अस्थायी काठेपुलको भरमा कालीगण्डकी वारपार

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भूरुङतातोपानी देखि अन्नपूर्ण गाउँपालिका-६ पाउद्धारको तातोपानी कुण्ड जानकालागि कालीगण्डकी नदीमा अस्थायी काठेपुलको प्रयोग गर्नुपर्ने वाध्यता रहको छ ।

हिउँदको समयमा मात्र प्रयोग गर्न सकिने यो काठेपुल पनि स्थानीय एक युवाले आफ्नो व्यक्तिगत लगानीमा निर्माण गरेका हुन् । देशमा तीन तहका सरकार भएपनि पुल निर्माणमा कसैले पनि चासो नदेखाएपछि स्थानीय युवा कुमार तिलिजाले व्यक्तिगत रु १ लाख लगानी गरी उक्त काठेपुल निर्माण गरेको बताउनुभयो ।

स्थानीय प्रवधिको प्रयोग गरेर निर्माण गरिएको उक्त काठेपुल हिउँदको समयमा मात्र प्रयोग गरिन्छ । वर्खामा कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुनेभएकाले तातोपानी कुण्डमा उपचारका लागि जाने विरामी र अरु पर्यटकहरू नारच्याङको बाटो हुँदै एकघण्टा समय खर्चेर पाउद्धार तातोपानी कुण्डमा पुग्ने गर्दछन् ।

पुल नहुँदा नारच्याङ पुगेर करिब एक घण्टाको घुमाउरो बाटो हिड्नुपर्ने बाध्यता हटाउन कालीगण्डकीमा अस्थायी पुल निर्माण गरिएको तिलिजाले जानकारी दिनुभयो ।

‘यस कुण्डमा नियमित रुपमा स्नान गर्ने विरामी र पर्यटकहरू समेत आउने गर्छन, तर बाटो घुमाउरो हुँदा आवत जावतमा झण्झट भएकाले हिउँदयामको लागि मात्रै भएपनि अस्थायी साँघु बनाएका हौँ’ उहाँले भन्नुभयो, पुल बनाउन काठका फ्ल्याक, बाँस र ग्यावियन झाली प्रयोग गरिएको छ । वारपार गर्दा सुरक्षाका लागि पुलको दायावाया काठकै रेलिङ हालिएको छ । पक्की झोलुङ्गे पुल नहुँदा वर्षेनी यहाँका स्थानीयले हिउँदयामका लागि मात्रै अस्थायी रुपमा काठको पुल बनाउने गर्दछन् ।

कालिगण्डकी नदीमा पुल नहुँदा कुण्डमा स्नान गर्न आउने पर्यटक र विरामीहरू नारच्याङको पुल तरेर घुमाउरो बाटो प्रयोग गरेर आउनुपर्ने भएकाले केही महिनाका लागि भएपनि यस पुलले राहत भएको स्थानीयबासीको भनाइ छ । अस्थायी काठे साँघु बनेसँगै कुण्डमा स्नान गर्न आउने विरामी अवस्थाका वृद्धवृद्धाहरू र पर्यटकलाई निकै सहज भएको छ ।

पुल बनाउने खर्च गाउँपालिकाले दिने आश्वासन दिएपनि अहिलेसम्म रकम नपाएको तिजिलाको भनाइ छ । कुण्डको व्यवस्थापनको जिम्मा समेत लिनुभएका तिलिजाले पुल बनाइदिएपछि ४५ मिनेटको बाटो छोटिएर ५ मिनेटमै कुण्डमा पुग्न सकिने सुविधा भएको कुण्डमा नियमित रुपमा स्नान गर्दै आएकी रामदेवी पुनले बताइन् । यता पूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त स्थानमा पुल बनाउनका लागि योजना छनौट भएको र कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।

पुल नहुँदा पाउद्धार जान चाहने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सास्ती भएको स्थानीयको गुनासो रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?