कला क्षेत्रमा ‘सुवास’ छर्दै सुभाष

Read Time = 9 mins

काठमाडौं । नेपाली कला क्षेत्रमा सुभाष प्रधानले आफ्नो ‘सुवास’ फैलाइरहनुभएको छ । मान्छेले आफूले चाहेको, रोजेको पेशा अपनायो भने त्यसमा दखलता हासिल गर्न सक्छ भन्ने एक उदाहरण हुनुहुन्छ सुभाष प्रधान । सानैदेखि कला क्षेत्रको विशेष लगावका कारण उहाँ आज यो क्षेत्रमा एक स्थापित व्यक्तित्वका रूपमा आफ्ना क्रियशन पस्किरहनुभएको छ । केही समय बैंकको जागिरे भए पनि सुभाषका मनमस्तिष्कमा कला क्षेत्र नै थियो । यसैमा उहाँको लगाव थियो, त्यसैले त बैंकको राम्रो जागिर छोड्नुभयो उहाँले र आफूलाई पूर्णरूपमा नेपाली कला क्षेत्रको विकास र समृद्धिमा अहोरात्र लगाइरहनुभएको छ । पाँच वर्ष बैंकको राम्रै पदमा रहेर जागिर खानुभएका उहाँ गीतसंगीत क्षेत्रको लगावका कारण नै आफूले त्यो जागिर छोडेको बताउनुहुन्छ ।

देशकै राजधानी काठमाडौं खाल्डोमा बुबा कृष्णमोहन श्रेष्ठ र मिरा श्रेष्ठको कोखबाट गल्कोपाखामा जन्मिनुभएका उहाँको सानैदेखिको लगाव कला क्षेत्रमा थियो । ब्याचलरसम्मको अध्ययन गरेर केही समय अध्ययनलाई विश्राम दिनुभएका उहाँले अहिले फेरि मास्टर डिग्रीको अध्ययन सुरु गर्नुभएको छ । गायन, संगीतकार, म्युजिक भिडियो निर्देशन, इभेन्ट अर्गनाइजर तथा सञ्चारकर्ममा समेत रहेर उहाँले आफूभित्र भएको क्षमतालाई उजागर गर्दै आउनुभएको छ । सानैदेखि स्कुलमा भजन गायनतर्फ आकर्षित हुुनुभएका सुभाषले विसं ०६१–०६२ देखि आफूलाई औपचारिकरूपमा गायन क्षेत्रमा प्रवेश गराउनुभएको हो । ०५८ सालमा एसएलसीपछि आफू गायन क्षेत्रलाई अलिक बढी समय दिएर समर्पित भएको उहाँ बताउनुहुन्छ । आफूले कुन्ती मोक्तान, शिलाबहादुर मोक्तान, प्रकाश आचार्य, सुधाकर पन्त जस्ता गीतसंगीतका मूर्धन्य स्रष्टाहरूबाट गीतसंगीत सिकेको उहाँको भनाइ छ । यस्तै असनमा रहेको गन्धर्व कलामा चन्दन श्रेष्ठ गुरुसँग दुई वर्ष भोकल सिक्नुभएका उहाँले भारतीय दूतावासको ‘इण्डिया काउन्सिल फर कल्चर’ मार्फत इन्दुप्रकाश गुरुबाट एक वर्ष भोकल सिक्नुभएको छ । यस्तै उहाँले फत्तेमान राजभण्डारी, कृष्णमान डंगोल र रतन खड्गीसँग पनि आफूले यससम्बन्धी अध्ययन गरेको बताउनुभयो ।
गीतसंगीतका क्षेत्रमा विभिन्न व्यक्तित्व र गुरुहरूबाट सिकेको ज्ञानलाई उहाँले श्रोता/दर्शकमाझ प्रस्तुत गर्नुभएको छ । सुभाषले ‘संगीत बनाए, सरगम गाए सातै सुरुमा तिमीलाई बोलाए’ गीत गाएर यो क्षेत्रमा २०६२ सालमा औपचारिकरूपमा आफूलाई प्रवेश गराउनुभएको हो । गीता त्रिपाठीको शब्द रहेको यो गीत म्युजिक डटकमबाट आएको थियो ।

नेपाली कला क्षेत्रमा सुभाष प्रधानले आफ्नो ‘सुवास’ फैलाइरहनुभएको छ । मान्छेले आफूले चाहेको, रोजेको पेशा अपनायो भने त्यसमा दखलता हासिल गर्न सक्छ भन्ने एक उदाहरण हुनुहुन्छ सुभाष प्रधान । सानैदेखि कला क्षेत्रको विशेष लगावका कारण उहाँ आज यो क्षेत्रमा एक स्थापित व्यक्तित्वका रूपमा आफ्ना क्रियशन पस्किरहनुभएको छ । केही समय बैंकको जागिरे भए पनि सुभाषका मनमस्तिष्कमा कला क्षेत्र नै थियो । यसैमा उहाँको लगाव थियो, त्यसैले त बैंकको राम्रो जागिर छोड्नुभयो उहाँले र आफूलाई पूर्णरूपमा नेपाली कला क्षेत्रको विकास र समृद्धिमा अहोरात्र लगाइरहनुभएको छ । 

गीतकार तथा संगीतकार निराव उप्रेतीलाई आफ्नो सांगीतिक क्षेत्रको गडफादर मान्नुहुने सुभाषले एक दर्जन बढी गीत गाउनुभएको छ । उहाँले ‘अर्काको कुरा काट्दै’, ‘भजन गाउने ओठ’, ‘यसैगरी मायाजाल’, ‘तिमीलाई देखेर यो मन’, ‘बिहानीको घाम किरण’, ‘चञ्चल मनलाई’, ‘जय शिव शंकर’, ‘छल्के नाच्यो रे’, ‘आई लभ यु बेबी’, ‘हुँदैन माया तिमीबाट हुँदैन’, ‘होली रे होली’ जस्ता गीत श्रोता÷दर्शकमाझ पस्किनुभएको छ । गायनमा मात्र नभएर गीतमा संगीत भर्न समेत आफूलाई प्रस्तुत गर्दै आउनुभएका सुभाषले २० भन्दा बढी गीतमा संगीत सिर्जना गर्नुभएको छ । उहाँले ‘तिम्रो नयनभित्र’, ‘मेरो आँखाको जादु हेर’, ‘उड्न देऊ मलाई’ जस्ता थुप्रै गीतमा संगीत भर्नुभएको छ ।

आफूले एक दर्जन बढी लाइभ बाजा बजाउन सक्ने दाबी गर्ने सुभाष म्युजिक जोय मिडियामार्फत् पनि आफूलाई व्यस्त राख्दै आउनुभएको छ । विगत १३ वर्षदेखि म्युजिक जोयमार्फत् उहाँले कला क्षेत्रमा आउने नयाँ प्रतिभालाई साथ-सहयोग पुर्‍याउँदै आउनुभएको छ ।

गीतसंगीतमा उहाँको जत्तिको लगाव छ त्यत्तिकै लगाव निर्देशनमा पनि छ । उहाँले ६० भन्दा बढी गीतका भिडियो निर्देशन गर्नुभएको छ भने छिट्टै चलचित्र निर्देशनको तयारी पनि रहेको उहाँ बताउनुहुन्छ । ‘आँखैमा गाजल नाकैमा बुलाकी’ उहाँको पहिलो गीत भिडियो निर्देशन थियो । त्यसपछि उहाँले ‘मलाई फूल भन्नुपर्दैन’, ‘मोटरसाइकल’, ‘सोध तिमी आफैंसँग’, ‘जवानीमा पहिलो’, ‘तिम्रो आँखा’, ‘सुहागरात’, ‘नजाऊ टाढा’, ‘मर्न दिँदैन माया’, ‘झल्के नाच्यो रे’, ‘३२ लक्षण युक्त’, ‘पूर्वबाट मेची उठ’लगायत गीतमा आफ्नो निर्देशनको कौशलता प्रस्तुत गर्नुभएको छ ।

सेलिब्रेटी म्यानेजमेन्ट नेपालको चेयरमेनका रूपमा पनि कार्यसम्पादन गर्दै आउनुभएका सुभाषले ५० भन्दा बढी इभेन्ट म्यानेजमेन्ट गर्नुभएको छ । उहाँले गायिका अञ्जु पन्तको एकल साँझ, दीप श्रेष्ठको एकल साँझ, कुटुम्ब ब्याण्डको लगायत थुप्रै इभेन्टको कुशल व्यवस्थापन गर्नुभएको छ । सिर्जना सूत्रको फाउण्डर डाइरेक्टरसमेत रहनुभएका सुभाषले सम्पदा मल्लसँग मिलेर क्रिएटिभ जब प्लेसमेन्ट कम्पनीमार्फत् रोजगारी प्रदान गर्दै आउनुभएको छ । क्रिएटिभले ९० जना जतिलाई रोजगारी दिएको उहाँको दाबी छ । ‘नयाँ प्रतिभालाई प्रोत्साहन तथा सेलिबे्रटी मेकरका रूपमा म आफूलाई प्रस्तुत गर्दै आइरहेको छु,’ भन्नुहुने उहाँ विज्ञापन बनाउने र निर्देशन गर्ने कार्यमा पनि संलग्न रहँदै आउनुभएको छ । धेरै क्षेत्रमा रहेर कार्य गर्दै आउनुभएका सुभाष आफू जता-जता रहेर कार्यसम्पादन गरे पनि कला क्षेत्रसँग सम्बन्धित नै रहेको बताउनुहुन्छ । कलासँग सम्बन्धित विविध क्षेत्रमा आफूलाई संलग्न गराउँदै आउनुभएका सुभाष विभिन्न एफएमहरूमा रेडियो कार्यक्रम पनि चलाउनुहुन्छ । सबै क्षेत्रमा काम गर्दै गए पनि सञ्चारकर्ममा काम गर्दा छुट्टै आनन्दको अनुभूति हुने उहाँ बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?