलीले राउण्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?