कोरियाली प्रायद्वीप समस्या समाधानमा चीनको जोड

Read Time = 3 mins

संयुक्त राष्ट्रसंघ । चीनले कोरियाली प्रायद्वीप समस्या समाधानमा जोड दिएको छ । संयुक्त राष्ट्रसंघका लागि चीनका उपस्थायी प्रतिनिधि गेङ श्वाङले राष्ट्रसंघीय सुरक्षा परिषद्को शुक्रबारको बैठकमा उहाँले उक्त कुरामा जोड दिनुभएको हो । कोरियाली प्रायद्वीप समस्या समाधान प्रमुख राष्ट्रहरूबीचको सुदृढ सम्बन्ध र स्थिर क्षेत्रीय वातावरणमा निर्भर रहेको बताउँदै चिनियाँ कूटनीतिज्ञले ती देशले नै उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । प्रायद्वीपको विषयलाई लिएर प्रमुख क्षेत्रीय देशले सामान्यतया स्थिर र सहयोगी सम्बन्ध राखेमा कूटनीतिक प्रयास प्रभावकारी हुनसक्ने उहाँले बताउनुभयो ।

उपप्रमुख गेङले हालैका वर्षहरूमा केही देशले प्रायद्वीपको मुद्दालाई जानाजानी तनाव सिर्जना गर्ने, हिन्द-प्रशान्त रणनीतिमा प्रायद्वीपलाई समावेश गर्ने, गठबन्धन र साझेदारीलाई बलियो बनाउन र यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाउने प्रयास भइरहेको यथार्थ सुनाउनुभयो ।

शीतयुद्धको मानसिकतायुक्त त्यस्ता अभ्यासले टकराव बढाउने, दलहरूबीचको आपसी विश्वासलाई कमजोर पार्ने उल्लेख गर्दै उहाँले आफ्नै भूराजनीतिक स्वार्थ पूरा गर्नेबाहेक प्रायद्वीपमा शान्ति र स्थायित्व कायम नहुने बताउनुभयो । ‘पछिल्ला गतिविधिबाट निःशस्त्रीकरणलाई अगाडि बढाउने लक्ष्यमा तुषारापात भएको छ’, अमेरिका, जापान र दक्षिण कोरियाको नाम उल्लेख नगरी उहाँले भन्नुभयो ।

वार्ताको माध्यमबाटै प्रायद्वीपलाई समस्याबाट मुक्त गर्न सकिने विचार व्यक्त गर्दै उहाँले त्यहाँ तनाव कम गर्न र राजनीतिक समाधानलाई बढावा दिन सुरक्षा परिषद्ले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । कोरियाली प्रायद्वीपका समस्या समाधानका निम्ति चीन, रुस र अन्य देशले प्रस्तुत गरेका उचित प्रस्तावलाई केही देशले बेवास्ता गरेका तथा प्रतिबन्ध, दबाबबाटै निकास निष्कन्छ भन्ने लघु सोचप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?