फुटसल उपाधि काठमाडौं बारलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले फिटनेश फर लयर्सअन्तर्गत आयोजित फुटसल प्रतियोगिताको उपाधि जितेको छ । ६७औँ बार दिवसका उपलक्ष्यमा आयोजित इन्टर भ्याली बार फुटसल टुर्नामेन्ट २०७९ मा आयोजक काठमाडौं जिल्ला अदालत बारले जित हासिल गरेको हो ।

हेल्लो युवा लयर्स प्रोग्राम कमिटीका संयोजक संकल्प क्षेत्रीको संयोजनमा भएको प्रतियोगितामा उच्च अदालत बार एसोसिएसनले दोस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा उल्लेखित दुईसँगै भक्तपुर जिल्ला अदालत बार एसोसिएसन र ललितपुर जिल्ला अदालत बार एसोसिएसन गरी चार टिम सहभागी थिए ।

लिग चरणमा आधारित खेलमा अंकका आधारमा आयोजक काठमाडौं जिल्ला अदालत बार र उच्च अदालत बार फाइनलमा पुगेका थिए । पुस ७ गते भएको फाइनल खेलमा काठमाडौं जिल्ला अदालत बारले उच्च अदालत बारमाथि ५-० गोलअन्तरको जित हासिल गरेको हो ।

कायम–मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र नेपाल बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले काठमाडौं जिल्ला अदालत बारलाई प्रथम पुरस्कारस्वरूप कप, प्रमाणपत्र, मेडल हस्तान्तरण गर्नुभएको थियो । उपविजेता उच्च अदालत बार एसोसिएसनले प्रमाणपत्र तथा मेडल र सहभागी भक्तपुर जिल्ला अदालत बार तथा ललितपुर जिल्ला अदालत बारले सहभागिताको प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा नौ गोलसहित सर्वाधिक गोलकर्ता काठमाडौं जिल्ला अदालत बारका खेलाडी एवं हेल्लो युवा लयर्स प्रोग्राम कमिटीका संयोजक संकल्प क्षेत्रीलाई प्रमाणपत्र तथा गोल्डेन बुटसमेत हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?