नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै

माओवादी र कांग्रेसले प्रधानमन्त्रीमा दाबी नछाड्दा गठबन्धनको बैठक निष्कर्षविहीन

डिबी शर्मा
नारायण भण्डारी
Read Time = 9 mins

काठमाडौं । सरकार गठनबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षबिहीन भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्र प्रधानमन्त्रीको दाबीबाट पछि नहट्दा बैठक निष्कर्षबिहीन भएको हो । यद्यपि गठबन्धनकै सरकार बनाउने विषयमा भने तीनवटै दल सहमत देखिएका छन् । प्रधानमन्त्रीमा दुई/दुई/एक वर्षको आलोपालो गर्ने मोटामोटी सहमति पनि जुटेको छ । बालुबाटार स्रोतका अनुसार कांग्रेस र माओवादीले दुई-दुई वर्ष र एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गर्ने विषयमा सहमति जुटेको हो । तथापि सुरुमा प्रधानमन्त्री को हुने भन्ने विषय भने जटिल बन्दै गएको छ । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा पहिले आफूलाई पालो दिनुपर्ने बताउनुभएको छ । कांग्रेसले डेढ वर्ष सरकारको नेतृत्व गरिसकेकाले अबको नेतृत्व आफूले पाउनुपर्ने अडान उहाँको छ । ‘अहिलेसम्म तपाईं हुनुभयो । अब म प्रधानमन्त्री बन्दा संगति पनि मिल्छ ।

निरन्तर तपाईँ नै प्रधानमन्त्री बन्ने कुरा गठबन्धनको भावनासँग मेल खाँदैन । कांग्रेसले कम सिट ल्याउँदा पनि तपाईँलाई हामीले सहयोग गरेकै हो’ प्रचण्डले देउवालाई भनेको कुरा उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डको प्रस्तावलाई अस्वीकार भने गर्नुभएन । तथापि पहिलो कार्यकाल आफू नै प्रधानमन्त्री हुनुपर्ने कुरामा देउवा टसमस पनि हुनुभएको छैन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने को पहिले भन्ने विवादलाई ठूलो नबनाउन र आपसमा सहमति खोजेर गठबन्धनको रक्षा गर्न सुझाव दिनुभएको थियो । आइतबार विहान बस्ने बैठकले पहिला प्रधानमन्त्री को बन्ने ? भन्ने विषय टुंगो लगाउने र त्यसपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको बाँडफाँट हुने बैठकमा सहभागी ती नेताले बताउनुभयो ।

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज (आइतबार) सकिँदैछ । राष्ट्रपति भण्डारीले गत आइतबार संविधानको धारा ७६ (२)अनुसार सरकार गठनका लागि पुस १० गतेसम्मको समय दिनुभएको थियो । सरकार गठनका लागि राष्ट्रपति भण्डारीले आज साँझ ५ बजेसम्मको समय दिनुभएको थियो । राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दासमेत दलहरूले दाबी पेश गर्न सकेका छैनन् । बुहमतनिकट रहेको सत्ता गठबन्धन दलहरूबीच पदीय भागबण्डामा सहमति हुन नसक्दा समय सकिन लाग्दासमेत दाबी पेश हुन नसकेको हो ।

प्रधानमन्त्रीको विषयले हलो अड्किँदैन : मन्त्री कार्की
सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रधानमन्त्रीको विषयले सरकार गठनको हलो नअड्किने दाबी गर्नुभएको छ । शनिबार बसेको गठबन्धनको बैठकपछि मन्त्री कार्कीले संचारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको विषय गौण भएको बताउनुभयो । ‘प्रधानमन्त्रीको विषयमा हलो अड्किन्न, प्रधानमन्त्री को पहिलो हुने भन्ने कुरा गौण कुरा हो,’ मन्त्री कार्कीले भन्नुभयोे, ‘मुलुकलाई जनताको आकांक्षाअनुसार कसरी अघि बढाउने भन्ने कुरा महत्वपूर्ण हो । गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ ।’ आइतबारसम्म निर्णयमा पुग्नैपर्ने बताउँदै उहाँले आफूहरुसँग संवैधानिक बाध्यता रहेको समेत सुनाउनुभयो ‘आइतबार हामी निर्णयमा पुग्नै बाध्यता छ ।’ कार्कीले आइतबार बिहान पुनः बैठक बस्ने र त्यसले कसको नेतृत्वमा सरकार बन्ने भन्ने कुराको निर्णय गर्ने दाबी गर्नुभयो । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए । त्यस्तै शनिबारको बैठकमा दोस्रो तहका पनि केही नेताहरू सहभागी भएका थिए । शनिवारको बैठकमा पनि मुख्य गरी प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी कायम राखेकाले सहमति नभएको हो ।

प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना सामान्यतः समाप्त : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साथ दिन नसक्ने संकेत गर्नुभएको छ । एमालेले प्रधानमन्त्रीमा प्रचण्डलाई सघाउन सक्ने चर्चा भइरहेको बेला एमाले अध्यक्ष ओलीले भने साथ दिन नसकिने संकेत गर्नुभएको हो । एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समयमा कदम नचालेकोले प्रचण्डलाई साथ दिन नसकिने तर्क गर्नुभयो । दाहालले निर्णय गर्न ढिला गरेको ओलीको भनाइ छ । निर्णय लिन ढिलो गरेकाले माओवादी केन्द्रका अध्यक्ष दाहालको प्रधानमन्त्री बन्ने चाहना अब पूरा नहुने दाबी गर्नुभयो । ‘पुष्पकमल दाहालजीले प्रधानमन्त्रीमा इच्छा गरिरहनुभएको छ । तर उहाँले निर्णय गर्न ढिलो गर्नुभयो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘गर्नुपर्ने काम समयमै गर्नुपर्दछ । भएन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ ।’ समयमा कदम नचाले देश फेरि मध्यावधि निर्वाचनतर्फ धकेलिन सम्भावना रहेको उहाँले बताउनुभयो । देश फेरि घुमीफिरी मध्यावधितिर जाँदैन भन्न सकिँदैन । किनभने सरकार गठननै हुन सकेको छैन,’ उहाँले भन्नुभयो ।

माओवादीद्वारा सांसदहरूको हस्ताक्षर संकलन
नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि हस्ताक्षर संकलन गरेको छ । माओवादी संसदीय दलको बैठकमा सांसदहरूको हस्ताक्षर संकलन गरिएको हो । बिहीबार बसेको माओवादी संसदीय दलको बैठकमा सांसदहरूलाई प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने क्रममा पेस गर्न हस्ताक्षर संकलन गरिएको माओवादी केन्द्रका एक सांसदले जानकारी दिनुभयो । सांसदहरूलाई प्रधानमन्त्रीमा दाबीलगायत विभिन्न काममा प्रयोग गर्न हस्ताक्षर संकलन गरिएको उहाँले बताउनुभयो । माओवादीले पहिले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरिहरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?