दुर्गम गाउँमा बन्दै ‘तमान रंगशाला’

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । तमान गाउँको बीचमा पहिले सानो खेल मैदान थियो । गाउँलेले त्यसलाई रंगशाला निर्माण गर्न सक्रियता देखाए । सुरु-सुरुमा पालिका तथा प्रदेश सरकारबाट बजेट पनि पर्‍यो । तर अहिले कुनै पनि निकायबाट बजेटको व्यवस्था हुन सकेको छैन । ‘तमान रंगशाला’ निर्माण थालेको आधा दशक भयो । तर अहिलेसम्म रंगशाला निर्माण पूर्णता पाउन सकेको छैन ।

तमानखोला गाउँपालिका-३ तमानगाउँमा निर्माणाधिन ‘तमान रंगशाला’ को कार्य प्रगति ५० प्रतिशतभन्दा माथि जान सकेको छैन । गाउँपालिकाले खेल क्षेत्रको विकास र प्रवर्धन गर्नका लागि रंगशाला निर्माण अगाडि सारे पनि यस वर्ष बजेट शून्य छ । पहिले विद्यार्थीहरु खेल्ने साँघुरो चौरलाई स्थानीयको सक्रियतामा सम्याएर खेल मैदानको स्वरुपमा ल्याएको स्थानीय भेषबहादुर पुनले बताउनुभयो ।

उहाँले पहिले यो ठाउँ जलमग्न रहेको र यसलाई गाउँलेहरुले जनश्रमदान गरेर खेल मैदानको रुपमा विकास गरेको बताउनुभयो । पुन भन्नुहुन्छ-“यो ठाउँमा पानी जम्थ्यो, पछि यसलाई हामीले सम्याएर सानो ग्राउण्ड बनाएका थियौँ, अहिले डोजर लगाएर यति ठूलो भयो, राम्रो पनि भयो, अब त केटाकेटीहरु पनि रमाएर खेल्न पाउने छन्, कतै लोट्ला भन्ने डर पनि भएन, मेला महोत्सव गर्दा पनि सजिलो हुने भयो ।”

लामो समयदेखि खेल मैदानको लागि जनश्रमदान गरेको भन्दै आफुहरुले गरेको दुखको प्रतिफल बिस्तारै यहाँका युवा तथा खेलाडीहरुले पाउने अपेक्षा लिएको उहाँबताउनुभयो । स्थानीयको अधिक जनश्रमदान र गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकारसँगको सहकार्यमा रंगशाला निर्माण हुने आश्वासन पाएको उहाँको भनाई छ ।

स्थानीय भीमबहादुर मगरले गाउँपालिकाले रंगशाल निर्माण गर्न थालेपछि बालबालिका र खेलाडीहरुलाई खेल खेल्न सजिलो हुने बताउनुभयो । धन गौ ज्योति माध्यमिक विद्यालय नजिकै रहेको रंगशाला गाउँको केन्द्रमा रहेको हुँदा यसले सिंगो तमानखोलाकै गौरव बढाउने बुढा मगरको भनाई छ । उहाँले रंगशाला निर्माणपछि दुर्गम गाउँमा पनि राष्ट्रिय स्तरको खेल आयोजना गर्न सकिने बताउनुभयो ।

“यो गाउँमा खेलेर हुर्केका खेलाडीहरु अहिले राष्ट्रिय स्तरमै नाम कमाउन सफल भएका छन्, उनीहरुले उतिबेला राम्रो खेल मैदानमा खेल्ने अवसर पाएनन्, खेल क्षेत्रमा राज्यको लगानी पनि खास्सै भएको थिएन, अहिले यस्तो विकट गाउँमा पनि रंगशाला बन्नु हाम्रो लागि गौरवको कुरा हो” उहाँले भन्नुभयो ।

उहाँले खेल मैदान अभावका कारण यहाँबाट धेरै खेलाडी राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितामा भाग लिन नसकेको भन्दै रंगशाला निर्माणपछि तमानखोला लगायत सिंगो बागलुङका खेलाडीलाई ठूलो अवसर प्राप्त हुने बताउनुहुन्छ ।

खेल क्षेत्रबाट पनि तमानखोलालाई समृद्धि तर्फ लैजान सकिने हुँदा रंगशाला निर्माणलाई जोड दिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । उहाँले स्थानीयले निर्माण गरेको सानो खेल मैदानलाई रंगशालामा रुपान्तरण गर्न थालेको केही समयमै आधा काम पूरा भइसकेको भन्दै प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर काम पूरा गर्ने बताउनुहुन्छ ।

“यो रंगशाला तमानखोला गाउँपालिकाको गौरवको योजना अन्तरगत पर्छ, यहाँ स्थानीयले धेरै समय जनश्रमदान गरेर यति ठूलो मैदान बनेको छ, पहिले सानो-सानो मैदान थियो, यसलाई बढाएर यति ठूलो बनाउने काम स्थानीयहरुबाट भएको हो,” अध्यक्ष बुढा मगरले भन्नुभयो “गाउँपालिकाले पनि केही बजेट विनियोजन गरेर अहिले सम्याउने काम भएको छ, यसमा अझ धेरै काम गर्नु बाँकी छ ।”

अध्यक्ष बुढा मगरले रंगशाला निर्माण गर्न अहिलेसम्म गाउँपालिका र गण्डकी प्रदेश सरकारले विनियोजन ६० लाख रुपैयाँ खर्च भइसकेको जानकारी दिनुभयो । तीन वर्ष अगाडि गाउँपालिकाले दुई करोडको गुरुयोजना तयार गरेको उहाँको भनाई छ । गाउँपालिकासँग पर्याप्त बजेट नभएको भन्दै संघ र प्रदेशसँग सहकार्य गरेर पुरा गर्ने अध्यक्ष बुढा मगरले बताउनुभयो । रंगशालामा प्याराफिट निर्माण, घेराबार र सम्याउने काम पूरा हुन सकेको छैन ।

“ग्रामीण क्षेत्रमा रंगशाला निर्माण गर्नु सजिलो काम होइन, यद्यपी हामी लाग्यौँ, आधा बढी काम पनि सक्यौँ, एक करोडको डिपीआर गरेका थियौँ, अझै ५० लाख बढी खर्च हुने अनुमान छ, प्रदेश तथा संघीय सरकारबाट बजेट ल्याएर सम्पन्न गर्ने लक्ष्य छ,” उहाँले भन्नुभयो- “यो बजेट गाउँपालिकाले मात्रै विनियोजन गर्न सक्ने अवस्था छैन, त्यसले गर्दा प्रदेश र केन्द्रमा पनि हामीले प्रपोजल पठाएका छौँ, माथिल्लो निकायबाट सहयोग भयो भने केही समयमै यसको निर्माण सम्पन्न हुने छ ।”

रंगशाला निर्माणका लागि गाउँपालिका र प्रदेश सरकारबाट विनियोजित साठी लाख बढी खर्च गरि सकेको र स्थानीयले एक करोडभन्दा बढीको जनश्रमदान गरेको अध्यक्ष बुढा मगरेको भनाई छ । तमान गाउँसम्म मोटरबाटो जोडि सकेको हुँदा जिल्लाका विभिन्न स्थानबाटसमेत खेल खेल्नका लागि तमान गाउँमा पुग्ने संभावनमा बढी छ ।

म्याग्दीसँग सिमाना र सडक संजालले जोडिएको हुँदा म्याग्दीबाटसमेत खेलाडीहरु आउने संभावना बढी रहेको उहाँको भनाई छ । यस ठाउँमा अहिले पनि कुनै मेला महोत्सव लाग्दा, म्याग्दीबाट बढी नागरिकहरु आउने गरेको पाइन्छ । त्यस्तै पर्यटकीय क्षेत्र सोले डाँडा पनि नजिकै रहेको हुँदा खेलसँगै पर्यटनसमेत जोडिने उहाँको भनाई छ । पालिकाले गाउँलाई पर्यटकीय गन्तव्य बनाई रहेको भन्दै रंगशालाले पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने अध्यक्ष बुढा मगरको भनाई छ ।

“रंगशाला खेलको लागि त हुनेनै भयो, यसले पर्यटन प्रवर्द्धनमासमेत ठूलो टेवा पुर्‍याउँने छ भन्ने अपेक्षा गरेका छौँ, बजेटकै अभाव हो, यस वर्ष ५०/६० लाख जति प्रदेश र केन्द्रबाट आयो भने रंगशाला सम्पन्न हुनेछ” अध्यक्ष बुढा मगरले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?